९ बुँदे सहमति पछि सुकुम्बासीहरुले नगरपालिका कार्यालयमा लगाएको तालाबन्दी खुल्यो

हरिलाल जोशी
पुनर्वास, २९ पौष । कंचनपुरको पुनर्वास नगरपालिका कार्यालयमा सुकुम्बासी संघर्ष समितिले आईतवार लगाएको ताला खोलिएको छ । मंगलबार सुकुम्बासी संघर्ष समितिका पदाधिकारी र नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, कर्मचारी र वडाध्यक्षहरुको संयुक्त बैठकपछिको ९ बुँदे सहमति पछि नगरपालिका कार्यालयमा लगाएको ताला खोलिएको हो ।
दिनभरीको लामो छलफल पछि साझ साढे पाच बजे नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सुरक्षाकर्मी र पत्रकारको उपस्थितिमा सुकुम्बासी संघर्ष समितिका संयोजक जगत सायरले नगरपालिका मूल गेटमा लगाएको ताला खोलेका थिए ।
आईतबार सुकुम्बासी संघर्ष समितिले नाराबाजी सहित तालाबन्दी गरेपछि पुनर्वास नगरपालिकाको कार्यालय वरिपरि र नगर प्रमुखको निवास नजिक जनपद प्रहरी र सशस्त्र प्रहरी मंगलबारसम्म सुरक्षामा तैनाथ देखिएका थिए ।
५ दशक देखि उपभोग गर्दै आएको जमिनको जग्गा धनी प्रमाणपत्र उपलब्ध गराउन स्थानीय सरकारले कुनै पहल नगरेको भन्दै तालाबन्दी गरिएको थियो ।
९ बुदामा गरिएका निर्णयहरु:
१) सुकुम्बासी आयोगले पुनर्वास नगरपालिकालाई अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न प्राथमिकतामा नराखेकोले यथाशीघ्र प्राथमिकतामा राख्न सम्बन्धित निकायमा २०७७ माघ मसान्त भित्र नगरपालिकाको नेतृत्वमा संयुक्त रुपमा पहल गर्ने
२) यस नगरपालिका अन्तर्गतका अधिकाँश सार्वजनिक जग्गा राष्ट्रिय आवास कम्पनीको नाममा फिल्ड बुक कायम भएको कारणले समस्या समाधानमा कठिनाइ भएकोले अब अव्यवस्थित बसोबास लाई व्यवस्थित गर्दा राष्ट्रिय आवास कम्पनीको नम्सबाट नगर्ने आयोगको नम्स अनुसार गर्ने /गराउने आवश्यक पहल गर्ने
३) यस पालिकालाई यथाशीघ्र प्राथमिकतामा राखी भूमि आयोगलाई नगरपालिकासंग सम्झौताका लागि आवश्यक पहल गर्न नगरपालिका र संघर्ष समितिको संयुक्त टोली मन्त्रालय, आयोग तथा अन्य केन्द्रीय कार्यालयमा डेलिगेशन जाने
४) नगरपालिकाले हालसम्म सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि गरेका निर्णय तथा पहलका कागजातको छायाप्रती नगरपालिकाले संघर्ष समितीलाई उपलब्ध गराउने
५) नगरपालिकाले समस्या समाधान गर्न आवश्यक पहल गर्दा गर्दै पनि सुनुवाइ नभएमा नगरपालिका र संघर्ष समितिले नियमानुसार संयुक्त रुपमा आवश्यक संघर्ष गर्ने
६) नगरपालिका र सुकुम्बासी समस्या समाधान संघर्ष समिति बीच निरन्तर समन्वय र सहकार्य गरी अगाडि बढ्ने
७) नगरपालिका अन्तर्गत रहेका अव्यवस्थित बसोबासीहरुको यथाशीघ्र लगत संकलन गर्न आवश्यक पर्ने बजेट विनियोजन गर्ने
८) आयोगले अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्दा विद्यालय लगायत सार्वजनिक संघसंस्थाहरुका लागि पनि नम्स अनुसार जग्गा उपलब्ध गराउन पहल गर्ने
९) सुकुम्बासी समस्या समाधान संघर्ष समितिले नगरपालिका कार्यालयमा लगाएको ताला खोल्ने

Facebook Comments
Down to post ads-480-38

Comments are closed.