कञ्चनपुरमा गाडीको ठक्करबाट एकजनाको मृत्यु

हेल्लो समाचारदाता
कंचनपुर – कञ्चनपुरमा गाडीको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर २ बन्दी नदी नजिकै गएराती नम्बर नखुलेको गाडीले ठक्कर दिदा स्थानीय ३० वर्षीय रामबहादुर रोकायाको मृत्यु भएको हो।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले कृष्णपुरमा काकाको घरमा बस्दै आएको रोकायालाई ठक्कर दिदा घाईते भई उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जनाएको छ। यस्तै सोही गाडीले ठक्कर दिदा पैदल यात्री महाकाली नगरपालिका २ का रामबहादुर ठगुन्ना पनि घाईते भएका छन्।
उनले वाणीको स्थानीय मेडिकलमा उपचार भईरहेको प्रहरीले जनाएको छ। यसैबिच स्थानीयले पैदल यात्रीलाई ठक्कर दिने गाडीको तत्काल खोजी गरी कारवाही र मृतकका परिवारलाई क्षतीपूर्तीको माग गर्दै राजमार्ग अवरुद्ध पारेका छन्।
आज बिहान पौने आठ बजेदेखि उनीहरुले पूर्वपश्चिम राजमार्गको वाणी खण्ड अवरुद्ध पारेको प्रहरीले जाएको छ। तर अहिले भने राजमार्ग सूचारु भएको छ। उनीहरुका मागका विषयमा छलफल भईरहेको छ। सहमती नभएमा फेरी राजमार्ग अवरोध गर्ने चेतावनी स्थानीयले दिएका छन्।
Comments are closed.