चर्चित गायक कुमार सानूको गीतमा पुनर्वासका ब्यापारी खानको अभिनय
हरिलाल जोशी
पुनर्वास, १ साउन । चर्चित गायक कुमार सानूको गीतमा पुनर्वासका चर्चित ब्यापारी असद खानद्वारा अभिनित म्युजिक भिडियो छिट्टै बजारमा आउँने भएको छ ।
चर्चित अन्तर्राष्ट्रिय गायक कुमार सानूको स्वर रहेको आधुनिक गीत ‘एउटा गुनासो’ मा पुनर्वास नगरपालिका–३ आई.बी.आर.डी.का चर्चित ब्यापारी मोहमद असद खान (मुन्ना) द्वारा अभिनित म्युजिक भिडियो छिट्टै बजारमा आउँने भएको हो ।
व्यवसाय क्षेत्रमा आफ्नो छुट्टै छवि बनाएका खान एकाएक म्युजिक भिडियोमा देखा पर्ने भएपछि कला र संगीतप्रेमी माझ यतिखेर तरंग नै फैलिएको छ ।
गोबिन्द गिरी प्रेरणाको शब्द रहेको उक्त भिडियोमा खानलगायत बबिता देवको प्रमुख अभिनय रहेको छ भने संगीत नरहरि प्रेमी, छायांकन डीबी रेउले र निर्देशन जिबि आग्रीले गरेका छन् ।
पुनर्वासमै छायांकन भएको झण्डै ५ मिनेट लामो उक्त भिडियोको निर्माण भने राग भिजन मल्टिमुभिज प्रा.लि.को ब्यानरमा गरिएको छ ।
नशालु पदार्थ सेवनले श्रीमान–श्रीमती बीच उत्पन्न हुने परिस्थितिमा आधारित उक्त भिडियो दर्शक सामु साउन पहिलो साता भित्रै म्युजिक नेपाल युट्यूब च्यानलबाट सार्वजनिक गरिने निर्देशक आग्रीले जानकारी दिए ।
व्यवसायलाई प्राथमिकता दिदै आएका खान पछिल्लो समय टिकटक हुँदै म्युजिक भिडियोको अभिनयमा सक्रिय देखिएका छन् ।
Comments are closed.