बझाङका स्थानीय तह निमित्त प्रशासकीय अधिकृतको भरमा

हेल्लो समाचारदाता

बझाङ, ३० बैशाख – बझाङका स्थानीय तहमा प्रशासकीय अधिकृत नहुँदा स्थानीय तह निमित्त प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन् । कर्मचारी समायोजनले कर्मचारी सुरुवा भई अन्य स्थानमा खटाईएपछि त्यहाँका स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन भएका हुन् ।

निमित्त प्रशासकीय अधिकृतलाई आर्थिक जिम्मेवारी नदिँदा कामकाजमा समस्या भएको गाउँपालिकाका अध्यक्षहरूको गुनासो छ । प्रमुख प्रशासकीय अधिकृतमात्र नभई कतिपय गाउँपालिकामा कर्मचारी नहुँदा समस्या भएको छ । कर्मचारी नहुँदा स्थानीय तहको सेवा प्रवाहमा ढिलाइ हुने गरेको बुङ्गल नगरपालिकाका प्रमुख धनबहादुर विष्टले बताए ।

स्थानीय सरकार सञ्चालन ऐन संशोधनमा संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी सरुवा–बढुवा गरेर अन्य स्थानमा पठाइएकाले अधिकांश स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन भएको थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए ।

बझाङको दुर्गाथली, खप्तड छान्ना, बित्थडचिर, साइपाल र केदारस्युँ गाउँपालिकामा हाल नायब सुब्बाले प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्दै आएका छन् । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजनाको भुक्तानी लिन समस्या हुने गरेको साइपाल गाउँपालिकाका गणेश बोहराको भनाइ छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.