वडा कार्यालय निर्माणका लागि जग्गादान

भिम चौधरी

कैलाली । बर्दगोरिया गाउँपालिका–३, को वडा कार्यालय निर्माणका लागि सोही वडाका सहोदर दाजुभाइले ५ कट्ठा जग्गा दान गरेका छन् । एक कार्यक्रमकाबीच सहोदर दाजुभाइ मनऋषि र रत्नऋषि आचार्यले करिब २० लाख मूल्य बराबरको जग्गा दान गरेका हुन् ।

वडा कार्यालय निर्माणका लागि भाइ मनऋषिले ३ कट्ठा १० धुर र दाइ रत्नऋषि आचार्यले १ कट्ठा १० धुर जग्गा दान गरेको वडा नम्बर ३ का वडा सदस्य टंक ओलीले जानकारी दिनुभयो । रत्नऋषिले वडा कार्यालयको भवन निर्मनणका लागि नम्बरी जग्गाको आवश्यकता पर्ने र आफूहरुको जग्गा वडा नम्बर ३ को मध्येमा पर्ने भएकाले जग्गा दान गरेको रत्नऋषि आचार्यले बताउँनुभयो ।

वडा नम्बर ३ को मध्य भागमा रहेको सो जग्गा सम्म पुग्न मनऋषि आचार्यको जग्गा पर्ने भएकाले बाटोका लागि समेत १८ फुटे जग्गा दान गर्ने आचार्यले बताउनुभयो । जग्गा प्राप्तसंगै सो जग्गामा वडाले छिट्टै आफ्नो भवन निर्माण गर्ने वडा नम्बर ३ का अध्यक्ष करन सुनारले बताउँनुभयो ।

बर्दगोरिया गाउँपालिकाका ६ वटा वडामध्ये २ वटा वडाहरुको मात्रै आफ्नै भवनमा वडा कार्यालय सञ्चालनमा रहेको छ । वडा नम्बर १ र ६ सँग मात्रै आफ्नै भवन रहेको छ भने अन्य वडा र गाउँपालिकाले पनि भाडाको घर लिएर गाउँपालिकाबाट सेवा प्रदान गर्दै आएको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलराम डगौरा थारुले बताउनुभयो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.