पुनर्वासमा सवारीचालकको भागाभाग

हरिलाल जोशी
पुनर्वास, २६ माघ । कञ्चनपुरको पुनर्वास नगरपालिका–३ आई.बी.आर.डी. को सडकमा जब ट्राफिक प्रहरी देखा परे तब अधिकांश सवारीचालकहरुको भागाभाग भएको दृश्य शनिबार देख्न सकिन्थ्यो ।
बजारमा लामो समयसम्म देखा नपरेको ट्राफिक प्रहरी अचानक देखिएपछि स्थानीयहरुमा आश्चार्य र ट्राफिक नियम उल्लंघन गर्ने चालकहरुमा डर स्वभाविक नै थियो ।
बिगत लामो समयदेखि ट्राफिक प्रहरी पुनर्वासको दोंदा पूलमा मात्रै केन्द्रित रहेर चेकिङ गर्नाले पुनर्वासका अन्य स्थानहरुमा ट्राफिक नियम विपरीत सवारी साधनहरु निर्वाधरुपमा गुड्दै आएका छन् । बिना हेल्मेट र क्षमता भन्दा बढी ३ देखि ४ जना एउटै मोटरसाइकलमा सवार हुनु पुनर्वासको लागि यो कुनै नयाँ नौलो दृश्य हैन, कारण ः ट्राफिक प्रहरीको फितलो निगरानी ।
बिना हेल्मेट, एउटै मोटरसाइकलमा ३ देखि ४ जना तीब्र गतिमा प्रतिभानगर टाउन र आई.बी.आर.डी. बजारको ब्यस्त र साँघुरो बाटोमा सवारी चलाएको दृश्यले हरकसैको ध्यान केन्द्रित गर्दछ, तर पुनर्वासका लागि खटिएका ट्राफिक प्रहरीहरुको ध्यान किन त त्यतातिर केन्द्रित हुँदैनन् त ? भन्ने प्रश्न उठ्न थालेपछि शनिबार दिउँसो ट्राफिक प्रहरी सहाय निरीक्षक रमेश भट्टको कमाण्डमा चेकिङको शुरुवात गरियो । चेकिङको थालनी सँगसँगै सवारी साधन चालकहरुको भागाभागले केही समय दृश्य मनोरम बने पनि अवस्था गम्भीर थियो ।
ट्राफिक प्रहरीको नियमित उपस्थिति नहुदा ट्राफिक नियमको उल्लङ्घन गरी सवारी चलाउँनेको हौसल झनै थपिदै गएको स्थानीय व्यापारी नवराज लामिछानेले ठोकुवा गरे । उनले आगामी दिनमा दोंदामा मात्रै ट्राफिक चेकिङ्ग सीमित नरहि पुनर्वासको निकै अस्तव्यस्त र बढि दुर्घटना हुने आई.बी.आर.डी. बजारमा दैनिकै एक घण्टा ट्राफिक चेकिङ्ग हुन आवश्यक रहेको बताए ।
ट्राफिक प्रहरीले नियम कानूनलाई कडा रुपमा अवलम्बन गर्दै नियमित रुपमा सवारी चेकजाँच गर्ने हो भने ट्राफिक ब्यबस्थापनमा समस्या नरहने अर्का स्थानीय राम दाहालले बताए । उनले भने–“नियमित चेकचाज भएपो हेल्मेट कागज पत्र बोक्छन् औशी पूर्णेमा झुल्किने ट्राफिकको लागि यत्रो झण्झट कस्ले गरिदिने ?”
अर्का स्थानीय पवनकुमार विश्वकर्माको भनाइ पनि उस्तै छ, “नियमित चेकजाँच हुनेहो भने सवारीचालकहरु पनि सचेत हुन्छन्, भूलचूकमा आएको जस्तो गर्छन् ट्राफिक प्रहरी अनि कहाँबाट पालन हुन्छ त ट्राफिक नियम ?”
यता कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा ट्राफिक व्यवस्थापनको जिम्मेवारी पाएका अस्थायी ट्राफिक प्रहरी पोष्ट त्रिभुवनबस्तीले जनशक्ति न्यून भएको कारण ट्राफिक ब्यबस्थापनमा कमी आएको स्वीकार गरेका छन् । कार्यक्षेत्र ठूलो र ट्राफिक तीनजना मात्र भएको कारण ट्राफिक ब्यबस्थापनमा कमी आउँनु स्वभाविक भएको ट्राफिक प्रहरी सहायक निरीक्षक भट्टले बताए ।
ट्राफिक जनशक्तिको अभावले भनु या जनचेतनाको अभावले यतिखेर पुनर्वास भरी नै लापरबाही तवरले ट्राफिक नियम उल्लंघन गर्ने को लाम नै लागेको छ । नियमन गर्ने निकायले पनि आफ्नो जिम्मेबारी बहन गर्ने र सवारी चालकले पनि ट्राफिक नियम पालन गर्ने हो भने न त ट्राफिकले लखेट्नु नै पर्छ न त यसरी चालकले भागाभाग नै गर्नुपर्छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.