पुनर्वासमा मनाइयो हलिया मुक्त दिवस

लालबहादुर एसके  
पुनर्वास, २१ भदौ । नेपाल सरकारले हलिया मुक्ति घोषणा गरेको आइतबार १२ वर्ष पूरा भएको छ ।
२०५९ सालदेखि संगठित रुपमा मुक्तिका लागि आन्दोलन गर्दै आएको सुदूरपश्चिम र मध्यका १२ जिल्लाका १९ हजार ५९ हलिया परिवारको उत्थानका लागि २०६५ भदौ २१ गते सरकारले मुक्ति घोषणा गरेको थियो ।
‘सबै खाले विभेद र कुप्रथा बिरुद्ध हाम्रो अभियान, मुक्त हलियाको पूर्ण पुनस्र्थापना र दिगो समाधान’ भन्ने मूल नाराका साथ पुनर्वासामा १२ औँ मुक्त हलिया दिवस मनाइएको छ ।
हलियामुक्ति निर्माण समिति पुनर्वासका अध्यक्ष बलबहादुर चुनाराको सभाध्यक्षता एबं पुनर्वास नगरपालिका वडा नं. ९ का अध्यक्ष नारायणप्रसाद जैशीको प्रमुख आतिथ्य साथै नेपाल कम्युनिष्ट पाटीका कञ्चनपुर जिल्ला सदस्य नरबहादुर सुनारको बिशिष्ट आतिथ्यमा १२ औँ मुक्त हलिया दिवस मनाइएको हो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै जैशीले पुनर्वासको हलियामुक्त बस्तीलाई नमूना बस्ती बनाउँने बताए । “यहाँका हलियामुक्त परिवारहरु आधारभूत आवश्यक्ताबाट बञ्चित हुनु पर्ने छैन । ” उनले भने–“वहाँहरुको लागि हाम्रोतर्फबाट जतिसक्दो साथ सहयोग रहने नै छ ।”
हलियामुक्ति निर्माण समिति पुनर्वासका सचिव लक्षमण वि.क.को स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन हलियामुक्ति समाज कञ्चनपुरका सामाजिक सहजकर्ता सञ्जु नेपालीले गरेका थिए ।
पुनर्वास नगरपालिका–९ मा हलिया मुक्त परिवारका लागि १०/१० धुर जमिनमा दुई कोठे ३९ ओटा भवन निमार्ण भइसकेका छन् भने ३ ओटा भवन निर्माणाधिन रहेका छन् ।
हलिया प्रतिनिधि र तत्कालीन नेपाल सरकारबीच भएको पाँच बुँदे सहमति अनुसार हलिया प्रथाको अन्त्यको घोषणा भएको दिनको सम्झनामा यो दिवस मनाइँदै आइएको हो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.