दार्चुलामा ७० वर्षीया महिलाको हत्या, श्रीमान र नाती घाईते

हेल्लो समाचारदाता

दार्चुला –महाकाली नगरपालिका–३ काटै रामलाडीमा पसल सञ्चालन गरेर बसेकी एक वृद्धाको हत्या गरिएको छ भने उनको श्रीमान् र नाति गम्भीर घाइते अवस्थामा भेटिएका छन् ।

शनिबार राति पसल सञ्चालन गरेर बसेकी ७० वर्षीया द्रोपती महराको हत्या भएको हो । उनका श्रीमान् ७५ वर्षीय वीरभान महरा र नाति १२ वर्षीय लोकेन्द्र महरा गम्भीर घाइते अवस्थामा भेटिएका छन् ।

सडक किनारामा वर्षौदेखि पसल सञ्चालन गर्दै आएका महरा परिवारको सबैको हत्या गर्ने उद्देश्यअनुरुप घटना भएको देखिएको महाकाली नगरपालिका वडा नं ३ का वडाध्यक्ष पदमसिंह महराले जानकारी दिए ।

खोला किनार नजिकै पसलमा कुटपिट गरी हत्या गरिएको छ । गाउँभन्दा टाढा पसल भएका कारण राति भएको घटना बिहान ८ बजे मात्रै जानकारीमा आएको हो ।

घटना कसले र किन गरायो भन्ने केही खुलेको छैन । घटनामा नाति भागेर बाँच्न सफल भएका छन् । वीरभानको टाउको, अनुहार र शरीरमा चोट छ । उनकी श्रीमतीको घटनास्थलमै मृत्यु भएको आफन्तले जनाएका छन् ।

बिहान गाउँबाट मान्छे आउँदा वीरभान गम्भीर घाइते र श्रीमती मृतावस्थामा देखिएपछि प्रहरीलाई खबर गरेका थिए । अहिले घटनास्थलमा प्रहरी निरीक्षक रवीन्द्र कठायत नेतृत्वको टोली खटिएको छ ।

घाइते वीरभान लोकेन्द्रलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदैछ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.