पुनर्वासमा जताततै चोरी , स्थानीय भन्छन् : ‘निष्कृय प्रहरी’

हरिलाल जोशी
पुनर्वास / २५ भदौ
ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती प्रहरीको अनुसन्धान प्रति पुनर्वासका स्थानीयहरुमा उदासिनता बढ्दै गएको छ ।

चार्डपर्व नजिकिएसँगै केहि समययता कञ्चनपुरको पुनर्वासमा चोरीका घटनाहरुमा वृद्धि हुँदै गए पनि प्रहरी अनुसन्धानले चोरी गर्ने गिरोह पत्ता लगाउन नसक्दा प्रहरी भन्दा चोरी गर्ने गिरोह सक्रिय देखिएपछि स्थानीयहरुमा उदासिनता बढ्दै गएको हो ।

केही दिन अघि मात्रै पुनर्वास नगरपालिका–६, स्थित खड्का फैन्सी स्टोरको सटरमा लगाईएका दुईओटा ताला रड प्रयोग गरेर फोडि लाखौका कपडाहरु चोरी गरि आधा सटर खुल्लै राखेको अवस्थामा बिहान फेला परेको पसल सञ्चालक मदनबहादुर खड्काले बताए । “बिहान पसल खोल्न आउँदा आधा सटर खुल्लै थियो सामान हेरे सामान नि आधा जति खाली थियो ।” उनले भने –“केहिदिन अघि पनि पसलको ताला हेक्साब्लेड प्रयोग गरि आधा जति काटिएको अवस्थामा थियो ।”

त्यस्तै सोहि राती पुनर्वास नगरपालिका–३ स्थित किन्डर गार्डेन स्कुलको क्यान्टिन र कार्यालय पनि तोडफोड भएको छ । क्यान्टिनबाट प्लेट, चाउचाउ लगायत अन्य खानेकुराहरु चोरी भएको र कार्यालयको ताला फोडिएको भएपनि कागजातहरुमा कुनैपनि असर नगरेको संस्थापक अध्यक्ष धनराज भट्टले जानकारी दिए । सो चोरी भएको तीन दिनमै पुनः पुनर्वास नगरपालिका–५ पशुपति चोक नजिकैको विवेक किराना पसलमा मंगलबार राती चोरी भएको छ ।
राती घरमा सुतेको अवस्थामा घरको ग्यालरीको मूल ढोका खोलेर भित्र गई कोठाबाट सामसुङ मोबाईल, पसलको बाकसमा भएको रकम, रक्सी, चाउचाउ, चिसो पेयपदार्थ, चुरोटको डण्डा आदि चोरी भएको पसल संचालक दिपक शाहीले बताए । केही दिन अघिदेखि बिरामी रहेको बाबुलाई निको भएर राती घरपरिवार सबै मस्त निन्द्रामा रहेको मौका छोपी गरमा चोरी भएको पसल संचालक शाहीले बताए ।
पसल चोरी भएपछि पसल संचालक शाहीले बुधबार बिहान ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा चोरीको विषयमा उजुरी हालेका छन् ।
बुधबार बारम्बार चोरीका घटनाहरु बढ्दै गएको विषयमा प्रहरी नायव निरीक्षक गोपाल बोहरासँग बुझ्दा चोरको खोजी गरिरहेका छौं, चोर भनेर सबैलाई आरोप लगाउन मिल्दैन सामान बरामद भए मात्रै कार्वाही गर्न मिल्ने बताए । उनले अनुसन्धानका लागि स्थानीयको सहयोग अति आवश्यक हुने भएका कारण गोप्य जानकारी दिई सहयोग गरिदिन पनि आग्रह गरेका छन् ।

चोरीका घटना बढ्न थालेपछि स्थानीयले सुरक्षित वातावरणमा व्यवसाय संचालन गराउन विशेष सुरक्षा नीति लागू गर्न माग गरेका छन् ।
पुनर्वासमा केही समययता शृङ्खलाबद्धरूपमा चोरीका घटना बढेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र अस्थायी प्रहरी पोष्ट आई.बी.आर.डी.को उच्च सुरक्षाका बीच पनि चोरीका घटना बढ्दै गएपछि पुनर्वास प्रहरीलाई चुनौती थपिएको छ ।
पुनर्वासमा शृङ्खलाबद्ध चोरीका घटना बढ्दै गएपछि सर्वसाधारण त्रसित बनेका छन् । फितलो सुरक्षा व्यवस्थाका कारण चोरी हुने क्रम बढेको स्थानीयवासीको आरोप छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.