पुनर्वासमा मोटरसाइकलको ठक्करले एक स्थानीय महिलाको मृत्यु, सात महिनामै तीनको मृत्यु

हरिलाल जोशी
पुनर्वास, २८ माघ । कञ्चनपुरको पुनर्वासमा मोटरसाइकलले ठक्कर दिदा एक स्थानीय महिलाको मृत्यु भएको छ । पुनर्वास नगरपालिका २ अरनिकोबस्तीकी ५२ वर्षीय पोतेजोम तामाङको खेतबाट घर आउनेक्रममा सोही स्थानको मिनि बजार नजिकै से ४ प ५५४४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
दुर्घटनामा परि गम्भीर घाइते भएकी तामाङलाई उपचारका लागि आई.बी.आर.डी.को पुनर्वास पोलिक्लिनिक लगिएको थियो । त्यहाँ उपचार सम्भव नभए पछि धनगढी सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो । प्रादेशिक अस्पतालमा उपचारकै क्रममा माया मेट्रोमा सिटी स्क्यान गर्नका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाशसिंह बिष्टले जानकारी दिए ।
ठक्कर दिने मोटरसाइकल चालक पुनर्वास नगरपालिका २ दशरथबस्तीका २२ वर्षीय सञ्जय सुनार र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ । दुर्घटनाको कारण मदिरा सेवन र तीब्र गति हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको छ । शवलाई पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको आकस्मिक शव गृहमा राखिएको छ ।
तीन जनाको मृत्यु
गत आर्थिक वर्षको सात महिनाको अवधिमा पुनर्वास नगरपालिका भित्र सडक दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन् । श्रावण महिनामा पुनर्वास १ बलभद्रबस्ती नजिक हुलाकी सडक खण्ड निर्माण कम्पनीले सञ्चालन गरेको पानी टेङ्करको ठक्करबाट पुनर्वास नगरपालिका ९ निवासी ३२ वर्षीय लोकबहादुर सिंह ठकुरीले घटनास्थलमै ज्यान गुमाएका थिए । त्यस्तै माघ ४ गतेका दिन पनि सोही ठाउँ नजिकै बोलेरो जीपको ठक्करबाट पुनर्वास नगरपालिका ९ घर भएकी १३ वर्षीय बालिका सुस्मिता सार्कीको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको थियो ।
सबै क्षेत्रमा सवारी नियमित चेकजाँच नहुनु, नियम विपरीत सवारी चल्नु, ट्राफिक प्रहरीको दोदा केन्द्रित सवारी चेकिङ्ग मात्रै हुनु जस्ता कारणले पुनर्वासमा सडक दुर्घटना बढी हुने गरेको स्थानीय बुद्धिजीवीहरुको बुझाई छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.