साना किसानमा लागेको तालाबन्दी अझै खुलेन, शेयर सदस्यमै देखियो दुई पक्ष

हरिलाल जोशी
पुनर्वास–साना किसान सहकारी संस्था लिमिटेड त्रिभुवनबस्तीका शेयर सदस्यहरुमा दुई पक्ष देखिएको छ ।
भवन निर्माणमा आर्थिक अनियमितता लगायतका विभिन्न माग राख्दै एकथरी शेयर सदस्यहरुले सहकारी कार्यालयको मूलगेटमै आईतबार तालाबन्दी गरेका थिए । भने बुधबार अर्को थरी शेयरसदस्यहरु सम्मानित सर्वोच्च अदालतबाट फैसला भई संस्थामा पुनर्वहाली भएकी प्रबन्धक उमा भुषाललाई बर्खास्त गरी संस्था जोगाउन सहयोग गरिदिनुपर्ने र तालाबन्दी तत्कालै खोलिनुपर्ने भन्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख समक्ष ज्ञापन–पत्र हस्तान्तरण गरेका थिए ।
नगर प्रमुख समक्ष पेश गरेको ज्ञापन–पत्रमा संस्थाको प्रबन्धक पदमा रहि काम गर्दै आउनुभएकी उमा भुषालले पटक–पटक संस्थामा निवेदन दिई संस्थाको नियमित काममा समेत बाधा परेको कुराहरु, बर्खास्त अवधीमा अन्यत्र काम गर्दै आएको सबुत प्रमाणहरु समेत संस्थामा प्राप्त भएको, सञ्चालक समितिले गरेका निर्णयहरु र जिम्मेबारीहरुको पालना नगर्ने, कर्मचारी सेवा शर्त नियमावली २०७३ र संस्थाको विनियममा व्यवस्था भए अनुसारको कर्मचारी आचार संहिताको पालना नगर्नुको साथै २०६९ सालमा आर्थिक हिनामिना गरि संस्थाले पछि असुल उपर गरेको कुराहरु उल्लेख गरिएको थियो ।
ज्ञापन पत्र बुझ्दै नगर प्रमुख थापाले तालाबन्दी खोल्न लगाईने, छानविन समिति तयार गरी संस्थामा भएका अनियमितताका कुराको सत्य तथ्य निकास खोज्ने र दोषी उपर नियमानुसारको कार्वाही गर्ने बताए ।
उनले सहकारी डिभिजन केन्द्रीय कार्यालयबाट पनि सो संस्थामा भ्रष्टचार देखिएको भनि सत्यतथ्य छानविन गर्न नगरपालिकालाई पत्र पठाएको बताए ।
बुधबार ज्ञापनपत्र सहित नगरपालिका पुगेका शेयर सदस्यहरुले गलत कर्मचारी नचाहिने भन्दै नाराबाजी गरेका थिए ।
समय समयमा संस्थामा यस्तो किचलो देखिएपनि सत्यतथ्य छानविन गरि शेयर सदस्यहरु माझ हिसाबहरु छर्लङ्ग पार्नतर्फ सञ्चालक समिति अग्रसर देखिदैन ।
आईतबारदेखि कार्यालयमा तालाबन्दी भएपछि कारोबार पूर्णरुपमा बन्द रहेपनि सञ्चालक समिति उनीहरुका मागहरु छानविन गर्ने र तालाबन्दी खोल्ने विषयमा चौथो दिन पनि अग्रसर देखिएन ।
मंगलबार बल्ल आएर सञ्चालक समितिको बैठक बस्न खोज्यो तर ऋण माग फाराम लिन आउने शेयर सदस्यहरुको निरन्तर आगमन र केहि सदस्यको अनुपस्थितिका कारण देखाउँदै सञ्चालक समितिले बैठक बस्न नसकेको संस्थाकी प्रबन्धक कल्पना चापागाईले बताईन् ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.