हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिनादेखि पाएनन् तलब
एक साताभित्र नपाए हेल्थ डेस्क बन्द गर्ने चेतावनी
– हेल्लो समाचारदाता
धनगढी, २४ बैशाख/
भारतीय सीमा नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिनादेखि तलव नपाएको गुनासो गरेका छन् ।
सुदूरपश्चिम प्रदेशको गौरीफन्टा, गौरीफन्टा, गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलामा रहेका हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिनादेखि तलव नपाएको गुनासो गरेका हुन् ।
नाकामा जोखिम मोलेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मी लामो समयदेखि पारिश्रमिक नपाउँदा निराश छन् । गड्डाचौकीस्थित हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन लक्ष्मी रिमाल धामीले साउन यता तलब नपाएको बताए । ‘साउनदेखि तलब पाएका छैनौँ, अब त घर खर्च चलाउनसमेत गाह्रो भइसक्यो’ धामीले भनिन्, तबलको कुरा गर्दा बजेट पास भएको छैन, काम गर्दै गर्नुस् भनेको १० महिना भइसक्यो ।’ गड्डाचौकी हेल्थ डेस्कमा ११ जना स्वास्थ्यकर्मी कार्यरत रहेको उनले बताइन् ।
लामो समयदेखि तलब नपाएपछि स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । उनीहरुले हातमा कालोपट्टि बाँधेर काम गरिरहेका छन् । ‘हामीले पटक पटक माथिल्लो निकायमा जाहेर गर्दा समेत समस्या समाधान नभएपछि बाध्य भएर हातमा कालोपट्टि बाँधेर काम गरिरहेका छौँ, उनले भनिन्, ‘अब पनि तलब आएन भने जेठबाट सेवा नै बन्द गर्छौं ।’
स्वास्थ्य कार्यालय र जिल्ला प्रशासनमा आग्रह गर्दा पनि सुनुवाई नभएको उनले बताइन् । हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट विशाल भट्टले करार पनि नथपिएको बताए । ‘पारिश्रमिक मात्रै होइन करार पनि थप भएको छैन’ भट्टले भने, ‘काम गर्दै गर्नुस् करार थपिन्छ भन्छन, न करार थपिन्छ, न पारिश्रमिक मिल्छ ।’
गड्डाचौकीस्थित हेल्थ डेस्कका इञ्चार्ज प्रेमसिंह भण्डारीले बजेट अभाव देखाएर तलब नआएको बताए । ‘माथिल्लो निकायमा जाहेर गर्दा बजेट निकासा भएको छैन भन्ने जवाफ आउँछ’ भण्डारीले भने, स्वास्थ्यकर्मीले तलब नपाएपछि सेवा नै बन्द हुने अवस्थामा पुगेको छ ।’ एक साता हातमा कालोपट्टि बाँधेर काम गर्छौ उनले भने, ‘त्यसपछि पनि सुनुवाई नभए सेवा नै बन्द गर्छौ ।’
स्थानीय तहले हेल्थ डेस्क स्थापना गरे पनि कर्मचारीको व्यवस्थापन स्वास्थ्य सेवा विभागले गर्दै आएको छ । विभागबाट बजेट निकासा नभएका कारण सुदूरपश्चिमका सबै हेल्थ डेस्कमा करारमा कार्यरत २७ जना स्वास्थ्यकर्मीले तलब पाएका छैनन् ।
स्वास्थ्यकर्मीले साउनयता तलब नपाएको प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड स्थानीय स्रोत व्यक्ति हेमराज जोशीले बताए ।
संघीय सरकारबाट बजेट निकासा नहुँदा साउनयता तलब दिन नसकिएको जोशीले बताए । उनले ‘बजेट निकासाका लागि अर्थ मन्त्रालयमा फाइल अगाडि बढाएको बताए ।
Comments are closed.