भीमदत्तको एक वडा कार्यालयमा आगजनी

हेल्लो समाचारदाता

कञ्चनपुर –भीमदत्त नगरपालिका १९ नम्बर वडा कार्यालयमा आज बिहान आगजनी गरिएको छ ।

शुक्रबार अज्ञात समुहले भीमदत्त नगरपालिका १९ बाँगफाँटा स्थित वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी गरिएको हो । आगजनीबाट वडाध्यक्ष दामोदर सिह महराको कार्यकक्षमा बढि क्षति पुगेको छ । वडाध्यक्षको कार्यकक्षका समाग्री जलेर नष्ट भएका छन् । महत्वपूर्ण कागजात सहितका समाग्री जलेर नष्ट भएको वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालय परिसरमा नेकपा कञ्चनपुरको कार्बाही हुनका कारण लेखिएको पर्चा भेटिएको छ । पर्चामा शुक्लाफाँटा कृषि सहकारी र प्रधानमन्त्री कृषि आधुनिकिकरण धान जोन परियोजनामा भएको आर्थिक अनियमितामा वडाबाट मलजल गरेको, नगरपालिकाद्वारा विनियोजित बजेटको १९ मा कार्यसंचालनमा बजेटको दुरुपयोग गरेको, खानेपानी, ग्राभिलिङ्ग, पञ्चकृत मावि निजी शिक्षक प्रकरण, वडा स्वास्थ्य कार्यालयमा आएको बजेट दुरुपयोग गरिएकाले जनकार्बाही गरिएको उल्लेख गरिएको छ ।

नेकपा कञ्चनपुरका जिल्ला इन्चार्ज सहदेवद्वारा हस्ताक्षरित गरिएको पर्चामा नेकपाले साँकेतिक रुपमा कार्बाही गरेको अध्यक्षलाई राजिनामा दिन चेतावनी दिईएको छ । वडाध्यक्ष दामोदर महराले भने आफुलाई नेकपाले लगाएको आरोप जस्तो गल्ती नभएको बताएका छन् । वडाध्यक्ष महराले वडाको विकासका लागि एकिकृत रुपमा अघि बढिरहेको बताउदै लगाएको आरोप मित्था भएको बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता नरेश बहादुर चन्दले घटनाको अनुसन्धान भईरहेको बताए । आगजनी गर्ने समुहको खोजिबिन भईरहेको प्रवक्ता चन्दले बताए । भीमदत्त नगरपालिकाले समेत वडा कार्यालयमा भएको आगजनीको भत्र्सना गरेको छ ।

जनताको आशा, भरोसा र विकासको लागि वडाबाट भईरहेका कामप्रति अत्तालिएर आगजनी गरिएको भन्दै दोषि उपर कार्बाहीको माग गरेको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.