सीमाबाट कैलालीदेखि झापासम्मका ८ सय ५५ नेपालीको उद्धार

गैरीफण्टा नाकाबाट स्वदेश फर्किन खुकुलो भन्ने भारतमा हल्ला चलेपछि नेपालीहरु सीमामा आउने क्रम बढ्दो

हेल्लो समाचारदाता 
धनगढी, ८ जेठ । भारतका बिभिन्न ठाउँमा अलपत्र परेका ८ सय ५५ जना नेपाली नागरिकहरुलाई बुधवार राती कैलालीको त्रिनगरभन्सार नाकाबाट उद्धार गरिएको छ ।
अलपत्र परेका नेपालीहरु सीमामा प्रवेश खुकुलो पारेको सुनेपछि पैदल र बिभिन्न सवारी साधनबाट सीमामा पुगेका थिए । उनिहरुलाई धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको टोलीले उद्धार गरेर धनगढीको नवदुर्गा मा.वि., कवडहल र कैलाली बहुमुखी क्याम्पसमा राखिएको छ ।
राती २ बजे उद्धार गर्ने काम भयो नगरप्रमुख नृपबहादुर वडले भने, यहाँबाट उनीहरुको पहिचान गरेर सम्बन्धित ठाउँमा पठाउने ब्यबस्था भैराखेको छ । उद्धार गरिएकाहरुको ठेगाना खुलाउने, रेकर्ड राख्ने काम जिल्ला प्रशासन कार्यालय कैलालीले गरिरहेको नगरप्रमुख वडले बताए । कतिपयले राती २ बजेसम्म किन नगरप्रमुखले सीमामा गएर उद्धार गर्नु प¥यो भनिरहेका छन् नगरप्रमुख वडले भने, जसले उद्धार गर्नुपर्ने हो त्यो सरकारले वास्ता नगरेपछि मानवीयताका हिसावमा मात्रै सबै काम गर्नुपर्ने अवस्था आएको हो । जिल्ला प्रशासन कार्यालय प्रशासकीय अधिकृत शिवराज जोशीले उद्धार गरिएका ब्यक्तिहरु यस प्रदेशका मात्रै नभएर झापासम्मका रहेको बताए । उनले भने, जिल्ला पहिचान गर्ने काम गरिरहेका छौं प्रशासकीय अधिकृत जोशीले भने, त्यसपछि स्थानीयतह पहिचान गरेपछि सम्बन्धित स्थानीयतहसँग समन्वय गरेर पठाईने छ ।
त्रिनगर भन्सार नाकाबाट नेपालीहरुलाई स्वदेश फर्किन खुकुलो गरेको छ भन्ने हल्ला भारतमा रहेका नेपालीहरुसम्म पुगेको रहेछ धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत लक्ष्मी उपाध्यायले भने, त्यसैले देशभरीका ब्यक्तिहरु यहीबाटो भित्रिरहेका छन् । ‘भारतमा एक राज्यबाट अर्को राज्य जान खुकुलो बनाएपछि नेपालीहरु सीमामा आउने क्रम बढेकोे हुनसक्छ, उपाध्यायले भने, भारतीय पक्षले क्वारेन्टाइनबाट नेपालीलाई घर जान अनुमति दिएकाले पनि हूलकाहूल नेपाली भित्रिन थालेका छन् ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.