कञ्चनपुरको कृषि सडक ओझेलमा

मोहन बिष्ट
पुनर्वास,जेठ २–कञ्चनपुरका तीन स्थानीय तह जोड्ने कृषि सडक ओझेलमा परेको छ । झण्डै पाँच दशकअघि नक्साङ्गकन गरिएको ३५/४० किलोमिटर लामो सडकको अवस्था बिग्रदै गएपछि किसानलाई ढुवानी गर्न समस्या भएको छ ।

कञ्चनपुरका ग्रामीण भेगका किसानले उत्पादन गरेका कृषि उपजबस्तु कैलाली सदरमुकाम धनगढीसम्म ढुवानीका लागि सहज होस भन्ने उदेश्यले कृषि सडकको अवधारणा ल्याइएको थियो ।

बेलडाँडीका किसान रामकृष्ण रानाले विगतमा कृषि सडक भएर धनगढीसम्म धान, गहुँ, मकै, चना, तोरी बिक्रीकाे लागि लैजान समस्या हुने गरेकाे बताए । ‘कृषि सडक सुधार भएको छैन, ‘धनगढी जोड्ने हुलाकी राजमार्ग अझै बनेको छैन, हामी किसानलाई आफुले उत्पादन गरेका बस्तु बिक्री गर्न समस्या भएको छ ।’

पुनर्वास नगरकार्यपालिका ४ का वडाध्यक्ष प्रेम बस्नेतले कृषि सडक ओझेलमा पर्दा किसानलगायत सर्वसाधारणलाई समस्या भएको बताए । ‘यो सडक बषौँदेखि चलनचल्तीमा थियो, ‘उनले भने, ‘सडकले किसानलाई धेरै राहत मिलेकाे थियो ।’

सडक मर्मतको लागि आउँदो बजेट मार्फत सम्बोधन हुनुपर्ने उनले बताए । पुनर्वासलगायत कृषि सडकसँग जोडिएका बेलौरी र बेलडाँडीको स्थानीय तहले समेत सडक सुधारको विषय उठाउँदा कुनै पहल नभएको उनले बताए । स्थानीय र प्रदेश सरकारबाट सम्भव नहुने भएकाले संघीय सरकारले नै कञ्चनपुरको कृषि सडकको स्तरोन्नती गर्नुपर्ने अध्यक्ष बस्नेतको सुझाव छ ।

कृषि सडक सुधार नहुँदा चार स्थानीय तह लालझाडी, बेलडाँडी, बेलौरी र पुनर्वासका कृषक प्रत्यक्ष मारमा छन् । जिल्ला समन्वय समितिले स्थानीय तहसँग छलफल गरेर सडकको स्तरोन्नती गर्न पहल थाल्ने जनाएको छ । समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्गले स्थानीयबाट हुन नसकेपछि प्रदेश र संघबाट बजेटको माग गरेर कालोपत्रे गर्ने बताए । ग्रामिण भेगका कृषि सडकसहित अन्य साना सडक पनि सुधार नहुँदा ग्रामीण भेगका स्थानीयलाई सास्ती खेप्नु परेको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.