बेलौरी बजार ५० औं वर्षमा प्रवेश

ईतिहासको नयाँ मुलुक, काली कर्णाली वीचको मैदानि भाग, कैलाली कञ्चनपुरको पुरानो सदरमुकाम, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, सुदूरपश्चिम प्रदेश, कञ्चनपुर जिल्ला, दक्षिणी भेगमा बेलौरी नगरपालिकाको केन्द्र र निर्माणाधीन नमूना (नयाँ) शहरमा सुचिकृत भएको बेलौरी बजारको स्थापना प्रधान पञ्च तोैलारानाको अध्यक्षतामा नगरविकास समिति गठन भै २०२९ साल माघ २६ (स.न. १९७३ फर्वरी ८) का दिन भएको हो ।
स्थापनाको ५० औं वर्षमा प्रवेश गरी रहदा हालसम्मको उपलब्धीको समीक्षा गर्दै, सरकार प्रमुख अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहेको शक्ति सम्पन्न समितिले आफनो सक्रियता, लगनशीलता, इमानदारी र समर्पणको पनि आत्मा समीक्षा गर्दै तत्कालीन, अल्पकालीन तथा दीर्घकालीन योजना र नीतिका विषयमा कोभिड प्रकोपका कारण सृजित प्रतिकूल अवस्थामा पनि उपयुक्त विधि प्रक्रिया र मापदण्ड अपनाएर एक छलफल र अन्तरक्रिया गरेर स्वर्णमहोत्सवारम्भ गर्नु सान्दर्भिक हुनेछ ।
माध शुक्ल पञ्चमिका दिन, हाल बेलौरी नगरपालिका भवन आसपास अन्दाजि ६ सय वर्गमिटर ( लगभग २ कट्टा) जमिनको खुला चौर खुल्ला आकास मुनि सञ्चालित तत्कालीन महाकाली निम्न माध्यमिक विद्यालयमा उपस्थित जनप्रतिनिधि अभिभावक शिक्षकहरुले सरस्वती पूजाको प्रसाद ग्रहण गरिरहेकै बेला अपारान्ह १ बजेतिर अञ्चलाधिश चन्द्रभान थकाली र प्रमुख जिल्ला अधिकारी वीरबहादुर शाही तथा जिल्ला बनकार्यालयको गाडी आइपुग्यो । उक्त उपस्थिति सभामा परिणत भयो ।
“पुरानो सदरमुकाम बेलौरी भएर आयौं । टीका प्रसादका लागि विद्यालय परिवारलाई धन्यवाद ! पूर्व पश्चिम राजमार्ग नवनेसम्म धनगढी आउ जाउ गर्ने बाटो बेलौरी नै हो । पूर्वतर्फ पुरैना लालझाडी वनक्षेत्रमा पुनर्वास बस्ती बसाल्ने क्रम चलिरहेछ । पश्चिमतर्फ बेलडाँडी बनक्षेत्रमा दोधारा चाँदनी र आरक्षबाट बसाई सर्नेहरुलाई सट्टाभर्ना दिने कार्यक्रम छ । कुरा उठाउनुभो यहाँ बजार चाहिन्छ, विद्यालय भवन चाहिन्छ । नून, तेल, एक बट्टा सलाई, एउटा कापि कलम किन्न समेत भारत जानु पर्ने रहेछ । यो ठाउँ दक्षिणि भेगको केन्द्र बन्ने हो । यो क्षेत्र उब्जाउ छ । उखुखेती गरेमा यहाँ ठूलो चिनी मिलको सम्भावना छ । वरीपरी कुकाठको जङ्गल रहेको छ । सीडीयो साप, डिएफओ साप, सबैले सहयोग गर्नु हुन्छ । नगर विकास समिति गठन गर्नुहोस् । विद्यालयको लागि जमिन खोज्नुहोस् । विकासकोषबाट ३० हजार रुपैया निकासा गरिनेछ”।
प्रमुख अतिथिको यस्तो भनाई पछि प्रधानपञ्च तौल रानाको अध्यक्षतामा सात सदस्यीय समिति गठ्न भइ पूर्व रिछाहा गाउँ, पश्चिम खैराना, उत्तर हात्तिबोझा र दक्षिण सुकमबासी टोल भित्रको अन्दाजी २० बिघा वनक्षेत्रमा बजार निर्माण गर्ने र त्यसका लागि जिल्ला भवन निर्माण शाखालाई प्राविधिक पठाइदिन अनुरोध गर्ने निर्णय भयो ।
विद्यालयको जग्गा सम्बन्धमा त्यहाँ उपस्थित प्रधान पञ्च तौेला राना, पूर्व प्रपं भजौरा राना, रिक्षाहा गाउँका भलमन्सा छेदि राना, सचिव डम्बरलाल चौधरी, अभिभावक एंवम शिक्षा प्रेमी कुलप्रसाद खनाल, यज्ञप्रसाद पन्त (अग्नि बाजे), मानसिंह भट्ट, राजाराम जैशी, बीरचन्द बडायक, विद्यालयका प्रधानाध्यापक आनन्द राज ढुङ्गाना, लगायत उपस्थित सबै महानुभावहरु बीच छलफल हुँदा स्थानीय सुकुमबासी किसान दलबहादुर धिताल (दलेदाई), नजिकै सट्टामा जग्गा फडानी गर्ने पाउने सहमति भएर चर्चेको जग्गा विद्यालयलाई दिन सहमत हुँदा बजार र विद्यालयका लागि माघ २६ मा नै जमिन प्राप्त भयो ।
भवन निर्माण शाखाका ई जयदेव भट्ट नेतृत्वमा आएको टोलिले हाल बेलौरी बजार बसिसकेको क्षेत्र रहेको पूर्वमा राजमार्ग लाईन, पश्चिममा विद्यालयक्षेत्र, उत्तरमा पानी टंकि, दक्षिणमा खुल्ला मञ्च, अस्पताल र साझा संस्था भवन रहेकोे अन्दाजि २० बिघा क्षेत्रफल भएको त्रिभुजाकार वनक्षेत्रको भित्रिभागमा २४ फिट मोहडा चौडाई, ४८ फिट पछाडी गल्लीतर्फको लम्बाई, भएको चार वटा लाइनमा विचको मूल सडक ५० फिट चौडा र गल्ली सडक १३ फिट, चौडा ३ वटा चोक भएको १ सय वटा घडेरी कित्ता भएको विस्तारका लागि चारै सिमाना खुल्ला राखी बजारकोे प्रारम्भिक नक्सा तयार गरी समितिलाई बुझायो । समितिले प्रतिघडेरी रु २ सय मूल्य राखी घडेरीहरु वितरण ग¥यो ।
२०३८ मा थप २ सय २ ओटा घडेरी कित्ता काट गरी सम्पूर्णलाई चार श्रेणीमा वर्गिकरण गरी विक्रि वितरण गरियो । अन्तरिम सरकारले २०४७ सालमा प्रमुख जिल्ला अधिकारी ललितबहादुर थापाको नेतृत्वमा पहिलो राजपत्राङ्कि समिति गठन गरेको हो । २०२९ देखि हाल सम्म २० वटा समिति गठन भएका छन् । नगर विकास समिति ऐन संशोधन सहित २०७५ अनुसार नगर प्रमुख पोतिलाल चौधरी अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहेको ११ सदस्यीय समिति बनेको छ । २०७३÷०७४ मा झापा कञ्चनपुर हुलाकी सड्क आसपासका १० ओटा बजारलाई नयाँ (नमूना) शहर निमार्ण गर्ने सरकारी योजनामा परेकोले शहरी विकास कार्यक्रम लागु भएको छ ।
यस ऐतिहासिक अवसरमा बेलौरी बजार र यस क्षेत्रको द्रुत एंवम दिगो विकासका लागि नगरपालिकाले १ वर्ष पहिले नै डीपीआर निर्माण गरिसकेको बेलौरी बजारदेखि इलाका प्रहरी कार्यालय प्रेमनगर, भुराकोट, बैशाखा, बेलौरी भन्सार हुदै नेपाल भारत सीमासम्मको ४ कि.मि सड्क खण्डलाई स्थानीय प्रदेश तथा संघीय सरकारको सहभागितामा सम्पन्न हुने गरी पूर्वाधार गौरवको योजना घोषित गरी लागू गर्न नगरपालिकामा आवश्यक पहल गर्नका लागि सरोकारवालाको तर्फ बाट बेलौरी नगरविकास समितिलाई अनुरोध गर्दै, शहरोन्मुख बेलौरी बजार र यस क्षेत्रको शान्ति, विकास र समृद्धिको कामना गर्दै, बेलौरी नगरविकास समिति, बेलौरी नगरपालिका, बेलौरी उद्योग वाणिज्य सघं, उद्योगि व्यावसायी, सरकारी सामुदायिक तथा निजि संघसंस्था कार्यालय, एंव सरोकारवाला सबैलाई हार्दिक बधाई तथा शुभ कामना ! ! !
लेखक महाकाली मा.वि.बेलौरीका पूर्व प्रधानाध्यपक हुन् ।
केशबराज जोशी
बेलौरी नगरपालिका ६, विद्यानगर पंतिकार

Facebook Comments
Down to post ads-480-38

Comments are closed.