शरीर र मनलाई स्फूर्त राख्न पनि जिम जानोस् ! : फिट्नेस एक्सपर्ट तामाङ
यतिखेर सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा तन्दुरुस्तीका लागि व्यायामशालामा आकर्षित हुनेहरुको संख्या ह्वात्तै बढेको छ । शरीर र माशंपेशी बनाउने भन्दा पनि ब्यस्त जीवनशैली र खानपानले स्वास्थ्यमा पर्ने असरबाट जोगिन किशोरदेखि वृद्धाहरू समेत फिटनेस सेन्टरहरूमा धाउन थालेका छन् । ब्यस्त जीवनशैलीमा कामको चाप र तनाबले धेरै व्यक्तिहरु बिभिन्न रोगहरुको शिकार बन्न बाध्य छन् । दिनभरीको कामको ब्यस्ततासँगै मानसिक तनाब लगायत धुलो–धुँवा र प्रदुषणका कारण विभिन्न दीर्घरोग समेत व्योर्होर्नुपरिरहेको छ । पछिल्लो समयमा युवाअवस्थामै सुगर, प्रेसर, मुटु, नशा च्पापिने लगायतका रोगले धेरैलाई सताइरहेको छ । यस्ता रोगहरुलाई नियन्त्रण र निर्मुल गर्न नियमित ब्यायमले धेरै ठूलो भूमिका खेल्ने विशेषज्ञहरु बताउँछन् । शरीरलाई फिट राख्न शारीरिक व्यायामको विशेष महत्वलाई बुझेरै होला अहिले धनगढीका जीम सेन्टरमा जाने र वजन उचालेर व्यायाम गर्नेहरुको भीडभाड नै देखिन्छ । यस्तै फिटनेस र जिमका पर्यायका रुपमा परिचित धनगढी बिशाल नगरका मोहन तामाङ फिटनेस क्षेत्रका लागि बिर्सनै नसकिने एक आकृति हुन् । आज भन्दा ३० वर्ष अगाडि कञ्चनपुरको साविक लालझाडी गाविसमा पिता हरिबहादुर तामाङ र माता सीता तामाङको कोखबाट जेष्ठ पुत्रको रुपमा जन्मिएका तामाङ यतिखेर ब्यबसायिक फिट्नेस् संसारमा उजेलिदै गएकाछन् । आजभन्दा ९ वर्ष अगाडि स्नातक तह अध्ययन् गरी रोजगारीको शिलशिलामा विदेश पलायन भएका तामाङ विदेशमै पर्सनल ट्रेनिङ्ग एण्ड न्युट्रेशन विधामा तीन तहको महारथ हासिल गरी आफूलाई जिमको संसारमा उभ्याउने उनी एक दक्ष प्रशिक्षक पनि हुन् । ६ महिना अगाडि धनगढी उपमहानगरपालिका–३ चटकपुरमा ३५–४० लाखको लगानीमा सुदूरपश्चिमकै अत्याधुनिक फिटनेश सेन्टर (फारवेस्ट फिटनेस) सञ्चालनमा ल्याएर एकाएक चर्चामा चुलिएका तामाङसँग हेल्लो पुनर्वास दैनिकका प्रकाशक तथा सम्पादक रञ्जित लामाले गरेका संक्षिप्त कुराकानी :–
स्वागत छ यहाँलाई ?
धन्यवाद !
आज भोलिको समय कसरी बिताईरहनु भएको छ ?
आजभोलिको समय बिहान ५ः०० बजेदेख १०ः०० बजेसम्म र बेलुका ५ः०० बजेदेखि ९ः०० बजेसम्म फिटनेस सेन्टरमै बित्छ । बाँकीको समय घरपरिवारसँग बिताउँछु ।
जिम र फिटनेस प्रतिको तपाईको ब्यक्तिगत धारणा चाहीँ के हो ?
मेरो विचारमा शारीरिक सुगठनका लागि प्रायः उपकरणहरू प्रयोग गरेर शिलशिलाबद्धरुपमा गरिने शारीरिक अभ्यास र क्रियाकलापहरु नै जिम हो भने सामान्यतया जुनसुकै बिधि र तरिकाको प्रयोग गरेर शारीरिक रूपमा बलियो र स्वस्थ हुने अवस्थालाई फिट्नेस भनिन्छ ।
तपाईंलाई जिममा लाग्ने प्रेरणा कसरी र कहाँबाट प्राप्त भयो ?
रोजगारीको शिलशिलामा बिदेश जाँदा संयोगले फिटनेस सम्बन्धी अध्ययन् गर्ने मौका जुर्यो । पहिलेदेखि नै स्पोर्टसमा औधि रुचि भएकोले पर्सनल ट्रेनिङ्ग एण्ड न्युट्रेशन विधामा थ्रि लेभल पास गर्न मलाई गाह्रो भएन । आफ्नो हबी र दक्षता यसैमा भए पछि आफू यही क्षेत्रमा अघि बढ्ने निधो गरें ।
लागानी गर्न सक्ने थुप्रै क्षेत्रहरु हुँदा हुँदै पनि यही क्षेत्रमा लगानी गर्नुको कारण र उद्धेश्य चाही के हो ?
आफ्नो रुचि, कार्यकौशलता अनि जिम र फिटनेस सेन्टरप्रति धनगढीमा बढिरहेको क्रेजकै कारण मैले यो क्षेत्रमा लगानी गरेको हुँ । आफु स्वस्थ रुपमा रहन र अरुलाई पनि स्वस्थ रुपमा रहन प्रेरणा दिन नै मेरो उद्धेश्य हो ।
कति उमेरमा जिम सुरु गर्ने र कुन उमेरसम्म गर्न हुन्छ ?
१६–१७ वर्षको उमेर जिम शुरुवातका लागि उपयुक्त मानिन्छ । सामान्यतः ३० वर्षको उमेर पार गरेपछि हाम्रो शरीरको मसल्स घट्दै जान्छ । जिम गरेर शरीर मसल्स बढाउने काम अप्राकृतिक भएकोले जुनसुकै उमेर समूहकाले पनि डाइटमा ध्यान दिनै पर्छ । ३० वर्षअघि नै सुरु गर्नुहोस् जिम, उमेर छिप्पिँदै गएपछि जिम गर्नु हुन्न भन्ने कतिपयमा भ्रम छ । जिम जुन उमेरमा गर्दा पनि फरक पर्दैन । तर, उमेरअनुसार जिम गर्ने तरिकाबारे एक्सपर्टसँग सल्लाह लिइराख्नुपर्छ ।
केही वर्ष जिम गरेर छोड्दा नकारात्मक असर पर्छ कि पर्दैन ?
केही वर्ष जिम गरेर छोड्दा त्यस्तो असर नै गर्ने भन्ने केही पनि हुँदैन । हड्डी दुख्छ भन्ने भ्रम कतिपयमा पाइन्छ । हतारमा मसल्स बढाउन जिमका वेला ड्रग प्रयोग गरिएको छ भने चाहिँ जिम छोडेपछि असर गर्न सक्छ । तर, एकपटक जिम गरेको व्यक्तिले जिम छोडेपछि पनि हेल्दी ह्याबिट भने अपनाइरहेको हुन्छ । यसले फाइदा नै गर्छ ।
कतिपय शाकाहारी डाइट पुग्दैन भनेर जिम गर्न डराइरहेको पाइन्छ के भेजिटेरियनले जिम गर्दा डाइट पुग्छ त ?
डराउनुपर्ने कुनै कारण नै छैन । मासु र अन्डा प्रोटिनको राम्रो स्रोत हुन्, तर यी मात्रै स्रोत भने होइनन् । प्रोटिन २१ थरीका एमिनो एसिड मिलेर बनेको हुन्छ । यी एमिनो एसिड कतिपय शरीरले आफैँ उत्पादन गर्छ भने कति बाहिरी खानेकुराबाट पाइन्छ । यो मासुबाहेक भेजिटेबलबाट पनि पाइन्छ । प्रोटिनयुक्त भेजिटेबलहरू खायो भने शरीरलाई प्रोटिन पर्याप्त मिल्छ । मासु र अन्डा नखाए पनि फरक पर्दैन ।
जिममा डाइटले ठूलै महत्व राख्ने भएकोले निम्न आयश्रोत हुनेहरुका लागि त जिम खर्चिलो प्रणाली भएन र ?
स्वभाविकरुपमै अन्य शारीरक अभ्यास भन्दा अलि खर्चिलो हुन्छ तर मितब्ययिता अपनाउन सक्ने हो भने हामीले सोंचे जस्तो यो खर्चिलो प्रणाली चाहीं छैन । बजारमा रेडिमेड पाइने प्रोटिनहरुको खरिद मूल्यका कुरा गर्ने हो भने निम्न आयश्रोत हुनेहरुका लागि यो निश्चय नै खर्चिलो प्रणाली नै हो । तर अलिकति चाँसो र डाइट एक्सपर्टसँग सल्लाह लिने हो भने हाम्रा शरीरलाई चाहिने आवश्यकीय प्रोटिनहरु हाम्रै गाउँघरमा प्रतिफलित सागसब्जी, फलफूल र अन्नहरुबाट प्राप्त गर्न सकिन्छ ।
जिममा ध्यान दिनै पर्ने कुरा चाहीं के हो त ?
विशेष गरेर जिममा शरीरको तौल घटाउन हो वा बढाउने, सबैभन्दा पहिले आफु स्पष्ट हुन जरुरी छ । हप्तामा सात दिन नै जिम गर्नुपर्छ भन्ने छैन; हप्तामा ४ देखि ६ दिन उपयुक्त मानिन्छ । जिम गर्न शुुरु गरेपछि दिनमा ८ देखि ९ घन्टा सुत्दा राम्रो । जिममा डाइटले ठूलै महत्व राख्ने हुनाले सन्तुलित भोजन र प्रोटिनयुक्त खाने कुरामा ध्यान दिनैपर्छ । जिममा अर्काे महत्वपूर्ण कुरा के हो भने शरीरको हरेक भाग एक अर्कासित जोडिने हुँदा सम्पूर्ण भागको व्यायाम गर्न जरुरी छ । कतिपयले हात ठूलो देखाउने हिसाबमा खुट्टाको ब्यायम नगर्ने बानी हुन्छ, यसले हात ठूलो हुनु भन्दा पनि झन् कमजोर बनाउँछ । जिममा विशेष गरेर यति ध्यान दिन सके सोंचेजस्तो रिजल्ट हात पार्न सकिन्छ ।
जिम गर्ने भनेको फलाम उचाल्ने पाखुरा फुलाउने र छाती चौडा पार्ने काम मात्रै हो भन्नेहरुलाई तपाईं के भन्न चाहनुहुन्छ ?
सर्बप्रथम जिम शारीरिक सुगठनका लागि मात्र गरिँदैन भन्ने बुझ्नुपर्छ । जिम सेन्टर गएर बढीभन्दा बढी तौल उचाल्ने पाखुरा फुल्याउँने र छाति चौडा गर्नुलाई मात्र जिम भनिदैन । शरीर र मनलाई स्फूर्त राख्नका लागि पनि जिम र फिट्नेस सेन्टरमा गइन्छ । हरेक दिन शारीरिक व्यायामका लागि थोरै समय दिँदा मात्र पनि शरीर, मन र दिमागमा एउटा अद्भूत तरङ्ग उत्पन्न हुन्छ, हो त्यही तरङ्गले ब्यक्तिलाई स्वस्थ रहन मद्दत पुग्छ । स्वस्थ जीवनयापनको अचूक उपाय जिम पनि हो, पाखुरा फुल्याउँनु, छाति चौडा पार्नु र पेटमा सिक्स प्याक ल्याउँनु मात्रै हैन ।
अन्तमा जाँदा–जाँदै यो ‘हेल्लो पुनर्वास दैनिक’ मार्फत हाम्रा सम्पूर्ण पाठक बृन्दहरुलाई केहि भन्न चाहनुहुन्छ की ?
सर्बप्रथम त “स्वास्थ्य नै धन हो” भन्ने मर्मलाई सबैले बुझ्न जरुरी छ । जीवन जिउँने कला र पद्धति नजानेर यहाँ धेरै मानिसहरु अनाहकमै रोगी भएका छन्, विश्वमा देखिएका धेरै जसो रोगहरु मानिसको गलत जीवनशैली र खानपानले हुने भएकोले यस विषयमा गम्भीर र सचेत हुनसमेत अनुरोध गर्दछु । जतिसुकै ब्यस्त जीवन भएपनि नियमित एक घण्टा शारीरिक अभ्यास गरेर आफ्नो अमूल्य स्वास्थ्यलाई चुस्त, दुरुस्त र तन्दुरुस्त राख्नोस् म यही भन्न चाहन्छु ।
यस्तो अमूल्य समयको बाबजूद पनि आफ्ना विचारहरुलाई हाम्रा पाठकहरु सामू प्रस्तुत गरिदिनु भएकोमा यहाँलाई धेरै–धेरै धन्यवाद !
यहाँ र ‘हेल्लो पुनर्वास दैनिक’ पत्रिकालाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । मेरा बिचार र भावनालाई तपाईंहरुको पाठकसमक्ष पु¥याउने माध्यम बनिदिनु भएकोमा पुनः पनि यहाँलाई र यहाँको यस दैनिकका सम्पूर्ण परिवारलाई धन्यवाद दिदै बिदा हुन चाहन्छु, नमस्ते !
Comments are closed.