समाचार प्रभाव : एनएमबी बैंकले वितरण नगरेको सामाजिक सुरक्षा भत्ता डेढ महिना पछि बल्ल वितरण गर्दै

हरिलाल जोशी
पुनर्वास २१ पौष । पुनर्वास नगरपालिकाले वितरण गर्ने पहिलो चौमासिक सामाजिक सुरक्षा भत्ता वितरणमा एनएमबी बैंकको मनोमानी देखिएको छ ।
पुनर्वास नगरपालिकाले कार्त्तिक मसान्तमै सामाजिक सुरक्षा भत्ताका लागि बैंकको खातामा रकम पठाएको भएपनि हालसम्म बैंकले सामाजिक सुरक्षा भत्ता वितरण नगरेको विषयलाई हेल्लो पुनर्वास दैनिकले बैंकका प्रबन्धकसँग सोधी समाचारको तयारी गर्न खोजेपछि बल्ल मंगलबारदेखि वडा नम्बर ५ बाट बैंकले सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो ।
नगरपालिकाका पाँच वटा वडाको सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा पाएको एनएमबी बैंक पुनर्वास शाखाले २६ सय ३६ जनाको दुई करोड २६ लाख रुपियाँ सामाजिक सुरक्षा भत्ता रकम वितरण नगरी डेढ महिनासम्म आफ्नो खातामा राखेको हो ।
बैंकले कुनैपनि सूचना प्रवाह नगरी आफु खुशी सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगरपालिकाले दिएको रकम डेढ महिनासम्म व्यक्तिहरुलाई वितरण नगरी बैंक स्वयंले प्रयोग गरिएको देखिएको छ ।
भत्ता रकम वितरण नगरिएको विषयमा सोमबार एनएमबी बैंक शाखा पुनर्वासका शाखा प्रबन्धक रविन्द्रबहादुर चन्दसँग बुझ्दा दुई बैंक एउटैमा मर्ज भएको हुँदा पुरानोलाई नयाँ सिस्टममा लैजाँदै गर्दा केहि ढिलो हुन पुगेको जानकारी दिएका थिए।
नगरपालिकाले शुरुको चेक कार्त्तिक मसान्तमा बैंकलाई दिएपनि सिस्टम खराबीका कारण सो चेक क्लिरेन्स नहुँदा सो चेक फिर्ता गरी पुनः अर्को चेक मंसिरको अन्ततिर आएको शाखा प्रबन्धक चन्दले बताए ।
नयाँ सिस्टममा जानुपर्दा रकम वितरणमा केहि ढिलो भएको प्रबन्धक चन्दले स्वीकार गरेका छ्न् ।
त्यस्तै भत्ता वितरण बैंकले समयमै नगरेको विषयमा पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टसँग बुझ्दा आफु नगरपालिकामा शुरुमा हाजिर हुँदा नै सामाजिक सुरक्षाको कामलाई अग्रता दिएको बताए ।
अधिकृत बिष्टका अनुसार नगरपालिकाले समयमै बैंकको खातामा रकम पठाए पनि वितरणमा ढिलाइ किन भयो भन्ने विषयमा बुझ्दा बैंकले आफ्नो प्राविधिक कारणले ढिला भएको जानकारी दिएकोे बताए ।
सरकारबाट पाउने सामाजिक सुरक्षा भत्ता पाउने आसमा रहेका ती व्यक्तिहरु डेढ महिनासम्म पनि भत्ता नपाएपछि भत्ता पाउने कि नपाउने दोसाँधमा थिए ।
सामाजिक सुरक्षा भत्ता समयमै किन र कसरी वितरण भएन भन्ने विषयमा सम्बन्धित निकायको बेलैमा ध्यान जान जरुरी देखिन्छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.