पुनर्वासको क्वारेन्टाइनमा खटिएका सशस्त्र प्रहरीमाथि एक युवकको आक्रमण

दैनिकै सुरक्षाकर्मीमाथि स्थानीयको आक्रमण बढ्दो

हरिलाल जोशी 
पुनर्वास , ३२ जेठ – केही दिन यता सुरक्षाकर्मीहरुमाथि आक्रमणको क्रम बढिरहदा कंचनपुरको पुनर्वासमा क्वारेन्टाइनमा खटिएका सशस्त्र प्रहरीमाथि एक युवकले आक्रमण गरेका छन् ।
आईतवार दिउसो करिब साढे तीन बजेतिर पुनर्वास नगरपालिका-१० , भिमबस्ती स्थित विजय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा खटिएका दुई जना सशस्त्र प्रहरीहरुमाथि स्थानीय रमेश खड्काले आक्रमण गरेका हुन् ।
स्थानीय रमेश खड्काले क्वारेन्टाइन भित्र सामान फालेको देख्दा किन फालेको भनेर सशस्त्र प्रहरीले सोध्दा एक्कासी क्वारेन्टाइन भित्र बर्दि सहित सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवान निराजन सिंह र हरि भाटमाथि ईट्टा प्रहार गरि गाली गलौच गर्दै झम्टिएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताए ।
सशस्त्र प्रहरीलाई आक्रमण गर्ने युवक १४ दिन सोही क्वारेन्टाइनमा बसेर होम क्वारेन्टाइनमा पठाएको वडाध्यक्ष शुकदेव रानाले बताए ।
तर होम क्वारेन्टाईनका लागि पठाएपनी गाउँभरी नै डुल्ने गरेको विषयमा आफुहरुलाई केही दिन अघि स्थानीयले खबर गरेको सशस्त्र प्रहरी बल ,आउट पोष्ट बिकासबस्तीका सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र सिंह चैसिरले जानकारी दिए ।
आक्रमण पश्चात् सो युवकलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा लगि प्रहरी हिरासतमा राखिएको सशस्त्र प्रहरी निरीक्षक चैसिरले बताए ।
सशस्त्र प्रहरी निरीक्षक चैसिरका अनुसार आक्रमण गर्ने सो युवक माथी भोलि सार्वजनिक मुद्दा दर्ता गरिने जानकारी दिए ।
त्यस्तै शनिबार राती पनि पुनर्वास-११ टाउकेबजार नजिकै पचकडिया प्रहरी चौकीका हवल्दार करन भण्डारी माथी पनि आक्रमण भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिंहले जानकारी दिए ।
प्रहरी निरीक्षक सिंहका अनुसार पुनर्वास-११ का वडाध्यक्ष विनोद अर्यालले पचकडिया प्रहरी चौकीका असईलाई फोन गरेर धनगढी घर बताउने मानसिक सन्तुलन ठिक नभएकी महिला टाउके बजार नजिकै रहेकोे र उनलाई धनगढी पुर्‍याउने वातावरण गरिदिन अनुरोध गरेको बताए । तत्पश्चात प्रहरी हवल्दार सो महिलाको उद्दारका लागि टाउकेबजार पुग्दा उनी माथी र मोटरसाइकलमाथि नै सोही ठाउँका दिनेश तामाङ र शंकर तामाङले आक्रमण गरेको प्रहरी निरीक्षक सिंहले बताए ।
आक्रमण गर्ने दुवैलाई नियन्त्रणमा लिई आईतवार सार्वजनिक मुद्दा दर्ता गरि जिल्ला प्रहरी कार्यालय कंचनपुर पठाएको पनि प्रहरी निरीक्षक सिंहले बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.