इतिहास रचयिता मन्त्री बिना मगर

जसले नेपाललाई दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश बनाइन्

 हेल्लो समाचारदाता
पुनर्वास, १४ असोज।
नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ । सोमबार राष्ट्रियसभा गृहमा आयोजित कार्यत्रजतmममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको घोषणा गरेका हुन् ।
सरकारले सन् २०११ सालबाट हरेक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न सुरु गरेको थियो । सोही अभियान अन्तरगत सबैभन्दा पहिला कास्की जिल्लालाई खुला दिसामुक्त जिल्लता घोषणा गरिएको थियो ।
घोषणाअघि खानेपानी मन्त्रालयका सचिव माधव बेलबासेले आधारभूत सरसफाइमा शतप्रतिशत सफलता हासिल भएको उल्लेख गर्दै अब पूर्ण सरसफाइमार्फत स्वच्छ र स्वस्थ्य नेपाल निर्माण गरिने बताए ।
उनका अनुसार १९८० मा २ प्रतिशत नेपालीको घरमा चर्पी रहेकामा सन् २०१० मा ४३ प्रतिशत पुगेको गियो । २०११ मा सरसफाइ गुरुयोजनामार्फत जनताकै लगानीमा २०१९ सम्म आधारभूत सरसफाइ अन्तरगत शतप्रतिशत घरमा चर्पी निर्माण भएको पनि उनले जानकारी दिए ।
अभियानमा सबै राजनीतिक दल, पेशा र व्यवसायमा संलग्न रहेकाले पनि देशलाई नै खुला दिसामुक्त घोषणा गर्न सक्ने अवस्थामा आइपुगेको खानेपानी मन्त्रालयको भनाइ छ । खुला दिसामुक्त राष्ट्र घोषणा भएसँगै सरसफाइ अभियानलाई तीव्रता दिने सरकारको योजना छ ।
दुई वर्ष ढिला पूरा भएको लक्ष्य
सरसफाइ गुरुयोजनाअनुसार ‘खुल्ला दिसामुक्त भन्नाले खुल्ला रुपमा दिसा नगर्ने अवस्थालाई बुझिन्छ । दिसामा झिँगा बस्न नसक्ने गरी खाल्डोमा ढक्कन लगाइएको अवस्थाले (चर्पीमा) खुल्ला दिसामुक्त जनाउँदछ । तर ढक्कन नभएको खाल्डोमा दिसा संकलन गरेपछि त्यस अवस्थाले चाहिँ खुल्ला दिसायुक्त अवस्था नै जनाउँदछ ।’सरसफाइ गुरुयोजना २०६८ ले सन् २०१७ भित्रै सबै घरमा शौचालय निर्माण गर्ने र नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखेको थियो । तर, लक्ष्यअनुसार काम नहुँदा दुई वर्ष ढिला गरी खुला दिसामुक्त देश घोषणा गर्न लागिएको हो । २०६८ सालमा सरसफाइ गुरुयोजना बनेपछि खुला दिसामुक्त अभियान सुरु भएको थियो । यो अभियानले शून्य अनुदानमा घरमा चर्पी बनाउने कामलाई कार्यान्वयन गरेको छ ।
कुन प्रदेशमा कति शौचालय बने ?
राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्यसचिव देवेन्द्र झाका अनुसार हाल देशभर ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय बनेका छन्र । प्रदेश १ मा ९ लाख ६५ हजार २७२, प्रदेश २ मा ९ लाख ३३ हजार ६४९ र प्रदेश ३ मा १६ लाख २२ हजार १९३ घरधुरीमा शौचालय बनेका छन् । यसैगरी, गण्डकी प्रदेशमा पाँच लाख ४८ हजार २१०, प्रदेश ५ मा सात लाख ९३ हजार ९९०, कर्णाली प्रदेशमा तीन लाख सात हजार ९६५ र सुदूरपश्चिम प्रदेशमा चार लाख ८९ हजार १२ घरधुरीमा शौचालय बनेका छन् । सदस्यसचिव झाका अनुसार यति शौचालय बनाउन झन्डै ७५ अर्ब रुपैयाँ पूर्णलगानी नागरिकको छ।
‘नागरिकको पूर्ण लगानी र सहभागितामा सफल भएको यो नेपाल सरकारको एक उदाहरणीय कार्यक्रम हो,’ सदस्यसचिव झाले भने ।
पहिलो खुला दिसामुक्त जिल्ला कास्की, अन्तिम भोजपुर
नेपालको पहिलो खुल्ला दिसामुक्त जिल्ला कास्की हो । कास्कीलाई २०६८ असार १० गते नै खुला दिसामुक्त घोषणा गरिएको थियो । खुला दिसामुक्त घोषणा गरिएको नेपालको अन्तिम अर्थात् ७७ औं जिल्ला भोजपुर हो । भोजपुर जिल्लालाई यही असोज ४ गते खुला दिसामुक्त घोषणा गरिएको थियो ।
राजधानी काठमाडौंलाई गत भदौ ३१ गते खुला दिसामुक्त घोषणा गरिएको थियो । तर, पर्याप्त आधारबिना हतारमा खुला दिसामुक्त घोषणा गरेको भनेर सरकारको आलोचना पनि हुने गरेको छ । कतिपय घरमा शौचालय नभएको, भएको पनि प्रयोगमा नआएको र सार्वजनिक शौचालय अभाव भएको कारणले पनि खुला दिसामुक्त घोषणा व्यवहारमा कार्यान्वयन हुनेमा शंका छ ।

खुला दिसामुक्त राष्ट्र घोषणा समारोहमा खानेपानी मन्त्री बिना मगरले दिनुभएको मन्तव्य

नेपाल खुला दिसामुक्त राष्ट्र तथा पूर्ण सरसफाइतर्फ अग्रसर राष्ट्र घोषणाको यस ऐतिहासिक समारोहमा विभागीय मन्त्रीका हैसियतले म यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दै न्यानो अभिवादन व्यक्त गर्दछु । साथै पूर्ण सरसफाई राष्ट्र निर्माणको राष्ट्रिय लक्ष्य हासिल गर्न खुला दिसामुक्त टोल, वडा, गाउँ, नगर र जिल्ला घोषणामा यहाँहरुले देखाउनुभएको अनुकरणीय नेतृत्व, उर्जापूर्ण सहभागिता, ओझपूर्ण सन्देश र सद्भावपूर्ण सहकार्यका लागि म सबैमा हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु ।

सन् २०३० सम्म दीगो विकासका लक्ष्य हासिल गर्न सरकार पूर्ण सरसफाइको अभियानमा एकलव्य भएर अघि बढिरहेको छ । खुला दिसामुक्त राष्ट्र घोषणा पूर्ण सरसफाइ अभियानको एक महत्वपूर्ण अङ्ग हो, यसले आधारभूत सरसफाइको लक्ष्य हासिल गर्दछ । त्यही पूर्ण सरसफाइको लक्ष्य हासिल गर्ने प्रारम्भिक खुड्किलोका रुपमा आज हामी सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्न पाउँदा गौरवको अनुभूति भएको छ ।

नेपालमा सन् २००० बाट सुरु भएको राष्ट्रिय सरसफाई सप्ताहले खुला दिसामुक्त क्षेत्रको अवधारणाका लागि अनुकूल वातावरण सिर्जना ग¥यो । सन् २००३ मा सामुदायिक नेतृत्वमा सञ्चालित पूर्ण सरसफाई अभियान र सन् २००६ मा विद्यालयको पूर्ण सरसफाइ अभियानले नेपाललाई खुला दिसामुक्त क्षेत्र बनाउने अवधारणा र अभियानको जग बसालेको मान्न सकिन्छ । सरकार र समुदायको सहकार्यमा गरिएका यी र यस्तै प्रयास एवं अभियानले हामीलाई खुला दिसामुक्त राष्ट्र घोषणाको यस गौरवशाली क्षणमा उभ्याएको तथ्य म यहाँ स्मरण गर्न चाहन्छु ।

विद्यालयको पूर्ण सरसफाइ अभियानपश्चात विद्यालय, सेवा क्षेत्र, समुदाय तथा बस्तीहरूलाई खुला दिसामुक्त घोषणाले थप तिव्रता पायो। खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रमलाई अगाडि बढाउने क्रममा सन् २००८ मा संयुक्त राष्ट्रसंघले घोषणा गरेको अन्तर्राष्ट्रिय सरसफाइ वर्ष नेपालका लागि थप उर्जा र प्रेरणाको वर्ष बन्यो । यस वर्षदेखि खुला दिसामुक्त क्षेत्र घोषणा एक औपचारिक कार्यक्रमका रुपमा नभएर एउटा सामाजिक जागरण अभियान र आन्दोलनकै रुपमा अगाडि बढ्यो । सन् २०११ मा सम्माननीय राष्ट्रपतिज्यूको प्रमूख आतिथ्यतामा सरसफाइ गुरुयोजना घोषणा गरी कार्यान्वयनमा ल्याएपश्चात् यसले सरसफाइका क्षेत्रमा निकै ठूलो जागरण ल्यायो ।

सरसफाइ गुरुयोजनाको प्रभावले वडा र गाउँहरुमा खुला दिसामुक्त अभियान र घोषणा एवं क्षमता अभिवृद्धिका कार्यक्रमहरु अगाडि बढे । यो अभियान पश्चिमाञ्चल, मध्य पश्चिमाञ्चल तथा सुदूर पश्चिमाञ्चल विकास क्षेत्र हुँदैपूर्वाञ्चल तथा मध्यमाञ्चलमा पनि उत्साहका साथ अगाडि बढ्यो । बिनाशकारी भूकम्प, बाढी पहिरो, नाकाबन्दीको आर्थिक एवं मनोवैज्ञानिक प्रभावजस्ता प्राकृतिक र वस्तुगत चुनौतिले यस अभियानमा चुनौतिहरु नथपिएका होइनन् । तर, सामाजिक क्षेत्रमा देखिएको सचेत पहलकदमी र सञ्चार माध्यमहरुले गरेको निरन्तर खबरदारीको प्रतिफल यस अभियानले उत्साहजनक रुपमा गति लियो ।

नेपाल सरकारले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा देशलाई खुला दिसामुक्त घोषणा गरी स्थानीय निकायहरूको नेतृत्वमा पूर्ण सरसफाइ अभियानमा अघि बढ्ने सङ्कल्प गरेको छ । नेपालका ७७ जिल्ला हालै खुला दिसामुक्त घोषणा भएका छन् । राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता निर्देशन समितिको मिति २०७६।०३।१३ को बैठकको निर्णय बमोजिम खुला दिसामुक्त घोषणा तयारीका लागि एक समिति गठन गरिएको थियो । उक्त निर्णयबमोजिम हामी आजको समारोहमा छौं ।

अन्तर्राष्ट्रिय सरसफाइ वर्षका अवसरमा ५ जुन २००८ मा तात्कालीन संविधान सभाका ६०१ जना सभासदले काठमाडौंको खुला मञ्चमा साझा सपथका साथ नेपाललाई खुला दिसामुक्त राष्ट्र बनाउँदै पूर्ण सरसफाइको लक्ष्य हासिल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । वि.सं. २०६८ असार १० गते तात्कालीन प्रधानमन्त्री झलनाथ खनालले कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्नुभएको थियो । त्यसपछि क्रमशः चितवन, तनहुँ हुँदै देशका विभिन्न जिल्लाहरुमा देशका उच्च नेतृत्वको सहभागितामा खुला दिसामुक्त जिल्लाहरु घोषणा गर्ने क्रमले तिव्रता पायो । यसले घोषणाको तहमा मात्र नभएर राजनीतिक, सामाजिक एवं समाजका विविध क्षेत्रका व्यक्तिहरुलाई सामाजिक जागरणका क्षेत्रमा निकै ठूलो उर्जा, प्रेरणा र कतिपय अवस्थामा नैतिक दवावसमेत सिर्जना गरेको तथ्यले यस अभियानको गतिलाई बुझ्न सकिन्छ ।

हालसम्म देशका ७५३ वटै स्थानीय तह, ७७ वटै जिल्ला र ७ वटै प्रदेश खुला दिसामुक्त भएका छन् । मन्त्रालयलाई प्राप्त तथ्याङ्क अनुसार प्रदेश नं.–१ मा ९,६५,२७२, प्रदेश नं.–२ मा ९,३३,६४९, प्रदेश नं.–३ मा १६,२२,११३, गण्डकी प्रदेशमा ५,४८,२१०, प्रदेश नं.–५ मा ७,९३,९९०, कर्णाली प्रदेशमा ३,०७,९६५ र सुदूरपश्चिम प्रदेशमा ४,८९,०१५ गरी जम्मा ५६,६०,२१४ घरधुरीमा शौचालय निर्माण भएका छन् । यसका अतिरिक्त नेपाल सरकारका विभिन्न निकाय, नीजि क्षेत्र, गैरसरकारी क्षेत्र र विकास साझेदार संस्थाहरुको एकल र संयुक्त पहलमा प्रदेशका प्रमूख शहर, जिल्ला सदरमुकाम र राजमार्गहरुमा सार्वजनिक शौचालय निर्माण भइरहेका छन् । यद्यपि, ती सार्वजनिक शौचालय नागरिकको आवश्यकता र घनत्वका दृष्टिले पर्याप्त नभएको तथ्य हामीले गहिरो गरी बोध गरेका छौं ।

खुला दिसामुक्त राष्ट्र घोषणा आफैंमा पूर्ण सरसफाइ होइन, यो त आधारभूत सरसफाइको सूचक मात्र हो । हामीले सन् २०३० सम्म दीगो विकासका लक्ष्य हासिल गर्न पूर्ण सरसफाइयुक्त नेपालको सङ्कल्पसहित अघि बढिरहेका छौं । पूर्ण सरसफाइका ५+१ सूचक छन्, ती हुन :
१. चर्पीको समूचित प्रयोग,
२. व्यक्तिगत सरसफाइ,
३.सुरक्षित पानीमा पहुँच तथा प्रयोग,
४. सुरक्षित खानाको प्रयोग
५. घरायसी एवं संस्थागत सरसफाइ,
६. वातावरणीय सरसफाइ ।

उल्लेखित ६ वटा सूचकहरुमध्ये नेपालले सफलता हासिल गरेको प्रमूख सूचक खुला दिसामुक्त अभियान पनि हो । वि.सं. २०६८ असार १० गतेदेखि २०७६ भदौ ३१ गतेसम्म आइपुग्दा मुलतः सबै घरधुरीमा आधारभूत चर्पी निर्माण भएको तथ्यसहित हामीले खुला दिसामुक्त राष्ट्र घोषणा गरेका हौं । पूर्ण सरसफाइका अन्य सूचकहरुमध्ये सुरक्षित र स्वस्थ खाना प्रयोग र वातावरणीय सरसफाइको सम्बन्ध समग्र राष्ट्रको समृद्धि एवं व्यक्तिको प्रतिव्यक्ति आयमा निर्भर रहन्छ । यसलाई सरकारले नै आफ्नो प्राथमिक सूचिमा राखी सन् २०३० सम्म ६ वटै सूचकहरुमा पूर्णाङ्क प्राप्त गर्न योजनावद्ध रुपमा क्रियाशील रहने नै छ ।

दक्षिण एसियामा नेपाल पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा हुँदैछ, यो हामी सबैका लागि गौरवको कुरा हो । घोषणाका दृष्टिले मात्र होइन, आधारभूत सरसफाइका दृष्टिले पनि दक्षिण एसियामा नेपाल पहिलो स्थानमा रहेको तथ्य हाम्रा लागि सुखदायी विषय नै हो । यद्यपि, हामीले यसैमा सन्तुष्टि लिएर बस्ने अवस्था छैन । नेपाल सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रुपमा घोषणा गरिसकेका सन्दर्भमा खुला दिसामुक्त राष्ट्र घोषणा त्यसका लागि एउटा बलियो सारथी पनि हो । हाम्रो तत्परता, घोषणा र सामाजिक जागरणको यस अभियानले नेपालमा बाह्य पर्यटन प्रवद्र्धनमा निकै ठूलो सन्देश र परिणाम आउने हामीले अपेक्षा गरेका छौं । यस तथ्यलाई गहिरो गरी आत्मसात गर्न म सम्पूर्ण नेपाली जनसमुदायमा हार्दिक अनुरोध गर्दछु ।

कुनै पनि अभियान, कार्यक्रम वा घोषणा आफैमा चुनौतिरहित पक्कै हुँदैनन् । दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त राष्ट्रको घोषणा गरिरहँदा हाम्रासामू केही गम्भिर चुनौतिहरु छन् । ती चुनौतिले कहिलेकाहीँ जनताको तहमा केही आशंका र दुविधा उत्पन्न गर्ने गरेका तथ्यप्रति पनि हामी बेखबर छैनौं । खुला दिसामुक्त राष्ट्र घोषणाको अभियानसँग जोडिएर केही प्रश्नहरुसमेत उठ्ने गरेका छन् । ती प्रश्नहरु नियतवश, अज्ञानतावश, संयोगवश र खबरदारीपूर्ण ढङ्गले पनि उठेको विषयमा हामी जानकार नै छौं । त्यसबारे म केही कुरा उल्लेख गर्ने अनुमति चाहन्छु ।

देशका केही सुदूर एवं पहाडी जिल्ला, तराई–मधेश र अन्य सुगम जिल्लाहरुमा समेत पर्याप्त चर्पीको व्यवस्था नभएको, पर्याप्त पानीको व्यवस्था नभएको, सामाजिक एवं प्राचीन संस्कारका कारण चर्पीको प्रयोग नगर्ने समस्या रहेको, सरसफाइ र स्वच्छताका अरु सूचकहरु सबल नभएको, सार्वजनिक शौचालयको पर्याप्त निर्माण नभएको अवस्थामा सरकार खुला दिसामुक्त राष्ट्र घोषणाका लागि किन हतारिँदैछ ? यो कतै घोषणाका लागि घोषणा मात्रै त हुँदैन ? यस खालका प्रश्न पनि उठ्ने गरेका छन् । यी प्रश्न आफैंमा आंशिक उत्तर पनि हुन् भन्ने मेरो ठम्याइ छ ।

जिल्लाका केही घरधुरीमा अझै पनि चर्पी नभएका हुन सक्छन् । हाम्रा संस्कार र चेतनाका केही सीमाहरु पनि छन् । जनतालाई पानीको पर्याप्त सुविधा पुर्याउने हाम्रो लक्ष्य पूर्णतः हासिल भइसकेको छैन । बसाइसराइ, अंशबण्डा र नयाँ घर बन्ने क्रममा तत्काल व्यवस्थित चर्पी निर्माण गर्न नसकिने केही बाध्यात्मक अवस्था पनि रहन्छ । मेलापात, घाँस–दाउरा गर्ने क्रममा सबै स्थान सार्वजनिक शौचालयको व्यवस्था नहुँदा पनि केही समस्या पैदा भएका छन् । तर, यिनै कारणहरुलाई देखाएर हामी गन्तव्यमा उभिने कि लक्ष्य प्राप्तिका लागि चुनौतिलाई स्वीकार गर्दै अगाडि बढ्ने ? खुला दिसामुक्त राष्ट्र घोषणा गरेपछि चर्पी निर्माणको औचित्य सकिँदैन, सार्वजनिक शौचालय निर्माणको हाम्रो रफ्तार घट्दैन । बरु, नैतिक, सामाजिक र व्यवहारिक दृष्टिले त्यो गुणात्मक रुपमा बढ्न जान्छ । यसले राज्य र सामाजिक क्षेत्रका अगुवाहरुमा सामाजिक प्रतिष्ठा कायम राख्ने र श्रेष्ठता हासिल गर्ने प्रतिस्पर्धात्मक परिस्थिति सिर्जना गर्दछ । यसर्थ, खुला दिसामुक्त राष्ट्र घोषणाले आंशिक रुपमा पूर्ण हुन बाँकी रहेका कार्यहरुका लागि पनि सरकार, समाज र नागरिकलाई अघि बढ्न थप प्रेरणा र दवाव सिर्जना गर्दछ भन्ने तथ्य हामीले बिर्सन मिल्दैन ।

खुला दिसामुक्त अभियान एउटा राष्ट्रिय सङ्कल्प हो, राष्ट्रिय जागरणको अभियान हो । यसलाई घर र सार्वजनिक स्थानमा शौचालय निर्माणको परिभाषाभित्र मात्रै सीमित राख्नु हुँदैन । यो त मानव सभ्यता, आधुनिक र समुन्नत संस्कार निर्माण, राष्ट्रिय जागरण र स्वच्छ एवं हराभरा नेपालको एउटा बृहत्तर अभियान हो । सुन्दर, शान्त, समृद्ध नेपालको विश्वव्यापी परिचयको महत्वपूर्ण खुड्किलो हो, दीगो विकास लक्ष्य हासिल गर्ने एउटा गुरुत्वपूर्ण आयाम हो, अनि पूर्ण सरसफाइयुक्त नेपाल बनाउने लक्ष्यको बलियो सारथि पनि । यस अर्थमा खुला दिसामुक्त राष्ट्र घोषणालाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को घोषित लक्ष्य हासिल गर्ने एउटा बृहत्तर अभियानको थालनी र राष्ट्रिय सङ्कल्प हासिल गर्ने बलियो कडीका रुपमा लिनुपर्छ भन्ने हाम्रो मान्यता छ ।

आजबाट नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको छ । यो गौरवपूर्ण घोषणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै स्वच्छ र सुन्दर नेपाल निर्माण गर्नु हामी सबैको दायित्व हो । यसका लागि सरकार र मन्त्रालयका तर्फबाट ठोस गुरुयोजनाका साथ अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्दै यस महाअभियानमा हातेमालो गर्दै समृद्ध र स्वच्छ नेपाल निर्माणको राष्ट्रिय सङ्कल्पमा सहभागी हुन सम्पूर्ण राजनीतिकर्मी, समाजसेवी, बुद्धिजीवी, पेशाकर्मी, राष्ट्रसेवक कर्मचारी, मजदुर, किसान, विद्यार्थी, अभिभावक, सामाजिक संघ/संस्था एवं सम्पूर्ण नेपालीहरुमा हार्दिक आब्हान गर्दछु । आफ्नो व्यस्त समयका बाबजूद पनि यस गरिमामय समारोहमा उपस्थित हुनुहुने सम्माननीय प्रधानमन्त्रीज्यू, मन्त्रीज्यूहरु, सांसदज्यूहरु लगायत सम्पूर्ण महानुभावहरुमा हृदयदेखि आभार व्यक्त गर्दछु । साथै विजयादशमी, दीपावली, नेपाल सम्वत्, छठ, ल्होसार लगायत नेपालीहरुमा महान् पर्वहरुको अवसरमा सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै यस औपचारिक समारोह समापन भएको घोषणा गर्दछु, धन्यवाद !

Facebook Comments
Down to post ads-480-38

Comments are closed.