प्रहरी कार्यालयमै स्थानीय र प्रहरीबीच झडप

स्थानीय र प्रहरी नायब निरीक्षकसहित आठ जना प्रहरी घाइते

हेल्लो समाचारदाता
पुनर्वास, २८ भदौ । कञ्चनपुरको पुनर्वासमा शनिबार बेलुकी करिब ७ बजेतिर प्रहरी कार्यालयमै स्थानीय र प्रहरीबीच झडप भएको छ ।
झडपका क्रममा केही स्थानीय र प्रहरी नायब निरीक्षकसहित आठ जना प्रहरी घाइते भएका छन् ।
शनिबार पुनर्वास नगरपालिका–५ ग गाउँ स्थित चौतारामा तास खेलेका सात जनालाई प्रहरीले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालयमा ल्याएपछि छुटाउन गएका स्थानीय र प्रहरीबीच विवाद चुलिएपछि झड्प भएको हो ।
झडपको नेतृत्व लिएका पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाका स्वकीय सचिव टेक थापा, छोरा देबेन्द्र थापा, भतिजाहरु जितु थापा र हिमेश थापा रहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक वकिल सिंहले बताए ।
‘प्रहरी नायव निरीक्षक गोपाल बोहरा लगायतका आठ जना प्रहरीमाथि ढुंगामुढा र कुटपिट हुँदा केही प्रहरी सामान्य घाइते भएका छन्, केहीको बर्दी च्यातिएको छ भने प्रहरी भ्यानको शिशामासमेत क्षति पुगेको छ ।’ उनले भने ‘घटनाको प्रतिबेदन जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पेश गरिसकेका छौं अब दोषीउपर छिट्टै कारबाही हुन्छ ।’
आरोपित टेक थापाका अनुसार आफु छुटाउन गएको तर आफुहरुले कुनै हातपात र ढुंगामुढा नगरेको दाबी गरे । ‘घटनामा प्रहरीले उल्टै कुटपिट गरी हामीलाई नियन्त्रणमा लिएको छ ।’ उनले भने ‘सधैं राम्ररी बोल्ने प्रहरीको त्यो दिनको रुप हेर्दा मलाई त अब प्रहरी माथि नै विश्वास लाग्न छोड्यो ।’ उनले भने ‘प्रहरीले फसाउँछ भनेको सुनेको थें, हो रहेछ ।’
यता मेयर थापाका अनुसार चौतारामा टाइमपास गर्न तास खेलिरहेकाहरुलाई सम्झाइ बुझाइ पठाउँनु पर्ने ठाउँमा उल्टाइ पक्राउ गरेर हिरासत कक्षमै प्रहरीले कुटपिट गर्नु उचित नभएको बताए । ‘उनीहरुको शरीर भरी प्रहरीले कुटेको नील डाम छ ।’, मेयर थापाले भने, ‘झडपमा पिकनिक खाएर आएको मान्छेहरुको पनि प्रबेश भएको रहेछ ।’ उनले भने ‘विवादपछि झडप भएकै हो, झडपमा केही स्थानीय र प्रहरी सामान्य घाइते पनि भएका छन् तर घटनालाई जसरी एकतर्फी मोड्न खोजिएको छ त्यो चाहीँ सत्य होइन ।’

Facebook Comments
Down to post ads-480-38

Comments are closed.