महाकाली करिडोरका लागि ९३ करोड रकम स्वीकृत

कञ्चनपुर, २ ९ भाद्र । विगत लामो समयदेखि चर्चामा रहेको महाकाली करिडोरका लागि नेपाल सरकारले बहुवर्षीय ठेक्का अन्तर्गत ट्र्याक खोल्न चालु आर्थिक वर्षको ९३ करोड बजेट स्वीकृत गरेको छ । यसअघि कञ्चनपुरको ब्रह्मदेव देखि दार्चुलाको तिंकरसम्म जम्मा ४ सय २५ किलोमिटर लम्बाईमा वातावरणीय प्रभाव मूल्यांकन गरिएको उक्त करिडोरमा कञ्चनपुरको गड्डाचौकी देखि ब्रह्मदेवसम्मको केही भूभाग थप गर्ने योजना समेत रहेको कञ्चनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य डा. दीपक प्रकाश भट्टले जानकारी दिनुभएको छ ।

हालै बसेको मन्त्रीपरिषद् बैठकले महाकाली कोरिडोर निर्माणको कार्यलाई उच्च प्राथमिकता दिदैं बजेट विनियोजन गरेको र दोधाराचाँदनीमा सुख्खा बन्दरगाह सञ्चालन हुने भएपछि कोरिडोरलाई गड्डाचौकीसम्म पुगाइने उहाँको भनाइ छ । कञ्चनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य डा. दीपक प्रकाश भट्टले छिमेकी राष्ट्र भारत र चीनसँग व्यापार व्यवसायसंगै कैलाश मानसरोवर जाने छोटो बाटोको रुपमा समेत महाकाली करिडोरलाई हेरिएकोले उक्त सडकखण्ड वर्तमान सरकारको प्राथमिकतामा परेको बताउनु भयो ।
सरकारले ट्र्याक खोल्नका लागि एकमुष्ठ रुपमा ठुलो रकम विनियोजन गरेपछि महाकाली करिडोर निर्माणको कार्यले तीब्रता पाउने जनअपेक्षा रहेको हो । तीन वर्षअघि कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला गरी चार जिल्लामा ट्र्याक खोल्न ५२ करोडमा ठेक्का सम्झौता भएको थियो । हालसम्म डडेल्धुरामा ११ किलोमिटर, बैतडीमा ५७ किलोमिटर र दार्चुलामा ६७ किलोमिटर कोरिडोरको ट्र्याक निर्माण गरिएको छ । कञ्चनपुरको ब्रह्मदेव देखि उत्तरतिर करीब ११ किलोमिटरमा ट्र्याक खोल्न गतवर्ष वातावरणीय प्रभाव मूल्यांकन गरिएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.