शिवशक्ती दुग्ध सहकारीद्वारा कृषकहरुलाई अनुदान रकम हस्तान्तरण

हेल्लो समाचारदाता
पुनर्वास ,२० श्रावण ।
कंचनपुरको पुनर्वास-८ स्थित शिवशक्ती दुग्ध सहकारी संस्थाले आफ्ना दुग्ध कृषकहरुलाई अनुदान रकम हस्तान्तरण गरेको छ ।

सोमबार अलंकार पब्लिक स्कुलको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गर्दै सहकारीले आर्थिक वर्ष २०७४/०७५ मा सहकारीलाई दूध उपलब्ध गराउने दुग्ध कृषकहरुलाई प्रति लिटर एक रुपियाँका दरले अनुदान रकम हस्तान्तरण गरेको हो ।

पशुपञ्क्षी तथा मत्स्य विकास निर्देशनालय सुदुरपश्चिम प्रदेश ,दिपायलबाट संस्थालाई चौवन्न हजार रुपियाँ आर्थिक सहयोग उपलब्ध भएको सो रकमबाट आर्थिक वर्ष २०७४/०७५ मा संस्थालाई दुध बिक्री गर्ने एक सय सोह्र जना कृषकहरुलाई प्रतिलिटर रु १ का दरले हुन आउने अनुदान रकम बितरण गरेको ब्यबस्थापक पुष्पराज ओझाले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष चक्र प्रसाद ओझाको सभाध्यक्ष तथा केन्द्रिय दुग्ध सहकारी संघका सदस्य भरत बहादुर बिष्टको प्रमुख आतिथ्य रहेको कार्यक्रमको बिशिस्ट अतिथिमा पुनर्वास नगरपालिका-८, का वडा अध्यक्ष राना श्रवण रहनु भएको थियो । त्यस्तै अतिथिमा पुनर्वास नगरपालिकाका वडा सदस्यहरु दल बहादुर धामी , अमर कामी र जानकी अवस्थी रहनुभएको थियो ।

संस्थाकि उपाध्यक्ष गंगा केसीको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका ब्यबस्थापक पुष्पराज ओझाले गर्नु भएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.