बेलौरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वमा चौधरी र साउद प्यानलको रस्साकस्सी

हेल्लो समाचारदाता

बेलौरी , १२ मङ्सिर – बेलौरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि सत्ताधारी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको प्यानल रस्साकस्सीका साथ चुनावी मैदानमा उत्रेका छन् ।

बेलौरी उद्योग वाणिज्य संघको दोस्रो कार्यकारणी समिति चयनका लागि १५ मंसिरमा निर्वाचन हुँदैछ । वाणिज्य संघ बेलौरीको नयाँ नेतृत्वको लागि नेकपा र काँग्रेस दुई प्यानल चुनावी मैदानमा उत्रेका छन् । बेलौरी नगरपालिका क्षेत्रका व्यवसायी संघको निर्वाचनमा दलगत रुपमा विभाजित भएर चुनावी प्रतिस्पर्धामा उत्रेका हुन् ।

 

(नेकपा) र काँग्रेस दुवै प्यानलबाट संघको अध्यक्षका लागि दुवै पुरानै अनुहार देखिएका छन् । विवेकसिल साझा पार्टीका नेता समेत रहेका बेलौरी उद्योग वाणिज्य संघका निर्वतनमा अध्यक्ष लक्ष्मी नारायण चौधरी काँग्रेस प्यानलबाट पुनः संघको अध्यक्षका लागि चुनावी मैदामा आएका छन् । भने, संघका पुर्व अध्यक्ष टेक बहादुर साउद पनि फेरी संघकै अध्यक्षका लागि पुनः चुनावी मैदामा उत्रेका हुन् ।

 

दुवै प्यानलले बिहीबार उम्मेदवारी दर्ता गराएर चुनावी मैदामा उत्रेका छन् । १५ पदका लागि  दुवै प्यानलका ३० र एक जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत लक्ष्मण प्रशाद खरेलले ७ पदाधिकारी, ८ सदस्यका लागि ३१ जनाले उम्मेदवारी दिएको बताए ।

 

उनका अनुसार अध्यक्षमा टेक बहादुर साउद र लक्ष्मी नारायण चौधरी सहित ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ९५२ मतदाता रहेको बेलौरी उद्योग वाणिज्य संघको निर्वाचनमा मतदानको समय बिहान ८ बजेदेखि ४ बजेसम्म निर्धारण गरिएको छ ।

 

बरिष्ठ उपाध्यक्षमा नेकपाको प्यानलबाट हिरासिह विष्ट, काँग्रेस प्यानलबाट प्रकास राज पन्त, उद्योग उपाध्यक्षमा काँग्रेस प्यानलबाट जनक बहादुर चौधरी, नेकपाका प्यानलबाट विजयालक्ष्मी श्रेष्ठ र एक मात्रै स्वतन्त्र उम्मेदवार खडक शाहले उम्मेदवारी दर्ता गराएका छन् ।

 

वाणिज्य उपाध्यक्षमा नेकपा प्यानलबाट जलबिर चौधरी, काँग्रेसका प्यानलबाट रघुबिर भण्डारी, महासचिवमा काँग्रेसका प्यानलबाट दुलारे राना, नेकपा प्यानलबाट शिवराज कडेल, सचिवमा नेकपा प्यानलबाट रिता चौधरी, काँग्रेस प्यानलबाट चन्द्रकला चन्द र कोषाध्यक्षमा काँग्रेस प्यानलबाट राज बहादुर चौधरी र नेकपा प्यानलबाट अमित भट्टराई चुनावी मैदानमा उत्रेका हुन् ।

 

नेकपा प्यानलबाट सदस्यमा बिक्रम चौधरी, हिलेन्द्र राना, हरि प्रशाद कडेल, राम किसन राना, महेन्द्र बुडाल, टेक ब. शाही, जोगराम चौधरी, धनराज सुवेदी(लच्छु)ले उम्मेदवारी दर्ता गराएका छन् । भने काँग्रेस प्यानलका तर्फबाट चेपुराम चौधरी, अच्युत प्रशाद थपलिया, बसन्त पुन मगर, केशव शाही,  बुद्धिराम चौधरी, महेशराज जोशी, बिरेन्द्र बहादुर शाही ( बिरु ), रमेश चौधरी र धनीराम राना उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा उत्रेका छन् । उम्मेदवारी दर्ता गराएसंगै दुवै प्यानल व्यवसायीलाई रिझाउदै मत मागिरहेका छन् ।

 

व्यवसायिक हकहितमा काम गर्छु : (लक्ष्मी नारायण चौधरी) काँग्रेस प्यानल अध्यक्षका उम्मेदवार 

 

बेलौरी उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष समेत रहेका लक्ष्मी नारायण चौधरीले व्यवसायिक हकहितका लागि काम गर्ने बताएका छन् । दक्षिणी क्षेत्रका व्यवसायी, उद्योगीका थुप्रै समस्या रहेकाले उनीहरुको हकहितमा काम गर्दै व्यवसायिक सुरक्षा गर्नका लागि पुनः बेलौरी उद्योग वाणिज्य संघको उम्मेदवारी दिएको चौधरीले रेडियो सुदूर सञ्चारसंगको कुराकानीमा बताए ।

 

 

उनले भौतिक पुर्वाधार एवम् नाका समेत नरहेको बेलौरी लगायत दक्षिणी क्षेत्रका व्ययसायी उद्योगीका थुप्रै समस्या भएकाले त्यसको निराकरण गर्दै व्यवसायीलाई बढि भन्दा बढि सुविधा दिलाउने संकल्प रहेको बताए ।

 

बेलौरी नाका स्तरोन्नती गर्छु : (टेक बहादुर साउद) नेकपा प्यानल अध्यक्षका उम्मेदवार 

 

यसअघि पनि बेलौरी उद्योग वाणिज्य संघको अध्यक्ष भईसकेका नेकपाको प्यानलबाट अध्यक्षका उम्मेदवार टेक बहादुर साउदले बेलौरी नाका स्तरोन्नती गर्ने एजेण्डा अघि सारेका छन् ।  ‘प्रदेशकै मुटुको रुपमा रहेको नाका बेलौरी हो, ‘उनले भने, ‘यो नाकाको विस्तार गर्न सके सिङ्गो प्रदेशकै लागि फलिफाप हुन्छ ।’

 

 

आफु विगतमा अध्यक्ष हुँदा पनि बेलौरी भन्सारको स्तरबृद्धिका लागि पहल गरेको र अहिले पनि बेलौरी भन्सारको स्तरबृद्धि गरेर दुवैतर्फ भन्सार बनाएर व्यापार पारवहन बृद्धि गर्ने बताए । व्यवसायिक हकहितका साथै भन्सार नाका विस्तार गर्ने आफ्नो संकल्प भएकाले पुन: बेलौरी उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिएको साउदले बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.