पुनर्वासमा यसै वर्ष दुई चिस्यान केन्द्र बन्छ : नगर प्रमुख थापा

हरिलाल जोशी
पुनर्वास – कृषकहरुको पीर मार्कालाई मध्यनजर गर्दै मौषमी कृषि उत्पादनलाई बेमौषमीसम्म सुरक्षित राख्न पुनर्वास नगरपालिकामा यसै वर्ष दुईवटा चिस्यान केन्द्र बन्ने नगर प्रमुख जिवनराज थापाले बताउनु भएको छ ।
बुधबार पुनर्वासको सबैभन्दा पुरानो सहकारी पुनर्वास सहकारी संस्था लिमिटेडको २८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नगरप्रमुख थापाले सो कुरा बताउनुभएको हो ।
उहाँले नगरपालिकाको दुई करोड लागतमा पुनर्वास सहकारी संस्थाको जमिन र सुदूरपश्चिम प्रदेशको बजेटमार्फत पुनर्वास-५ स्थित भानु युवा क्लबको खेलमैदानमा गरी दुई ओटा चिस्यान केन्द्र बन्ने र यसका लागि नियम कानूनसमेत बनिसकेको जानकारी दिनु भयो । वहाँले माघ महिना भित्रै हुन लागेको नगर सभाले छ्लफल गरि पुनर्वासमा एउटै उद्देश्य लिई सञ्चालन रहेका सहकारीको संख्या अत्याधिक भएका कारण ४७ वटा सहकारीहरुलाई निकट भविष्यमा मर्ज प्रक्रियामा लैजाने बताउनुभयो । सहकारीका अध्यक्ष परशुराम विश्वकर्माको सभाध्यक्ष रहेको कार्यक्रममा केन्द्रीय दुग्ध सहकारी संस्थाका सञ्चालक सदस्य भरत बिष्टको विशिष्ट आतिथ्य रहेको थियो भने पुनर्वास-५ का वडाध्यक्ष विरबहादुर बोगटी लगायतका विभिन्न व्यक्तित्वहरुको आतिथ्य सभामा रहेको थियो ।
सहकार्य र विकासका लागि अग्रणी स्थानमा रहेको पुनर्वास सहकारी संस्था लिमिटेडको आर्थिक प्रतिवेदन सहकारीका व्यवस्थापक एककुमार श्रेष्ठ, लेखा परीक्षण प्रतिवेदन लेखा संयोजक रामचन्द्र भट्टराई र वार्षिक प्रतिवेदन सहकारीका अध्यक्ष परशुराम विश्वकर्माले प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा नियमित गुणस्तरीय दुग्ध विक्रेता कृषक, बचत तथा ऋण कारोबार गर्ने असल शेयर सदस्यहरुलाई संस्थाले दोसल्ला र प्रशंसा पत्र सहित सम्मानित गरेको थियो ।
पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिका-१ सम्म आफ्नो कार्यक्षेत्र विस्तार गरेको सहकारी संस्थाका ४ सय ५१ शेयर सदस्य रहेको सहायक लेखापाल दिपक कापडीले जानकारी दिनु भयो।
संस्थाकि उपाध्यक्ष मेनुका उप्रेतीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सहकारीका व्यवस्थापक एककुमार श्रेष्ठले गर्नुभएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.