सामाजिक सुरक्षा भत्ता वितरणमा एनएमबी बैंकको मनोमानी, डेढ महिनासम्म पनि वितरण गरेन भत्ता

हरिलाल जोशी
पुनर्वास–पुनर्वास नगरपालिकाले वितरण गर्ने पहिलो चौमासिक सामाजिक सुरक्षा भत्ता वितरणमा एनएमबी बैंकको मनोमानी देखिएको छ ।
नगरपालिकाका पाँच वटा वडाको सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा पाएको एनएमबी बैंक पुनर्वास शाखाले २६ सय ३६ जनाको दुई करोड २६ लाख रुपियाँ सामाजिक सुरक्षा भत्ता रकम वितरण नगरी आफ्नो खातामा राखेको हो ।
पुनर्वास नगरपालिकाले कार्त्तिक मसान्तमै सामाजिक सुरक्षा भत्ताका लागि बैंकको खातामा रकम पठाएको भएपनि हालसम्म बैंकले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छैन ।
बैंकले कुनैपनि सूचना प्रवाह नगरी आफु खुशी सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगरपालिकाले दिएको रकम डेढ महिनासम्म व्यक्तिहरुलाई वितरण नगरी बैंक स्वयंले प्रयोग गरिएको देखिएको छ ।
भत्ता रकम वितरण नगरिएको विषयमा एनएमबी बैंक शाखा पुनर्वासका शाखा प्रबन्धक रविन्द्रबहादुर चन्दसँग बुझ्दा दुई बैंक एउटैमा मर्ज भएको हुँदा पुरानोलाई नयाँ सिस्टममा लैजाँदै गर्दा केहि ढिलो हुन पुगेको जानकारी दिए ।
नगरपालिकाले शुरुको चेक कार्त्तिक मसान्तमा बैंकलाई दिएपनि सिस्टम खराबीका कारण सो चेक क्लिरेन्स नहुँदा सो चेक फिर्ता गरी पुनः अर्को चेक मंसिरको अन्ततिर आएको शाखा प्रबन्धक चन्दले बताए ।
“अब एक दुई दिनमै भत्ता वितरण कार्य सुरु गर्छौ ”उनले भने “नयाँ सिस्टममा जानुपर्दा रकम वितरणमा केहि ढिलो भएकै हो ।”
त्यस्तै भत्ता वितरण बैंकले अहिलेसम्म नगरेको विषयमा पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टसँग बुझ्दा आफु नगरपालिकामा शुरुमा हाजिर हुँदा नै सामाजिक सुरक्षाको कामलाई अग्रता दिएको बताए ।
अधिकृत बिष्टका अनुसार नगरपालिकाले समयमै बैंकको खातामा रकम पठाएपनि अहिलेसम्म वितरण किन भएन भन्ने विषयमा बुझ्दा बैंकले आफ्नो प्राविधिक कारणले ढिला भएको र अब केहि दिनमै बाड्ने जानकारी दिएकोे बताए ।
सरकारबाट पाउने सामाजिक सुरक्षा भत्ता पाउने आसमा रहेका ती व्यक्तिहरु डेढ महिनासम्म पनि भत्ता नपाएपछि अब भत्ता पाउने कि नपाउने भन्ने दोसाँधमा छन् ।
यस विषयमा सम्बन्धित निकायको बेलैमा ध्यान जान जरुरी देखिन्छ ?

Facebook Comments
Down to post ads-480-38

Comments are closed.