पुनर्वासमै पहिलो पटक शैक्षिक सामग्री बितरण गर्दै पत्रकारले मनाए जन्मदिन

देबराज गिरी 
पुनर्वास, २७ कार्तिक । 
कंचनपुरको पुनर्वासमा पहिलो पटक एकजना पत्रकारले शैक्षिक सामग्री वितरण गर्दै आफ्नो जन्मदिन मनाएका छन् ।
पुनर्वास नगरपालिका-५ स्थायी घर भएका पत्रकार हरिलाल जोशीले सोही ठाउँको गौरीशंकर माध्यमिक विद्यालयका बालकक्षा र एक कक्षाका ४२ जना विद्यार्थी भाइबहिनीहरुका लागि शैक्षिक सामग्री वितरण गर्दै आफ्नो जन्मदिन मनाएका हुन् ।
शनिबार विद्यालय विदा भएकाले शैक्षिक सामग्री विद्यालयका प्रधानाध्यापक लोकबहादुर थापालाई हस्तान्तरण गर्दै जोशीले जन्मदिनमा होटलमा पार्टी गरी फजुल खर्च गर्नुभन्दा यस्तै समाज सेवामा खर्चिनु उचित भएको बताए ।
“आफैले अध्ययन गरेको विद्यालयका गरिब र जेहेन्दार विद्यार्थीहरुले शैक्षिक सामग्रीको अभावमा विद्यालय छोड्न नपरोस् भन्ने हेतुले शैक्षिक सामग्री वितरण गरेको हुँ ।” उनले भने- “साथीभाइसँग होटलमा मनाउने खर्च कटौती गरी विद्यार्थीहरुलाई प्रोत्साहन गर्न सके भौतिक अभावमा विद्यालय छोड्नेको संख्यामा कमी आउन सक्छ ।”
विगत एक दशकदेखि कञ्चनपुरको पुनर्वासमा पत्रकारिता गर्दै आएका पत्रकार जोशी सुदूरपश्चिमको धनगढीबाट प्रकाशित दैनिक पत्रिका ‘हेल्लो पुनर्वास’का पुनर्वास-बेलौरी ब्यूरो प्रमुखको रुपमा कार्यरत छन् ।
पत्रकार जोशी नेपाल प्रेस युनियन र नेपाल पत्रकार महासंघ कञ्चनपुरका सदस्यसमेत हुन् ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.