रमझम मात्र होइन दसैं : यसको मर्म बुझौं

नेपाली संस्कृति भित्र हामी वर्षभरी नै छुट्टा छुट्टै किसिमका पर्वहरु मनाउने गरेका छौं । हाम्रा अधिकांश पर्वहरु कृषि सभ्यतासँग सम्बन्धित रहेका छन् । जतिबेला हामीहरुबीच परिवार र समाजको भावना विकास भयो, त्यतिबेलादेखिका हाम्रा परम्पराहरु अहिलेसम्म पनि चलिआएका छन् ।

नाम र शैली बदलिए पनि यस्ता पर्व एवं संस्कृतिहरु हामीहरुले अहिलेसम्म चलिआएको छ । जसका कारण हामीहरु ऋतु अनुसार भिन्दाभिन्दै किसिमका पर्वहरु मनाउने गरेका छौं ।

झण्डै ६ हजार वर्ष पहिलेदेखि सुरु भएको प्रमाण भेटिएको हाम्रा पूर्वीय सभ्यतामा कैयौं पर्वहरु त्यतिबेला देखि नै चलिआएका समेत छन् । कैंयौं पर्व त त्यतिबेलादेखि खासै धेरै परिष्कृत नभएको भएपनि पछिल्लो समय तीब्र रुपमा परिष्कृत भएको समेत पाईन्छ । सांस्कृतिक संक्रमणको प्रभावस्वरुप हाम्रा पर्वहरु मनाउने शैलीमा धेरै हदसम्म परिवर्तन भईसकेको छ ।

सडकमा मनाउने जात्राहरुदेखि, खेतमा खेल्ने हिलेरोपाई पर्व हुँदै सुकिलोमुकिलो भएर मनाईने दसैंसम्मका पर्वहरुलाई हामीले अहिलेसम्म पनि निरन्तरता दिईरहेका छौं । तर, हामीले मनाउने शैली र यसको प्रक्रियामा भने निकै परिवर्तन भईसकेको छ । वैज्ञानिक आधारमा पनि निकै महत्वपूर्ण मानिएका यी पर्वहरुलाई निरन्तरता दिनको लागि भगवानसँग जोडेर यसको महत्वबारे व्याख्या गर्ने गरिएको छ ।

असार महिनामा भूमिपूजा गरेर खेतमा रोपाई सुरु गर्ने हामीहरु भूमिपूजा गरेर नै मंसिरमा धान भित्र्याउने गरिन्छ । यस्ता पर्वहरुलाई जतिबेलासम्म हामीले धार्मिक उपजको रुपमा मानेर निरन्तरता दियौं, त्यतिबेलासम्म यो एउटा रुढ एवं कट्टर परम्पराको रुपमा मान्ने गरिन्थ्यो । त्यतिबेलासम्म हामीहरु यो पर्व मनाउने तरिकामा संशोधन गर्न हच्किने गरेका थियौं ।

तर, धर्मलाई भन्दा सामाजिक चालचलनको रुपमा यी परम्पराहरुलाई मान्न थालेपछि हाम्रा धेरै संस्कारहरु परिष्कृत हुन थालेका छन् । जसले गर्दा बिस्तारै–बिस्तारै यी परम्पराहरु एवं संस्कारहरु लोप हुने हुन् कि ? भन्ने चिन्ता जानकारहरुले गर्ने गरेका छन् ।

विभिन्नशास्त्र एवं शास्त्रज्ञाताहरुको कुरालाई आधार मान्ने हो भने अहिले चलिरहेको नवरात्रको परम्परा प्राचीनकालमा निकै कट्टर स्वरुपको थियो । जैन धर्मको दिगम्बर सम्प्रदायका सन्त आचार्य विमल सागरले पछिल्लो समय नवरात्र पनि व्यवसायिकतामा फसेर परिष्कृत बन्दै गएकोमा चिन्ता जाहेर गर्छन् । अहिलेको नवरात्रको पूजनमा जुन किसिमको परिवर्तन आएको छ । यसले केवल हिन्दू संस्कृतिलाई मात्रै चुनौती थपेको छैन । जैनहरुको लागि समेत यसले चुनौती थपेको उनको बुझाई छ ।

उनका अनुसार प्राचीनकालमा नवरात्र केवल दूर्गापूजा र साधनाको हिसाबले मात्रै महत्वपूर्ण थियो । शारदीय नवरात्र र वसन्तीय नवरात्र दुबैमा भव्य रुपमा दूर्गा पूजाको आयोजना गरिन्थ्यो । यस्ता आराधनाहरुको समयमा अहिलेजस्तो पार्टी र कन्सर्ट गराउने गरिएको थिएन । महिला र पुरुषहरुले एक आपसमा स्पर्श समेत गर्ने गरेका थिएनन् । कुनैपनि दुव्र्यसनलाई त्यागेर मानिस शुद्ध हुने कोशिस गर्दथे । यसले गर्दा भक्तहरुको मन पनि शान्त बन्ने गरेको थियो ।

नेपालमा अहिले चैत्र महिनाको नवरात्रि मनाउन छाडिएको छ । नेपाली भाषामा यसलाई चिनाउनुपर्दा असोजको दसैंलाई ठूलो दसैं र चैतकोलाई सानो दसैंको नामले चिनिन्छ । नवरात्रि मनाउने शैलीमा त अहिले आकाश जमिनको भिन्नता आईसकेको छ ।

परम्परागत समयमा जे कुरा प्रतिबन्धित थियो । त्यो कुरा अहिले मूल खानाको रुपमा विकास भईसकेको छ । देवी आराधनालाई चटक्कै बिर्सिइसकेका छौं । यी दुबै दसैं दूर्गा आराधनाको लागि उत्तम समय मानिन्छ । चैत महिनामा आउने नवरात्रि त धेरैलाई थाहा पनि हुँदैन । असोजको नवरात्रि एवं ठूलो दसैंमा समेत प्रतिबन्धित सबै कुराहरु हामी गर्न थालिएको छ ।

हुनत: दसैं अहिले धार्मिकभन्दा पनि सामाजिक पर्वको रुपमा विकास भईसकेको छ । यसभित्र धार्मिक मूल्य र मान्यता जोडिएको भएपनि यसमा सामाजिक पाटोको महत्व बढी मानिएको छ । त्यसैले यो पर्व मासु खाने, जुवा तास खेल्ने, मदिरा सेवन गर्ने जस्ता कामहरुको लागि विशेष हुँदै गईरहेको हो ।

तर, हाम्रो संस्कृतिसँग जोडिएको यो विषय सामाजिक पर्व हो भनेर धार्मिक मान्यतालाई चटक्कै बिर्सनुले निकट भविष्यमा नै यी संस्कृतिहरु पलायन हुँदै जाने हो कि ? भन्ने चिन्ता धार्मिक क्षेत्रका जानकारहरुको छ । शास्त्रका जानकारहरु यो नवरात्रमा ब्रह्मचारी होस् या त गृहस्थहरुले मदिरा सेवन, जुवा तास खेल्ने जस्ता कामहरु गर्न नहुने बताउँछन् ।

जानकारहरुका अनुसार ब्रह्मचर्य धर्म पूरा गर्नको लागि, सत्वको सिद्धिको लागि, इष्टको सिद्धिको लागि अन्त:करणलाई बुझ्नको लागि र केही राम्रो कुरा हाँसिल गर्नको लागि समझदार हिन्दू एवं जैनहरु समेत नवरात्रका दिनहरुमा साधनामा बस्नुपर्ने हुन्छ । गृहस्थ होस् या त ब्रह्मचारी दुबैले माथि उल्लेख गरिएका प्रतिबन्धित सामानहरुको प्रयोग गर्नुहुँदैन ।

नवरात्रिभरी मौन बस्नु, ब्रह्मचर्यको परिपालन गर्नु प्राचीन समयमा भक्तहरुको धर्म थियो । प्राचीन कालमा यो नौ दिनभरी नै महिलाहरु एकतर्फ र पुरुषहरु एकतर्फ बसेर बीचमा देवीको प्रतिमामाथि आस्थापूर्वक पूजा गर्नेगरिन्थ्यो । तर, अहिले यो बदलिएको छ । अहिले हामीहरु पार्टीमा महिला पुरुषहरु सँगसँगै नाच्ने गरेका छौं । यसलाई आचार्य विमलले पूर्वीय संस्कृतिको विचलनको सुरुवात मानेका छन् । उनी यस्तै हुने हो भने हाम्रा संस्कृतिहरु बिस्तारै लोपोन्मुख हुनसक्ने उनको चिन्ता छ ।

नवरात्रको भव्यता पहिले साधना र पूजाको आधारमा तय गरिन्थ्यो । नौ दिनभरी मदिरा सेवन, चुरोटसुर्ती, गुड्का खानु, चिया जस्ता सबै किसिमका व्यसनमाथि प्रतिबन्ध लगाईएको थियो । यो समयभरी पतिपत्नीबीच सम्पर्क हुनुहुँदैन भन्ने मान्यता थियो । यो बीचमा कुनै सुख बिलासको कामना गर्नुहुँदैन र केवल देवीमाताको आराधना र उनको पूजा गरेर मात्रै दिन बिताउनु पर्छ भन्ने मान्यता थियो । तर, अहिले देवी आराधना र साधनाको कुरा एकातिर र दसैंको नाममा ठूला ठूला कार्यक्रमहरुको आयोजना गर्ने कामहरु अर्कोतिर भएका छन् । अर्थात् धार्मिक दसैं र सामाजिक दसैंमा फाटो आएको छ ।

बुढापाकाले निरन्तरतामा क्रमभंगता नहोस् भन्नको लागि धार्मिक पक्षलाई पनि निरन्तरता दिँदै आएका छन् । तर, यसमा धेरै बदलाब आईसकेको छ । अहिले साधनाको कुरा सबै हराईसकेको छ । केवल प्रतिबन्धित भनिएका सामग्रीहरुको प्रयोगमा नै हाम्रो दसैं बित्ने गरेको पाईन्छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.