सोती घटनाका पीडितलाई युके सृजनशील नेपालद्वारा तीन लाख सहयोग
रञ्जित लामा
भेरी, २४ जेठ । सोती घटनाका पीडितलाई सृजनशील नेपाली समाज युकेले शनिबार तीन लाख आर्थिक सहयोग गरेको छ ।
समाजसेबी लालबहादुर नेपाली र शीला नेपालीले आर्थिक सहयोग कार्यक्रमको आयोजना गरी पीडितका आफन्तहरुलाई जनही ५० हजारको दरले तीन लाख रकम हस्तान्तरण गरेका हुन् ।
यो तीन लाख रकम पहिलो चरणको हो, आवश्यक परे अरु आर्थिक सहयोग गर्न सृजनशील नेपाली समाज युके तयार रहेको समाजसेबी लालबहादुर नेपालीले जिकिर गरे । आफ्नो अनुरोधलाई स्वीकार गरेर सहयोग गर्नु हुने सृजनशील नेपाली समाज युकेका पूर्ब अध्यक्ष शेर सुनार, अध्यक्ष भक्त दर्जी र सम्पूर्ण साथीहरुलाई उनले आभारसमेत प्रकट गरेका छन् ।
सो कार्यक्रमका सुत्रधारसमेत रहेका भेरी नगरपालिकाका नगरप्रमुख सी.पी. घर्ती मगरले यो रकमले पीडित परिवारलाई केही राहत मिल्ने बताउँदै सोती घटनालाई २१ औ सताब्दीको मानव सभ्यताको कलंकित घटनाको रुपमा परिभाषित गरेका छन् । उनले भनेका छन् “संबिधान र कानून अनुरुप दोषीहरुलाई हदैसम्मको कारबाही हुनुपर्छ ।”
जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती घटनामा नवराज विक, सञ्जु विक, लोकेन्द्र सुनार, गणेश बुढामगर, टीकाराम नेपाली र गोविन्द शाहीले ज्यान गुमाएका थिए । यस घटनामा संलग्न युवती, उनका बुबाआमा, वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
Comments are closed.