एसईइको पहिलो दिन शिक्षा विकास इकाइ डोटीका प्रमुखलाई नेविसंघले लगायो कालोमोसो

हेल्लो समाचारदाता

डोटी, १० चैत्र – नेपाल विद्यार्थी संघ (नेविसंघ) का विद्यार्थीहरुले डोटीको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखलाई कालोमोसो दलेका छन् । आइतबार दिउँसो नेविसंघ कार्यकर्ताले प्रमुख नन्तकुमार पौड्याललाई कार्यकक्षमै कालोमोसो दलेका हुन् ।

विद्यालय शिक्षा परीक्षा (एसइई)को अनुगमनपछि दिउँसो कार्यकक्षमा आएका पौड्याललाई १०÷१२ जनाको समूहमा आएका उनीहरुले कालोमोसो दलेका हुन् ।

प्रेस विज्ञप्ति जारी गर्दै नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख पौड्यालले अनियमिता गरेको बताएका छन । नेबिसंघ पूर्वआमन्त्रित केन्द्रीय सदस्य बिजयराज ओझालगायतका कार्यकर्ताहरुद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा विद्यालयका भवन निर्माण, मर्मत र शौचालय निर्माणका योजना बाँड्दा पौड्यालले १० प्रतिशत कमिसन खाएर मात्रै बाँडने गरेको, विद्यालयको अधिकार क्षेत्र मिचेर करार शिक्षकहरु नियुक्त गर्ने गरेको, करार शिक्षक नियुक्त गर्दा कमिसन खाइ प्रश्नपत्रसमेत आउट गर्ने गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिदाको दिनमा सरकारी गाडीको दुरुपयोग गर्ने गरेको र शिक्षा क्षेत्रमा समस्याको समाधान भन्दा पनि राजनीतिक पूर्वाग्रही भएर काम गर्ने गरेको बिज्ञप्तीमार्फत आरोप लगाईएको छ । कार्यालयमा भईरहेको अनियमितता छानविन गरी दोषीमाथी कारवाही गर्न दवाव दिन बिज्ञप्ती मार्फत सञ्चार जगत र सचेत नागरिकलाई आग्रह गरिएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.