पुनर्वासका नवनिर्वाचित मेयर शर्मा : शिक्षकदेखि मेयरसम्म

हरिलाल जोशी
पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिकामा नेपाली काङ्ग्रेसका तर्फबाट तोयप्रसाद शर्मा दोब्बर मत बढिले मेयर पदमा निर्वाचित भएका छन् ।
मेयर शर्माले नेकपा एमालेकाका मेयर पदका उम्मेदवार पदम पुजारालाई ५ हजार ३ सय ३२ मत र एकीकृत समाजवादीका जीवनराज थापालाई ६ हजार २ सय ७२ मतले हराउँदै पुनर्वास नगरपालिकाको मेयर पदमा विजयी भएका हुन् ।
को हुन् मेयर बनेका शर्मा ?
स्याङ्जाको साविक कलेन्डरा गाविस हाल
पुतलीबजार नगरपालिका-१० मा वि.स. २०२५ साल असोज १३ गते जन्मेका शर्मा बुवा झुम्काप्रसाद शर्मा र आमा पूर्णकला शर्माका कान्छा छोरा हुन् ।
उनले माध्यमिक शिक्षा गरेपनि उच्च शिक्षा धनगढी स्थित कैलाली बहुमुखी क्याम्पसमा गरे ।
कैलाली बहुमुखी क्याम्पसमा अध्ययन गर्दा गर्दै वि.स. २०४२ सालदेखि नेविसंघको कमिटीमा आवद्ध भइ आफ्नो राजनीतिक यात्रा सुरु गरेका शर्मा निरन्तर राजनीतिमा सक्रिय हुँदै आए ।
अध्ययनसँगैको राजनीति पछि वि.स. २०४३ सालमा अस्थायी शिक्षकको रुपमा हालको पुनर्वास-११ को राष्ट्रिय माध्यमिक विद्यालयमा शिक्षकमा नियुक्त भए ।
अस्थायी शिक्षकको पाँच वर्षे सेवापछि वि.स. २०४८ सालमा स्थायी शिक्षकमा नाम निकाल्न सफल भए । उनी स्थायी शिक्षक भएपछि नेपाल शिक्षक संगठनमा आवद्ध रहे ।
उनले वि.स. २०५० सालसम्म सोही विद्यालयमा अध्यापन गरी त्यसपश्चात हालको पुनर्वास नगरपालिका-९ स्थित जीवनशक्ति आधारभूत विद्यालयमा अध्यापन गराउन सुरु गरे । पेशासँगै राजनीतिलाई निरन्तर गर्दा गर्दै नेपाल रेडक्रस सोसाइटी कंचनपुरको उपसभापतिमा एक कार्यकाल बिताए ।
त्यस्तै नेपाली काङ्ग्रेसको जिल्ला सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष हुँदै केन्द्रीय महाधिवेशन प्रतिनिधिसम्मको जिम्मेवारी पूरा गर्दै आएका छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने भएपछि उनले शिक्षक पेशा राजीनामा दिएका थिए । राजीनामा दिएर स्थानीय तहको चुनावी मैदानमा उत्रिएका शर्मा नेकपा एमालेका जिवनराज थापासँग पराजित भएका थिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.