स्वतन्त्रता (कविता)

केही विचारहरू छन्,
जो गुटमुटिएका छन्
हिउँदको महिनामा साँझ बिहान जसरी,
यी हात र खुट्टाका औँलाहरू कठ्याङ्ग्रिने गर्दछन्
त्यसैगरि कठ्याङ्ग्रिएका छन्
केही सवालहरू मनभित्र !
चिसा सिरेटाजस्ता भावहरूले मन,
र मनहरूलाई जमाइदिएका छन्
केही मीठा आशाले फेरि यही, बरफको ढिकोजस्तो हृदयलाई
प्रेमको रापले उही पूरानै हालमा फर्काउने चेष्टा गर्दैछ
जो निष्फल छ
केही आड, भरोसा र न्यानोपन दिने क्रममा,
कयौँ खुशीहरू बाफ बनि उडेर गएका छन्
र केही अवशेषहरू बाँकी छन्,
जो तरल छन्,
कहिलेकाँही तिनी पनि बहन्छन् आँखाबाट,
हृदय बगाउन,
कहिले सम्झिएर, तड्पिएर त कहिले निश्वास्सिएर
मलाई तिनै जहरिला भावले बाँच्न दिँदैनन्,
मलाई बाल्यकालका अट्टहासले रून दिँदैनन्
मलाई हृदयका रुवाइले हाँस्न दिँदैनन्
भविष्यका सपनाहरूले भयानक रूप लिएका छन्
कहिले निदरी नै उडाइदिन्छन्,
कहिले हाँस्दाहाँस्दैको ओँठ बङ्ग्याइदिन्छन्
भूतले भविष्यलाई गिज्याएको छ
वर्तमानले भूतलाई जिस्क्याएको छ
अनि म अन्योलमा परेको छु,
वाणीको चाँप, सामाजिकत्व
र त्यसमा पनि नारी हुनुको डरले मलाई पिरोलिरहन्छ
अनि आशाहरूको मुहानमा खडेरी पर्दछ !
मेरो नैतिक बनावट, समाजको दृष्टिले धानेको छ
मेरो वाणी, मेरो पदले ओझेलमा पारेको छ
मेरो भविष्य, त्यो पनि यसैमा निर्भर छ
मलाई मेरा सपनाले स्वतन्त्रता दिएका छैनन्,
मेरो अस्तित्व नै बन्धनमा परेको छ
किनकि म मानव हुँ,
र विशेषतः नारी हुँ !
पूर्णिका अर्याल
बेलौरी न.पा.–४ शान्तिपुर, कञ्चनपुर
श्री शान्ति मा. वि. १२ मा अध्ययनरत्
Comments are closed.