पुनर्वासमा बढ्यो व्यायामको क्रेज

छ महिनामा एक्काईस किलो घटेको दावी

कञ्चनपुर, चैत २
पछिल्लो समय कञ्चनपुरको ग्रामीण क्षेत्र पुनर्वासमा व्यायाम प्रतिको क्रेज बढदो छ ।
शारीरिक रुपमा आफुलाई फिट र स्वस्थ राख्न बिहान र बेलुकाको समयमा व्यायामशाला धाउनेहरुको संख्या दिनानुदिन बढदै गएको छ ।
सञ्चारमाध्यमको सहज पहुँचका कारण जनचेतनामा आएको वृद्धिसंगै सर्वसाधारणले व्यायामको महत्त्व बुझेर व्यायामशाला धाउनेहरुको संख्या बढन थालेको हो ।
अधिकांश युवाहरू फिल्मका कलाकारहरुको जस्तै आकर्षक शरीर बनाउने रहरका कारण व्यायाम गर्न थालेको बताउँछन् । तर अधबैंसे व्यक्तिहरु भने स्वास्थ्य सम्बन्धि विभिन्न समस्याहरु आएपछि मात्र आफुहरु व्यायाम गर्न थालेको बताउँछन् । पुनर्वास ६ निवासी गोमादेवी सुनारले आफ्नो बढी तौल भएको कारण युरिक एसिड, घुँडा तथा ढाड दुख्ने समस्या भएकोमा डाक्टरको सल्लाह अनुसार व्यायाम गर्न थाल्नुभयो । करिब छ महिनामा एक्काईस किलो तौल घटाएपछी हाल उहाँ स्वस्थ हुनुहुन्छ । एक क्विन्टलको भारिभरकम शरीरलाई हाल उनासी किलो बनाउन उहाँ सफल हुनुभएको छ । त्यसैगरी पुनर्वास ४ निवासी हरि ढकाल जिम सुरु गरेपछि आफ्नो जीवनमा परिवर्तन आएको बताउनुहुन्छ । कमजोर र लुरे शरीर भएकै कारण आफ्नै साथीहरूबाट हेपिनु परेकोमा आजभोलि सबैबाट सम्मानपूर्ण व्यवहार पाएको सुनाउनुहुन्छ ।
पुनर्वास क्षेत्रमा जीम प्रतिको आकर्षण बढनु निकै उत्साहजनक रहेको र भविष्यमा अत्याधुनिक साधन सम्पन्न जिमहल पुनर्वासमा खुल्दै जाने कुरामा आफू आशावादी रहेको एम.के. गहना उद्योग आईबिआरडीका सञ्चालक तथा जीम प्रशिक्षक किरण खाती बताउनुहुन्छ ।
युवावर्गमा हाल जीवनप्रती देखिएको नैराष्यता र नकारात्मकतालाई हटाएर सफल र आत्मविश्वासी बन्न चाहने हो भने व्यायाम अचुक साधन रहेको र अभिभावकहरुले पनि आफ्ना सन्तानलाई व्यायाम गर्न प्रेरित गर्नुपर्ने
व्यायाम प्रशिक्षक तथा पत्रकार रञ्जित लामा बताउनुहुन्छ ।
अहिले पुनर्वास क्षेत्रका युवावर्गका साथै प्रौढ र अधबैंसे व्यक्तिहरु पनि व्यायाम तर्फ आकर्षित भईरहेका छ्न ।
उमेर बढदै जाँदा देखिने मोटोपन र मोटोपनका कारण आउने विभिन्न प्रकारका स्वास्थ्य समस्याहरु जस्तै: सुगर रोग, उच्च रक्तचाप र उच्च रक्तचापका कारण हार्ट अट्याक र स्ट्रोक,युरिक एसिड,थाईराईड लगायतका समस्याहरुमा न्यूनीकरणमा व्यायामले महत्त्वपूर्ण भूमिका खेल्ने पुनर्वास पोलिक्लिनिकका सञ्चालक डा.धोके रानाले बताउनुभयो ।
पुनर्वासमा एउटा व्यायामशालाको अपरिहार्यता महशुस गरेर आफुले चारवर्ष अघि पाँच लाखको लगानीमा व्यायामशाला सुरु गरेको पुनर्वास मल्टिजिमका सञ्चालक हेम बहादुर थापाले बताउनुभयो । स्थानीय युवाहरूको व्यायामप्रतिको लगाव देखेर आफू उत्साहित भएको र आगामी दिनमा व्यायामशालामा अत्याधुनिक सामान थप्दै जाने सञ्चालक थापाले बताउनुभयो ।
युवावर्गको लागि कुलतबाट छुटकारा दिलाउने एकमात्र अचुक साधन भएकाले
व्यायामलाई नेपाली समाजले जीवनशैलीकै रुपमा अंगाल्नुपर्ने जनकल्याण मा.वि. आईबिआरडीका प्रधानाध्यापक रामनारायण कंडेलले बताउनुभयो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.