सुकुम्बासी संघर्ष समिति पुनर्वासले गर्योे मौन विरोध जुलुश तथा धर्ना कार्यक्रम

ह्रिलाल जोशी
पुनर्वास–सुकुम्बासीहरुको समस्यालाई बेवास्ता गरेको भन्दै सुकुम्बासी संघर्ष समिति पुनर्वासले मौन विरोध जुलुश तथा धर्ना कार्यक्रम गरेको छ ।
सोमबार ईलाका प्रशासन कार्यालय हुँदै पुनर्वास नगरपालिकाको कार्यालयमा पुगेका करिब दुई हजार जनाको ठुलो संख्यामा रहेका सुकुम्बासीहरुले नगरपालिका कार्यालय भवनको मूल ढोकामै एक घण्टा धर्ना दिएका थिए ।
सुदूरपश्चिमका प्रायः सबै स्थानिय तहमा सुकुम्बासीहरुका लागि जग्गाधनी प्रमाण पूर्जा वितरणको तयारी तीव्र भएपनि पुनर्वास नगरपालिकाले अहिलेसम्म पनि लगत संकलन लगायतका कुनैपनि प्रक्रिया अघि नसारेको भन्दै सो संघर्ष समितिले पौष ७ गते सुकुम्बासीहरुका समस्या उद्धत गर्दै पुनर्वास नगरपालिमा ज्ञापन पत्र दिएको थियो ।
ज्ञापन पत्र दिएको १३ औं दिनसम्म पनि नगरपालिकाले कुनै प्रतिक्रिया नदेखाएपछि सोमबार हजारौंको संख्यामा मौन विरोध जुलुश तथा धर्ना कार्यक्रम सहित प्रस्तुत हुनु परेको सुकुम्बासी संघर्ष समिति पुनर्वासका संयोजक जगत सायरले बताए ।
संयोजक सायरका अनुसार हामी सुकुम्बासीहरुलाई चुनाव ताका आफ्नो स्वार्थ पूर्ति गर्न पूर्जा उपलब्ध गराउँछौ भन्ने झूठा आश्वासन दिँदै भोटका लागि प्रयोग गरेको बताए ।
निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो तीन वर्षको कार्यकाल सकिसक्दा पनि अहिलेसम्म सुकुम्बासीहरुका समस्याहरु हल गर्नतर्फ चासो नदिएको संयोजक सायरले बताए ।
सो संघर्ष समितिले अझै पौष २४ गते नगरपालिकामा नारा जुलुश सहितको सशक्त आन्दोलन र पौष २६ गते नगरपालिका कार्यालयमा अनिश्चितकालका लागि तालाबन्दीको कार्यक्रम तय गरेको संयोजक सायरले बताए ।जुलुशमा युवायुवतीदेखि वृद्धवृद्धासम्मका व्यक्तिहरु हात–हातमा प्ले–कार्डहरु सहित सहभागी देखिएका थिए । भने सुरक्षाकर्मीहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।
जुलश कार्यक्रमका माझ नगरपालिकाकी उपप्रमुख शारदा बिष्टले हामी जनप्रतिनिधिले निर्वाचित पछिको पहिलो कार्यपालिका बैठकमा सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गर्ने निर्णय गरेको बताईन्।
उनले नगरपालिकाले सुकुम्बासीहरुको समस्यालाई बेवास्ता नगरेको बताउदै आफुहरु समस्या समाधानतर्फ निरन्तर लागेको र छिट्टै समस्या समाधान गर्ने जानकारी दिईन् ।
त्यस्तै नगरपालिकाका प्रवक्ता भारमल सुनारले सुकुम्बासी संघर्ष समितिले ज्ञापन पत्र नगरपालिकामा दिएपछि सुकुम्बासीहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा कार्यपालिकामा व्यापक छलफल गरिएको बताए ।
“देशभर १ सय तीस स्थानिय तहले सुकुम्बासीहरुलाई जग्गाधनी पूर्जा दिन लगत संकलन कार्यक्रम शुरु गर्दा पुनर्वासमा अलि ढिलो भएको भन्ने लागेको हुनसक्छ ”उनले भने “हाम्रो नगरपालिकाको जमिन राष्ट्रिय आवास कम्पनीको नाममा फिल्डबूक कायम रहेको जमिन हुँदा समस्या अन्य स्थानियतहको भन्दा अलिक पृथक छ ।”
उनले कति समयदेखि भोगचलन गर्दै आउनुभएको भन्ने जमिनको सत्यतथ्य लगत संकलन गरी राष्ट्रिय आवास कम्पनीमार्फत नभई यस नगरपालिकाले सुकुम्बासी समस्या समाधान आयोगसँग समन्वय गरेर नगरपालिकाले बाँडन पाउनुपर्ने नगर प्रमुखको अडान रहेको बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.