सिमा व्यवस्थापनको माग गर्दै व्यापारीहरुद्वारा बजार समितिलाई दिए ज्ञापनपत्र

हरिलाल जोशी
पुनर्वास ,१३ साउन ।
सिमा क्षेत्रबाट अवैध रुपमा लुकीछिपी भइरहेको तस्करी नियन्त्रण र सिमा व्यवस्थापनको माग गर्दै पुनर्वास नगरपालिका ३ का व्यापारीहरुले कालिका बजार व्यवस्थापन समितिलाई ज्ञापन पत्र दिएका छन् ।
सोमबार व्यापारीहरुको एक समूहले कालिका बजार व्यवस्थापन समितिका अध्यक्ष मुरली सुनारलाई करिब सय जना व्यपारीहरुको हस्ताक्षर सहितको ज्ञापन पत्र हस्तान्तरण गरेका हुन् ।
सो ज्ञापन पत्रमा लकडाउनका कारण सिमा बन्द भएको अवस्थामा भारतीय अवैध सामान आउन बन्द भएको र त्यसको कारणले नेपालीहरुको व्यापार फस्टाउँदै गएको तथा आत्मनिर्भर बन्दै गएको उल्लेख गरिएको छ ।
नेपाली बजारको हितका निमित्त अवैध नाकाबाट हुने भारतीय सामानको चोरी पैठारी रोक्न अत्यन्त जरुरी रहेको भन्दै यसका लागि सम्बन्धित निकायमा पहल गरीदिन उनीहरूले बजार समितिका अध्यक्ष सुनार समक्ष माग गरेका हुन ।
ज्ञापन पत्र बुझ्दै कालिका बजार व्यवस्थापन समितिका अध्यक्ष सुनारले कालिका बजारका पचहत्तर प्रतिशत भन्दा बढी व्यापारीहरुले चोरी पैठारीबाट आएको तस्करी सामान विक्री गरीरहेको खुलासा गर्नुभयो । उहाँले व्यापारीहरुको माग सम्बन्धित निकाय सम्म पुर्‍याउने जिम्मेवारी आफुले पूरा गर्ने तर चोरी पैठारी रोक्न सर्वप्रथम बजारका व्यापारीहरु नै सजक हुन जरुरी रहेको बताए ।
अध्यक्ष सुनारले बजारका आधा भन्दा बढी व्यापारी नै तस्करीमा संलग्न रहेको भने पछि व्यापारी नवराज लामिछाने र धनलाल मोक्तानले चोरी पैठारीका सामान विक्री गर्ने व्यापारीको नामै किटान गरेर भन्दा राम्रो हुने र यसरी नखुलाई भन्दा ईमान्दार व्यापारीलाई समेत असर पर्ने बताए ।
लकडाउन खुकुलो भएसंगै पुनर्वास-बेलौरीका अवैध सिमा नाका प्रयोग गरेर तस्करहरुले रातारात करोडौंका मालसामान भित्र्याउन थालेपछि पुन: पुनर्वास-बेलौरी क्षेत्रका व्यापारीहरुको व्यापार खस्किने भएका कारण सिमामा हुने चोरी पैठारीलाई पुर्ण रुपमा रोकिदिन व्यापारीहरुले उद्योग वाणिज्य संघ, नगरपालिका र सुरक्षा निकायलाई समेत अनुरोध गरेका छ्न ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.