नेपाल प्रेस युनियनको स्थापना दिवसमा पुनर्वास बेलौरीका सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री बितरण

रञ्जित लामा
पुनर्वास १३ जेठ । नेपाल प्रेस युनियनको २९ औं स्थापना दिवसको अवसरमा पुनर्वास बेलौरीका सञ्चारकर्मीहरुलाई मंगलबार स्वास्थ्य सामग्री बितरण गरेको छ ।
नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आफ्नो स्थापना दिवसको अवसर पारेर कञ्चनपुरको पुनर्वासमा एक कार्यक्रमको आयोजना गर्दै पुनर्वास बेलौरीका कृयाशील सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री बितरण गरेको हो ।
कोरोना भाइरस (कोभिड १९) विरुद्धको लडाईमा अग्र भागमा काम गरिरहेका सञ्चारकर्मीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पुनर्वास बेलौरीका ९ जना कृयाशील सञ्चारकर्मीहरुलाई सेनिटाइजर, मास्क र ग्लब बितरण गरिएको नेपाल प्रेस युनियन कञ्चनपुर शाखाका उपाध्यक्ष किशोर तामाङले जानकारी दिए । “कञ्चनपुरको दक्षिणी क्षेत्रमा आफ्नो ज्यू ज्यानको पर्वाहा नगरी आफ्ना धर्म निर्वाह गरिरहेका पत्रकार साथीहरुलाई आजको बितरण सामग्रीले थप हौसला प्रदान होस् भन्ने चाहन्छु ।” उनले भने–“यस क्षेत्रका आम नागरिकलाई समाचार र सूचना सम्प्रेषण गरिरहेका सञ्चारकर्मीको संक्रमणको जोखिमप्रति पनि सरकार गम्भीर हुन जरुरी छ ।”
सो कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मीन बमको प्रमुख आतिथ्य एबं नेपाल प्रेस युनियन कञ्चनपुर शाखाका उपाध्यक्ष किशोर तामाङको सभाध्यक्षता रहेको थियो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै केन्द्रीय सदस्य मीन बमले “यस्तो विषम परिस्थितिमा पनि जनतालाई सूचना, समाचार र सन्देश प्रवाह गर्न फ्रन्ट लाइनमा उभिएका सञ्चारकर्मीलाई सरकारले कुनै पनि किसिमको राहत प्याकेज ल्याउन नसक्नु निक्कै दुःखद कुरा भएको बताए ।” तीस वर्षको पञ्चायती शासन वा भनौं २०४६ को जनआन्दोलन सफल गराउन सञ्चार माध्यमको ठूलो हात छ, त्यसैले प्रजातन्त्र प्राप्तीको लागि सञ्चार माध्यमले गरेको अतुलनीय भूमिकालाई सरकारले भुल्नु हुँदैन ।” बमले भने “यसरी बिभिन्न कालखण्डमा सहयोद्धाको भूमिका निर्वाह गर्ने सञ्चार माध्यमहरुको पीरमर्काप्रति पनि सरकार अबिलम्ब गम्भीर हुन आवश्यक छ ।”
सो कार्यक्रममा नेपाल प्रेस युनियन कैलाली शाखाका अध्यक्ष श्रवण देउबा, पत्रकार पुष्पराज जोशीलगायतको उपस्थिति रहेको थियो ।
नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेश पार्षद दीपेन्द्र बस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन शाखाका सदस्य जुद्ध चौधरीले गरेका थिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.