बजार प्रवर्द्धन अभावले उत्पादन गरिएका तरकारी गाईभैसीलाई हाल्न बाध्य पुनर्वासका तरकारी किसान

हरिलाल जोशी
पुनर्वास – कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का काउली ,बन्दा र ब्रो काउली खेतीमा संलग्न युवा किसान नरेश थापाको पन्ध्र कट्ठा जमिनमा रोपेको तरकारी बेच्नका लागि तयार भएको छ ।
तरकारी बिक्रीका लागि तयार भएपनि तरकारी किन्ने ग्राहक अहिलेसम्म पाएका छैनन् । ग्राहक नपाएपछि उनको जमिनमा फलेको तरकारी बारीमा बिग्रिन थालेको छ ।
दुई साताअघि प्रतिकिलो रु ६० देखि ६५ रुपैयाँ सम्ममा बिक्री भइरहेको काउली ,बन्दा र ब्रो काउलीको बजार मूल्य ह्वात्तै घटेर रु १० देखि १२ मा झरेपछि आफू निकै चिन्तित बनेको बताए । “१० देखि १२ रुपैयाँ प्रतिकिलोमा लागत नै नउठ्ने गरि तरकारी बेच्नु परेको छ “युवा किसान थापाले भने “त्यै पनि बिक्दैन गाईभैसीलाई काटेर खुवाउछु ,सिँचाइ, मलखाद, कीटनाशक औषधि , गोडाइ, जोताइ र मजदूरको खर्च जोड्दा एक लाख बीस हजार लागत लाग्यो ।”
उनले आफू जस्ता किसानको लाखौ लगानी कृषिमा खेर गैइरहदा पनि स्थानीय सरकारले बजार प्रवर्द्धन तर्फ कुनै चासो नदिएको आरोप लगाए ।
लकडाउनका कारण अहिले पुनर्वासमा अधिकाँश कृषकहरुको तरकारी खेती तर्फ आकर्षण बढ्दो थियो । तर बजार प्रवर्द्धनको समस्याले अहिले उनीहरु सबै चिन्तित छन् ।
नरेश थापा जस्तै अर्का पुनर्वास नगरपालिका-९ का सुर्य बुढाको पनि समस्या उस्तै छ । उनले पनि आलु सहित काउली ,बन्दा र ब्रो काउली चार बिघा खेतमा लगाएका छन् । ढुवानीका साधानको व्यवस्था मिलाउन नसक्दा एकातर्फ खेतमा काउली बिग्रने अवस्था छ भने अर्कोतर्फ बजारमा लैजाँदा थोरै मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको युवा कृषक बुढाले दुखेसो पोखे ।
“सहकारी मार्फत ऋण लिएर तरकारी खेती गरे दोब्बर मुनाफा गर्ने सोच थियो ।” उनले भने “अहिले तरकारीको राम्रो मूल्य नपाएपछि कसरी लगानी उठाउने भन्ने चिन्ता छ ।”
पुनर्वासमा उनीहरु जस्तै थुप्रै तरकारी उत्पादन गर्ने किसानहरु छन् । तर उनीहरु उत्पादन गरेका तरकारीहरुको उचित बजार व्यवस्थापन नहुदा चिन्तामा छन् । यस विषयमा सरोकार वाला निकायले बजार प्रवर्द्धनतर्फ जोड गरिदियोस भन्ने कृषकहरुले माग राखेका छन् ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.