टिकापुरमा घुस रकमसहित मालपोत कार्यालयका दुई कर्मचारी पक्राउ

कञ्चनपुर –

कैलालीको टिकापुर नगरपालिका स्थित मालपोत कार्यालयका दुई जना कर्मचारी घुसको रकमसहित पक्राउ परेका छन ।

आइतबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट घुसको रकम लिँदै गरेका बेला मालपोत कार्यालयका नायव सुव्वा सिंहबहादुर कुँवर र खरिदार नरराज पाण्डेयलाई पक्राउ गरेको हो ।  स्टिङ अप्रेसन गरी दुवै जनालाई घुसको आठहजार नगदसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसनधान कार्यालय कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर बिष्टले बताए ।

‘जग्गा धनी प्रमाण पत्र हराए पछि सेवाग्राही मालपोत कार्यालयमा नयाँ बनाउन गएपछि कर्मचारीले जग्गाको नाप नक्सा गरेर मात्रै पाइन्छ भनेर पैसा माग्नु भयो । फिल्डमै रकमसहित पक्राउ परे’ उनले भने । आयोग कञ्चनपुरको टोलीले दुवै जनालाई लम्की चुहा नगरपालिका ३ व्यवस्थित नगरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई सोमवार थप अनुसन्धानका लागि काठमाडाैं लगिएको छ। आब २०७५/०७६ को असार मसान्तसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले कैलाली कञ्चनपुरमा सातवटा स्टिङ अप्रेसन गरी ३१ जनालाई घुषको रकम सहित पक्राउ गरेको छ ।

चालु आबको यो पहिलो स्टिङ अप्रेसन हो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.