कञ्चनपुरको डोकेबजारमा र्‍यापिड टेस्ट गर्दा १३ जनाको नतिजा पोजेटिभ

हरिलाल जोशी 
पुनर्वास, ८ जेठ । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड–१९ परीक्षण गर्दा कञ्चनपुरको डोकेबजारमा १३ जनाको नतिजा पोजेटिभ देखिएको छ ।
बिहीवार भारतबाट गौरीफण्टा नाका हुँदै २ हजार १४ जना नेपाल भित्रिएका मध्ये १३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
कोरोना पोजेटिभ १३ जना मध्ये एक जना पुनर्वास नगरपालिकाको पुरुष रहेको प्रहरीले जनाएको छ ।
आरडीटी पोजेटिभ पछि उनीहरुलाई सेती प्रादेशिक अस्पताल धनगढीको आईसोलेसन कक्षमा लगिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका अनुसार आरडीटी पोजेटिभ देखिएका पुनर्वासका पुरुष भारतको दिल्लीबाट बसको यात्रा गरी गौरीफण्टा नाका हुँदै डोकेबजार पुगेको जानकारी दिए ।
बिहीवार मात्रै गौरीफण्टा नाका हुँदै नेपाल भित्रिएका २ हजार १४ जना नेपाली मध्ये कञ्चनपुरका १ सय ३८ जना हुन भने पुनर्वास नगरपालिकाका ३३ जना रहेको प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए ।
पुनर्वासमा आएका ३३ जनामध्ये १४ जना वडा नम्बर–१० को क्वारेन्टाइन, ५ जना वडा नम्बर–११ को क्वारेन्टाइन र बाँकी १४ जना पुनर्वास–६ को जीवनज्योती क्वारेन्टाइनमा राखिएको पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले जानकारी दिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.