साउन ४ देखि ८ गतेसम्म भारी वर्षा हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ — आगामी साउन ४ गतेदेखि ८ गतेसम्म मुलुकका केही भागमा भारी वर्षा हुनसक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले अहिलेसम्मको पूर्वानुसार त्यस अवधिमा मुलुकका अधिकांश ठाउँमा पानी पर्ने जनाएको भन्दै प्राधिकरणले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।
विभागले साउन ४ गतेदेखि ८ गतेसम्म मुलुकका धेरैजसो ठाउँमा हल्कादेखि सामान्य र कतिपय ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ । यसले पहाडी क्षेत्रका केही स्थानमा पहिरो र तराईका कतिपय ठाउँमा बाढी तथा डुबानको सम्भावना भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले विपद् व्यवस्थापनमा संलग्न सुरक्षा निकायहरुलाई उद्धार तथा राहतका लागि तैनाथी अवस्थामा राखिएको बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागले मौसमी प्रणालीको विश्लेषण गर्दा प्रदेश नम्बर १, प्रदेश नम्बर २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षा हुन सक्ने बताएको छ । कर्णाली तथा सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने र धेरैजसो ठाउँमा हल्कादेखि मध्यमस्तरको वर्षा हुने पनि विभागले जनाएको छ । देशका एक दुई ठाउँमा अति भारी वर्षा हुने पूर्वानुमान गरिएको र पाँच दिनसम्म पर्ने यो पानीले देशभरमा साना–ठूला नदीहरुको जलसतह पनि उल्लेख्य रुपमा बढ्ने विभागले जनाएको छ । केही नदीले सतर्कता तहसमेत पार गर्ने सम्भावना रहेको छ ।
मनसुन सुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका अधिकांश भूभाग गलिसकेकाले अब पानी परे त्यस क्षेत्रमा पहिरोको सम्भावना रहेको उल्लेख गर्दै प्राधिकरणले नदी किनारा एवम् पहिरोको आसपासमा बसोबास भएका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.