पुनर्वासको नेपाल भारत सीमामा गोली हानी एक नेपाली युवकको हत्या,

पोस्टमार्टम र अनुसन्धानका लागि शवलाई भारतको लखीमपुर लगियो

हेल्लो समाचारदाता
पुनर्वास, ५ मंसिर ।
कञ्चनपुरको पुनर्वास स्थित नेपाल भारत सिमानाकामा पर्ने भारतीय दुधवा राष्ट्रिय निकुञ्जमा गोली प्रहार गरी हत्या गरिएका युवकको शव भारतीय प्रहरीले भारतको लखीमपुर लगेको छ ।
पोस्टमार्टम र अनुसन्धानका लागी भन्दै भारतको कोतवाली प्रहरीले उनको शव हिजो बेलुका करिब पौने ७ बजे लखिमपुर लगेको हो ।
अनुसन्धान र सोधपुछका लागि भन्दै हत्या गरिएका रानाका परिवारका ५ जना आफन्तलाई पनि भारतीय प्रहरीले सँगै लगेको छ ।
मृतकको शव पोस्टमार्टम पछि शव आज आफन्तलाई बुझाउने जनाइएको छ । पुनर्वास नगरपालिका–५ का ३५ वर्षीय शिवलाल रानाको छातीमा गोली प्रहार गरी हत्या गरिएको अवस्थामा हिजो दिउँसो करिब १ बजे भारतीय दुधवा राष्ट्रिय निकुञ्जमा शव भेटिएको थियो ।
उनी अघिल्लो दिन २ बजेबाट घरबाट सम्पर्क विहीन भएको आफन्तले बताएका छन् ।
नेपालबाट करिब ३ किलोमिटर दक्षिण निकुञ्ज जङ्गलमा गोली प्रहार गरी हत्या गरिएको शव आफन्तले बोकेर दशगजा नजिक ल्याएका थिए । तर भारतीय प्रहरीले घटना भारतमा भएको र अनुसन्धान गर्ने भन्दै रोकेको थियो ।
घटना भएको ठाउँमा रगत हरू पनि ढाकछोप गरि गरी प्रमाण मेटाइएको आफन्तको भनाइ छ । उनीहरूले घटनाको सत्य तथ्य छानबिनका लागि नेपाल सरकारलाई आग्रह गरेका छन् ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.