धनगढीमा लाखौंको धनमालसहित एक कुख्यात चोर पक्राउ

रञ्जित लामा 
धनगढी, ९ जेठ । कैलालीको धनगढीमा लाखौंको धनमालसहित बिहीबार प्रहरीले एक जना कुख्यात चोरलाई पक्राउ गरेको छ ।
चोरी भएको २ वटा कार, मोबाइल तथा नगद सहित बिहीबार कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका–१ बसन्तटोलका १६ वर्षीय नबिन सार्कीलाई पक्राउ गरेको हो ।
चोरी भएका बा.८च २१०० र बा.१४च ४७८१ नम्बरको दुई थान कार, कारबाट चोरी भएका नगद १२ हजार ४ सय ७० रुपैयाँ, कारमा रहेका विभिन्न कागजातहरु र दुई ओटा मोबाईल सार्कीबाट बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
गत शनिबार रातीे धनगढी उपमहानगरपालिका–४ उतरबेहडीका राजेन्द्रबहादुर मल्लको बा.८च २१०० नम्बरकोे कार घरको पार्किङ स्थलबाटै चोरी भएको र गत बुधबार राती सोही ठाउँका रबिन्द्रदेव भट्टको होन्डाई कम्पनीको बा.१४च ४७८१ नम्बरको गाडी पनि घरको पार्किङ स्थलबाटै चोरी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
जिल्ला दाङ तुल्सिपुर नगरपालिका–५ न्युरोड टोल घर भई हाल धनगढीको बसन्तटोल बस्दै आएका सार्की बिगतमा पनि बिभिन्न चोरीको घटनाहरुमा संलग्न रहदैआएको अनुसन्धानमा खुलेको छ । सार्कीको नाममा महानगरीय प्रहरी वृत महाराजगंज काठमाण्डौं र इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङमा मोटरसाइकल चोरी र जिल्ला प्रहरी कार्यालय दाङमा कार चोरीको मुद्धा दर्ता रहेको र सार्कीमाथि धनगढीबाटै दुई ओटा २२० सिसिको पल्सर र दुई ओटा स्पेलेन्डर मोटरसाईकल चोरीको आरोप लागेको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.