हावाहुरीले उडाएको शक्तिसिंह सुतार कार्कीको सपना

रञ्जित लामा
पुनर्वास, २ जेठ । आज भन्दा करिब छ वर्ष अगाडि पुनर्वासको शैक्षिक क्षेत्रमा जग थप्ने अभिप्रायले रिटच बोर्डिड स्कूल स्थापना गरेर होमिएका ३५ वर्षीय शक्तिसिंह सुतार कार्की यतिबेला एका एक हावाहुरीका कारण निराश बनेका छन् । आइतबार राती गएको भीषण हावा हुरीले कार्कीको पुनर्वास नगरपालिका–३ स्थित १२ कोठे विद्यालयमा क्षति पुगेपछि उनको शिक्षाको क्षेत्रलाई उज्ज्वल्याउने हौसला पनि बिस्तारै निभ्दै गएको छ । गर्न सक्ने र गर्न मिल्ने अरु थुप्रै बिकल्पहरु हुँदाहुँदै पनि शैक्षिक क्षेत्रलाई ब्यापक बनाउँने उनको दृढ संकल्पलाई प्राकृतिक कठोरताले यतिखेर चकनाचूर बनाएको छ । जीवनमा धेरै निर्णयहरु लिएर हरेक क्षेत्रमा अब्बल साबित हुँदै आएका उनलाई प्रकृतिले देखाएको यो क्रुरताले शैक्षिक क्षेत्रमा होमिएकोमा जीवनमा पहिलो पटक कता कता पछुतो महशुस हुदैछ । जिन्दगीमा आफ्नो लागि मात्रै गर्नु भन्दा गाउँ, समाज र सिंगो पुनर्वासको शैक्षिक धरातललाई अझ ब्यापक र अझ सशक्त बनाउँने उनको सपनालाई आइतबार गएको हुरीले निर्ममतापूर्बक उडाएको छ ।
३ वर्षदेखि भाडामा सञ्चालन हुँदै आएको विद्यालय बैंक र बिभिन्न संघ संस्थाबाट ऋण दान गरी करिव २ वर्ष अघि निर्मित भवनको खुशी पनि राम्ररी साट्न नपाउँदै यतिखेर प्राकृतिक बज्रपातले उनलाई रुनु र हाँस्नुको दोसाँधमा ल्याएर उभ्याएको छ । पुन निर्माणको लागि उनी जति चिन्तित छन् त्यो भन्दा बढी कक्षा १ देखि ८ सम्म अध्ययनरत् २ यस ३४ जना विद्यार्थीको भविष्यप्रति उनी चिन्तित भएको उनको अधरमा छरपष्ट देखिन्थ्यो । करिब साँढे ९ लाख बराबरको क्षतिको अनुमान गर्दै उनी बेला बेलामा रन्थनिन्थ्यो भने प्रकृतिले चीरा पारेका भित्ताहरु र कुच्चिएका टीनका जस्ताहरु देखाउदै क्षतिको मुचुल्का तयार पार्न आएका प्रहरीलाई राम्ररी हेरेर मुचुल्का तयार पार्न उनी अनुरोधसमेत गर्दथे । कहिले झोलाबाट भवन निर्माण प्रमाणीकरणको प्रमाण पत्र झिक्दै सरकारलाई दिएको कर र सरकारको अभिभाकत्व सम्झदै सरकारबाट क्षतिपूर्ति पाउँने आशमा उनी बेला बेलामा सरकारी निकायहरुलाई सम्झन्थे भने क्षतिपूर्ति पाउँने प्रकृया र समयावधिका बारे पनि उनी निक्कै उत्सुक र जिज्ञासु पनि देखिन्थे ।
१२ ओटै भवन एउटा पनि बाँकी नराखी प्रकृतिले क्षतविक्षत बनाएपछि प्रकृतिको उग्ररुपलाई सराप्नु बाहेक उनी अरु के नै गर्न सक्थ्यो र । आइतबार राती आएको प्रकृतिको बितण्डा र ताण्डब कत्ति थियो भन्ने कुरा उनको चिरा परेका भित्ताहरु र धुजा धुजा भएका जस्ता पाताहरुलाई हेरे पुग्दथ्यो । प्रकृतिको बिनाशकारी रुपलाई सम्झिएर बिलौना गर्नु भन्दा बरु आफ्नो अभिभावक सरह सरकारलाई सम्झन उनी बढी मानसिब ठान्दथे भने सरकारले क्षतिपूर्ति देला कि नदेला, दिए कत्ति देला, कहिले देला भन्ने विषयमा पनि उनी सशंकित देखिन्थे । प्रकृतिले उनलाई दिएको पीडा कत्ति थियो कुन्नी थाहा भएन तर उनको छटपटीको हाउभाउ र कृयाकलापले यस्तो लाग्थ्यो मानौ आइतबार राती गएको हावाहुरीको प्रकोप केबल उनकै विद्यालयमै आएर खसेजस्तो लाग्थ्यो ।
यो घटना त एउटा प्रतिनिधि घटना मात्रै हुन् प्राकृतिक बितण्डाले कयौंको जीवन यस्तै बनाएको छ । घरको छाना उडाएका कारण अन्नपात र लत्ता कपडा भिजेर आम जनताको दैनिक कष्टपूर्ण बन्ने कुरा हामीमाझ छलंग छ तर उनीहरुले सरकारले घोषणा गरेको राहत पाउन त परै जावोस त्रिपाल समेत नभएर दिउँसो चर्को घाम र राती खुल्ला आकाश मुनीको बास बस्न बाध्य हुने कुरा पछिल्लो घटनाक्रमले स्पष्ट पारेको छ । प्राकृतिक प्रकोपलाई रोक्न नसके पनि प्रकोपपछिको यथोचित राहत र क्षतिपूतिले प्रकृतिले दिएको शक्तिसिंह सुतार कार्की जस्ताको घाउमा मलहम भने अवश्य लाउन सकिन्थ्यो ।

हेर्नाेस् भिडियो

Facebook Comments
Down to post ads-480-38

Comments are closed.