पूर्व सभामुख महरा विरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता

हेल्लो समाचारदाता

काठमाडौं । यौन दूराचारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी दर्ता भएको छ । पीडित भनिएकी महिलाले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणी उद्योगमा उजुरी दिएकी हुन् ।

स्रोतका अनुसार पीडित महिला रोशनी शाहीले शुक्रबार किटानी जाहेरी दिएकी हुन् । गत आइतबार राति महराले आफूलाई बलात्कार गरेको भन्दै मिडियामा आएकी शाहीले भोलिपल्ट भने त्यस्तो केही नभएको बताएकी थिइन् । उनले महरा आफ्नो कोठामै नआएको दाबी गरेकी थिइन् ।स्रोतका अनुसार घटना भएको छैटौं दिन बानेश्वर प्रहरी वृत्तमा भएको लामो छलफलपछि उजुरी दर्ता भएको हो । प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको छ ।

यसअघि रोशनी र उनका श्रीमानले अगल–अलग बस्ने भन्दै सम्बन्ध विच्छेदको प्रक्रिया सुरु गरेको समेत बताएका थिए । उच्च प्रहरी स्रोतले भन्यो, ‘‘रोशनी र उनका श्रीमान् दुवै आएर बिहीबार उजुरी दिएर गएका छन् । बिहीबार नै रोशनीको त्रिवि शिक्षण अस्पतालमा मेडिकल परीक्षण समेत गरिएको छ ।’’

आफूमाथि बलात्कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका थिए । महराले आफू रोशनीको कोठामा नगएको दाबी गर्दै आएका छन् । एक प्रहरी अधिकारीले भने, ‘‘आइतबार साँझ चार बजे महराले रोशनीसँग पहिलो टेलिफोन सम्पर्क गरेका थिए । त्यसपछि उनी साँझ कोठामा पुगे । उनी कोठामा गएदेखि निवासमा फर्किएसम्मको सबै सीसीटीभी फुटेज प्रहरीसँग सुरक्षित छ ।’’

आइतबार राति नै पीडित महिलाले महराले बलात्कार गरेको भन्दै प्रहरीमा खबर गरेकी थिइन् । खबरलगत्तै महानगरीय प्रहरी वृत्तका डीएसपी नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी टोली पुग्दा महरा भने त्यहाँ थिएनन् । प्रहरीले घटनास्थलबाट रक्सीको बोतल, फुटेको चस्माको सिसा, जुत्ताको तलुवा बरामद गरेको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.