इन्स्पेक्टर बमको दम आखिर किन भयो कम ?

  • रञ्जित लामा
    पुनर्वास, ३० चैत्र ।
    डेढ महिनामै २७ ग्राम ब्राउनसुगर र लागू औषधसहित १४ जना पक्राउ गरी एकाएक चर्चामा चुलिएका इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कर्णबहादुर बमको पछिल्लो कदम लर्खरिदै गएको छ ।
    झण्डै १० महिना अगाडि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा प्रमुखका रुपमा आएका प्रहरी निरीक्षक बमले नेपाल–भारत सीमा नाका पुनर्वासबाट लागू औषधको ओसार–प्रसार बढेपछि नियन्त्रणमा आफ्नो दख्खल र दक्षता देखाउँदै आएका थिए । यति मात्रै हैन तस्करी नियन्त्रण र अपराधिक कृयाकलाप बिरुद्ध देखाएको सकृयताले बम पुनर्वास र अन्य क्षेत्रका लागि निक्कै चर्चित र प्रिय पात्र बने । शान्ति सुरक्षा, अमन चयन कायम गर्न कसैसँग सम्झौता नगर्ने एउटा कर्तव्यपरायण, हक्की, र निडर इन्स्पेक्टरको रुपमा चिनिएका बमको पछिल्लो कदम निक्कै हाँस्यास्पद र चिन्ताजनक बन्दै गएको छ ।
    इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले केही समय अगाडि देखाएको सकृयताले तस्करी, जुवातास र चोरीमा निक्कै कमी आएपनि अहिले पुनर्वास र आसपासका क्षेत्रमा यस्ता अपराधिक कृयाकलापहरु ह्वात्तै बढेको स्थानीयबासीहरु बताउँ छन् ।
    पछिल्लो समय पुनर्वासका विभिन्न नाकाबाट खुल्लेआम छ्याप्छ्याप्ती रुपमा भारतीय अवैध कुखुरा, चल्ला र अण्डा भित्रिने गरेको पीडित किसानहरुको गुनासो छ । यसरी अवैधरुपमा भित्रिएका भारतीय कुखुरा र चल्लामा स्थानीय प्रहरीकै संरक्षणमा भइरहेको उनीहरुको दाबी छ । पुनर्वासका कामना पोल्ट्री सप्लायर्सका संचालक राजु चौधरी भन्छन् पुनर्वासका बजारमा भारतीय अण्डाकै बिगबिगी छ । यसरी नै पुनर्वासका अर्का पीआर पोल्ट्री फार्मका संचालक प्रेम बस्नेत भन्छन् भारतीय कुखुरा तथा चल्लाको बढ्दो चोरी तस्करीका कारण नेपालको सीमावर्ती क्षेत्र पुनर्वासका कुखुरा व्यवसाय सङकटमा पर्न थालेका छन् ।
    साथै पुनर्वासमा कार्डपत्ति र म्यारिज नामको दैनिक १ लाखदेखि ५ लाखसम्मको जुवातास हुने गरेको प्रत्यक्षदर्शी बताउँछन् । दैनिकी लाखौंको जुवातास खेल्ने खेलाउनाले कयौंको घरबार बिहीन भइरहेको र समाजमा चोरी डकैती, समाजिक बिकृतिसमेत बढिरहदा पनि प्रहरीले थाहा नपाउँनु प्रहरी सुरक्षाप्रति नै यतिखेर प्रश्न चिन्ह खडा भएको भन्दै नागरिक समाजले खिन्नता प्रकट गरेका छन् ।
    जिल्लामै नाम चलेको पुनर्वास सहकारी संस्था लिमिटेडमा गत महिना अज्ञात समूहद्वारा चोरी भएपछि पुनर्वासको शान्ति सुरक्षामै स्थानीयले प्रश्न चिन्ह उठाउँदै आएको छ । चोरी भएको एक महिना बितिसक्दा पनि चोर पत्ता नलागेपछि पुनर्वास सहकारीले गत बुधबार एक विशेष साधारण सभाको आयोजना गरी शेयर सदस्य, कर्मचारी, जनप्रतिनिधि र सञ्चालक समितिले चोरीकै घटनाको विषयमा गहन छलफल समते गरे । छलफलमा प्रहरीले देखाएको उदासिनता माथि उपस्थित बक्ताहरुले खुलेरै बिरोध गरे भने चोर पत्ता नलाग्नुमा त्रिभुनवबस्ती प्रहरी कै कैफियत भएको तीन पृष्ठे प्रतिबेदन नै प्रस्तुत गरेका थिए । जुन घटनाले अहिले जनताको सेवा र सुरक्षामा अहोरात्र खटिने नेपाल प्रहरीको संगठनप्रति नै प्रश्न चिन्ह खडा गरिदिएको छ; भने इलाका प्रहरी कार्यालय त्रिभुनवबस्ती निक्कम्मा सावित भएको छ ।
    गत पौष २० गते पुनर्वास नगरपालिका–३, आई.बी.आर.डी. का ब्यापारी कृष्ण मगरको १५० सिसि को पल्सर मोटरसाइकल घरबाटै चोरी भएको थियो भने सोही ठाउँ बस्ने विशाल लामिछानेको २२० सिसि को पल्सर मोटरसाइकल हप्ता दिन अघि मात्र चोरी भएको पीडितहरुले बताएका छन् । चोरीका विषयमा इलाका प्रहरी कार्यालयमा निबेदन दिएपनि हालसम्म चोर र मोटरसाइकल पत्ता लाग्न नसकेको पीडित कृष्ण मगरले दुखेसो पोखे । ‘तीन महिना बितिसक्यो, प्रहरीले पत्ता लगाउलान् भन्ने आशा नै छैन’, उनले भने, ‘प्रहरीको काम कहिले जाला घाम ।’
    यतिखेर पुनर्वास क्षेत्रमा चोरीका घट्नाहरु दिनप्रति दिन बृद्धी भएपछि स्थानीय बासिन्दा आतंकित बन्दै गएका छन् । बिगत केही महिनामा दर्जनौ साना तिना यस्ता घट्ना हुदै आएको र घटनाको बारेमा सुरक्षा निकाय नै मौन रहेको स्थानियको आरोप छ । पुनर्वास आस पासका क्षेत्रमा यस्ता चोरीका घटना बढ्दै गएपछि स्थानियबासी थप आतंकित हुनु परेको ओम टोल सुधार समितिका संयोजक नवराज लामिछानेले बताए ।
    जिल्लाको दक्षिणी क्षेत्रका भारतीय बजारहरुबाट हुने लाखौंको अबैध सामानहरुमा मिलोमतो भएको आरोप खेप्दै आएको पुनर्वास र बेलौरीका प्रहरीलाई यी चोरीका घटनाहरुले थप बदनाम बनाउँदै गएको छ ।
    जिल्लाको दक्षिण क्षेत्र पुनर्वासका दशगजासँगै जोडिएका भारतीय बजारहरुबाट सरकारबाट प्रतिबन्धित लागूऔषधको ब्यापार वर्षौदेखि धुमधामसँग चलिरहेकै बेला डेढ महिनामै २७ ग्राम ब्राउनसुगर र लागू औषधसहित १४ जना पक्राउ गरी पुनर्वासको शान्ति सुरक्षामा इतिहास रचेका प्रहरी निरीक्षक बमलाई यतिखेर ‘नौली बुहारीको नौ पुला घाँस’ भन्ने आरोप लागेको छ । नयाँ हुँदा काम गरेको जस्तो गर्ने र पछि सेटिङमा छिर्ने प्रहरी प्रमुखहरुको चरित्रलाई यतिखेर इन्स्पेक्टर बमको चरित्रले पुनः एकपटक सत्य सावित गरिदिएको स्थानीय बुद्धिजीबिहरुको ठहर छ ।
    तस्करी, जुवातास र चोरी नियन्त्रणमा सकृयता देखाउने लागू औषध बिरुद्धको बादशाह कहलिएका त्रिभुवनबस्तीका ‘इन्स्पेक्टर कर्णबहादुर बमको दम आखिर किन भयो कम ?’ भन्ने कुरा यति खेर निक्कै चर्चामा छ ।
Facebook Comments
Down to post ads-480-38

Comments are closed.