नगर प्रमुखले माल्यार्पण गर्दै मनाईयो शहीद गोबिन्द गौतमका चौथो स्मृति दिवस

हरिलाल जोशी
पुनर्वास– नेपाली भूमी रक्षाका लागि भारतीय ज्यादतीका विरुद्ध आफ्नो ज्यानको आहुती दिनुभएका शहीद गोबिन्द गौतमको चौथो स्मृति दिवस मनाईएको छ । बुधबार पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाले शहीद गोबिन्द गौतमको शालिकमा माल्यार्पण गर्दै चौथो स्मृति दिवस मनाईएको हो । माल्यार्पण गर्नुहुँदै नगर प्रमुख थापाले नेपाली भूमी रक्षाको लागि आफ्नो ज्यानको आहुती दिएका शहीद गौतमले नेपालीहरुलाई आफ्नो सीमा रक्षा कसरी गर्नुपर्छ भन्ने ज्ञान दिनुभएको बताउनुभयो ।
उहाँले राष्ट्रले नै सम्मान गरेको शहीद गौतमलाई नगरपालिकाले पनि बार्षिक रुपमा उहाँकी छोरीहरुलाई आर्थिक सहयोग गर्दै आएको बताउनुभयो ।
“हिजोका दिनमा भारतको रानी नगरमा सीमा पिल्लर देखेका थियौं” नगर प्रमुख थापाले भन्नुभयो “अहिले भारतले नेपाली पुर्जा भएको जमिन पनि कब्जा गरेको छ ।”
शहीदलाई सम्झिदै नगर प्रमुख थापाले उहाँको परिवारलाई नगरपालिकाबाट सक्ने सहयोगहरु निरन्तर गर्ने र नगरपालिकाले सो उद्यान निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
शालिकमा माल्यार्पण पछि मौन धारण गर्दै शहीद गौतमका बुवालाई नगर प्रमुख थापाले दोसल्ला र नगद सहित सम्मान गर्नुभएको थियो ।
माल्यार्पण कार्यक्रममा पुनर्वास–४ का वडाध्यक्ष प्रेम बस्नेत, पुनर्वास–३ का वडाध्यक्ष कृष्ण तामाङ, नेकपा एमाले नगर संयोजक स्थिरप्रसाद घिमिरे, नेपाली कांग्रेसका नगर सभापति यमप्रसाद पौडेल, समाजसेवी ज्योतिश्वर अर्याल, नेपाली काँग्रेशका वडा सभापति चन्द्रमणी गैरे, कार्यपालिका सदस्य विष्णु सिग्देल, समाजसेवी पार्वती हमाल, शसस्त्र प्रहरीका निरीक्षक निमबहादुर भण्डारी, सशस्त्रकै नायव निरीक्षक गंगा बोगटी लगायतका अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो । उहाँहरुले पनि शहीदको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।
२०७३ फागुन २६ गते भारतीय ज्यादतीका विरुद्ध लडिरहदा एसएसबीको गोली लागि सहादत प्राप्त गरेका शहीद गौतमको स्मृति पार्क प्रदेश सरकार र स्थानीय सरकारको आर्थिक सहयोगमा निर्माण भएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.