विश्व रामसारमा सुचिकृत घोडाघोडी तालमा पर्यटकको संख्यामा कमि

पर्यटन प्रवर्द्धनका लागि गुरु योजना निर्माणको तयारी !

विशाल पाण्डेय /
घोडाघोडी, ३० फागुन । 
कैलालीको घोडाघोडी ताल क्षेत्रमा पर्यटकको संख्यामा कमि आएको छ । 
करिब १३८ हेक्टर क्षेत्रफलमा रहेको घोडाघोडी ताल क्षेत्रको सरसफाइ तथा भौतिक संरचनाको उचित ब्यवस्थापन नहुदा पर्यटकहरुको संख्यामा कमि आएको हो । गत वर्ष २०७४ सालमा माघ मसान्तसम्म करिब ८१ हजार पर्यटक घोडाघोडी ताल क्षेत्रमा आएपनि अहिले २०७५ माघ मसान्तसम्म भने घटेर ७२ हजार ७ सय पुगेको छ । यसरी हेर्दा माघ महिना सम्म ८ हजार ३ सयको संख्यामा पर्यटकहरुको कमि भएको हो ।
नेपालको प्रमुख गन्तव्यको रुपमा घोडाघोडी ताल रहेपनि उचित ब्यवस्थापन हुन नसक्दा पर्यटकीय क्षेत्रमा पछि पर्दै गइरहेको लम्कीचुहा नगरपालिका -४ कौवापुरका कमल ढकालले बताए । तालमा जमेका लेउ र फोहोरहरुको सरसफाइ नहुदा ताल नै दुर्घन्धित भएको ढकालले  बताए ।

 त्यस्तै कंचनपुरबाट घोडाघोडी ताल अवलोकन गर्न पुगेका सन्तोष घिमिरेले पनि घोडाघोडी तालमा खासै परिवर्तन नभएको गुनासो गरे । उनले भने , ‘ हामी स्कुल पढ्दा  घोडाघोडी ताल घुम्न आउँदा पनि यस्तै लेउ र सुकेको कमलको फुलले ढाकेको थियो र अहिले पनि यस्तै फोहोर नै छ ।, उनले थपे परिवर्तन भनेको यहीँ एउटा जाली लगाइएको रहेछ ।’

यस्तै पोखराबाट भ्रमणका क्रममा घोडाघोडी तालको  अवलोकन गर्न आएका ध्रुव पौडेलले पनि पर्यटकलाई लोभ्याउने कुनै नयाँ कुराहरू नरहेको बताए । पौडेलले गोहि तथा यहाँ रहेका अन्य बनस्पतिहरुलाई असर नपर्ने गरि सरसफाइ गरि आएका पर्यटकलाई भुल्ने बाताबरण मिलाउन पर्ने बताए । कुनै समिति बनाएर तालमा भएका झाडी तथा लेउहरुलाई हटाइ सरसफाइ गर्न पौडेलले सुझाव समेत दिए ।
यता घोडाघोडी ताल संरक्षक दिपक शाहले ताल क्षेत्रमा आएर धेरै समयसम्म अवलोकन गर्नको लागि खासै केही नभएको कारणले पर्यटकहरु कम आउने गरेको बताए । लेउ र झाउका कारण ताल फोहोर देखिने हुँदा यसको सरसफाइ गरि ताल क्षेत्रलाई ब्यवस्थित गर्न सके मात्र पर्यटन भित्र्याउन सकिन उनले बताए । शाहले घोडाघोडी ताल क्षेत्रमा अवलोकन गर्न आउने पर्यटकहरुको सवारीसाधनका लागि राम्रोसँग पार्किङको समेत ब्यवस्था नहुदा पर्यटकहरु साधन नरोकी सिधै आवातजावत गर्ने बताए । साथै संरक्षण शाहले तालमा लेउ र झाउ कुहिएर घोडाघोडी ताल नै पुरिने सम्भावना रहेको बताए । उनले भने, ‘बर्सौसम्म ताल सरसफाइ नगर्दा लेउ र झ्याउका कारणले बिश्व रामसार क्षेत्रमा रहेको घोडाघोडि ताल पुरिन सक्ने खतरा छ ।’
घोडाघोडी ताल क्षेत्रको संरक्षणका नाममा विभिन्न संघ संस्थाहरुले बर्सेनि लाखौं रकम छुट्याए पनि रकमको सहि सदुपयोग हुन नसक्दा बालुवामा पानी हाले जस्तो भएको स्थानीयहरुले बताएका छन् ।
आन्तरिक पर्यटक घटे, बाह्य पर्यटक बढे 
घोडाघोडी ताल तथा आसपासका क्षेत्रमा अवलोकन गर्ने आन्तरिक पर्यटकको संख्या घटेपनी बाह्य पर्यटकहरुको संख्यामा भने वृद्धि भएको पाइएको छ ।
२०७४ सालको माघ मसान्तमा र अहिलेको सालको माघ मसान्तसम्मको तथ्यांक हेर्ने हो भने अहिलेको बर्ष ८ हजार ३ सय जना आन्तरिक पर्यटकको संख्यामा कमि आएतापनि बाह्य पर्यटकको संख्या भने अघिल्लो बर्ष भन्दा बढेको देखिएको छ । २०७४ सालको १ बर्षमा २३० जना बाह्य पर्यटकहरुले घोडाघोडी ताल क्षेत्र अवलोकन गरेका थिए भने २०७५ को माघ मसान्तसम्म ३५१ जना पर्यटकले अवलोकन गरेका छन् ।
भारत , लण्डन ,अमेरिका ,चीन लगायतका देशहरुबाट पर्यटकहरु घोडाघोडी तालक्षेत्रको अवलोकन गर्न आएपनी सबैभन्दा बढी भारतीय पर्यटक रहेको ताल संरक्षण दिपक शाहले बताएका छन्  ।
लोपोन्मुख चराचुरुङ्गी र बन्यजन्तुको वासस्थान 
सन् २००३ मा विश्व रामसार सूचीमा समेत सुचिकृत रहेको घोडाघोडी ताल क्षेत्रमा विश्व जलचर इतिहासमा सङ्कटपूर्ण अवस्थामा पुगेका दर्जनौं जातका रैथाने माछाका प्रजाति, पुतली ,दुर्लभ मानिने चराचुरुङ्गीको तथा अन्य बन्यजन्तुहरुको उचित वासस्थानका रुपमा लिइने गरिन्छ ।
घोडाघोडी ताल क्षेत्रमा २ सय ९९ प्रजातिका चरा रहेकोमा विश्वमा दुर्लभ मानिएका १४ प्रजातिका चरा भेटिएको बिसिएनका प्रदेश फिल्ड संयोजक तथा संरक्षणकर्मी हिरुलाल डगौराले बताए ।
डगौराका अनुसार , विश्वमै दुर्लभ मानिएको सुनोलो टोप चरा, घेघरी घाँसे फिस्टु, कैले टाउको हाँस, लघु महाचील, डंगर गीद्ध, सानो खैरो गीद्ध, गोब्रे गीद्ध , राजलाचे लगायतका दुर्लभ चराहरु घोडाघोडी ताल क्षेत्रमा भेटिएका छन् ।
हालसम्मको अध्ययन अनुसार घोडाघोडी ताल क्षेत्रमा  ४५० प्रजातिका वनस्पति, सालका प्रजातिमा निकै बहुमूल्य मानिने औषधिका रुपमा पनि प्रयोगमा आउने सतिसाल, साज, खयरको घना जङ्गल रहेका छन् ।
पर्यटन प्रवर्द्धनको लागि गुरुयोजना निर्माणको तयारी : नगर प्रमुख चौधरी 
पूर्व–पश्चिम राजमार्गको छेउ मै रहेको पर्यटकीय तथा पौराणिक दृष्टीकोणबाट नेपालको एक प्रसिद्ध स्थलको रूपमा लिइने घोडाघोडी ताल क्षेत्रको विकासको लागि वृहत् गुरुयोजना निर्माणको तयारी थालिएको घोडाघोडी नगरपालिकाले जनाइएको छ ।
हिमाल पोस्टसंग कुराकानी गर्दै घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले ताल क्षेत्रको पर्यटक प्रवर्द्धनको लागी गुरु योजना निर्माण भइरहेको बताएका छन् ।
प्राकृतिक सम्पदाले धनी घोडाघोडी नगर क्षेत्रमा पर्यटकिय सम्भावना ठुलो रहेकोले यहाँका सम्भावनाहरुको पहिचान गरि पर्यटन प्रवर्द्धनको लागी सबै सँग हातेमाले गर्दै गुरुयोजना निर्माणमा जुटेको नगर प्रमुख चौधरीले बताए ।
पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्‍याउने उद्देश्यका साथ सिमसार क्षेत्रको ओजहुवा तालमा डुंगा सञ्चालनको तयारी थालिएको र जसको तयारी करीब ८० प्रतिशत पूरा भएको नगर प्रमुख चौधरीले बताए ।
मन्दिर क्षेत्रको व्यवस्थापन, पिकनिक स्पोट, पार्क, सूचना घरको व्यवस्थापनको लागिरहेको बताउदै चौधरीले ट्रेकिङ, क्याम्पिङ्गको समेत अध्ययन गर्ने बताए । उनले भने , सबैभन्दा ठुलो चुरे क्षेत्र कैलालीमा छ ,घोडाघोडी मन्दिरको पश्चिम पट्टीको साइडबाट चुरे गाउँपालिकासङ्ग समन्वय गरी चुरे क्षेत्र सम्म ट्रेकिङ, क्याम्पिङ्ग, र सम्भव भए प्याराग्लाडिङ्ग्को समेत अध्ययन गर्नेछौ ।’
पर्यटन प्रवर्द्धनको लागि एकद्धार प्रणालीको आवश्यकता रहेको बताउदै नगर प्रमुख चौधरीले गुरुयोजना निर्माण सँगै एकद्धारा प्रणाली लागु गर्ने समेत जनाएका छन् ।
घोडाघोडी ताल क्षेत्र सहित अन्य तालमा लोपोन्मुख राजलाचे चरा, हरिहाँस, धनेष, बन धान, सालक, अजिङ्गर तथा १६४ को सङ्ख्यामा गोही लगायतका अन्य जीवजन्तु तथा नगरपालिकामा भएका मठ मन्दिरहरूको संरक्षण गरी नगरपालिकाको आयस्रोत र पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने समेत चौधरीले बताए ।
जैविक महत्त्व बोकेको सिमसार क्षेत्रमा सुचिकृत घोडाघोडी तालको संरक्षण ,पर्यटन र तालको विकास गर्ने उद्देश्यले नगर प्रमुखको अध्यक्षतामा घोडाघोडी पर्यटन बोर्डको समेत गठन गरिएको थियो । घोडाघोडी नगर क्षेत्रमा भएका विभिन्न पर्यटकिय क्षेत्र तथा घोडाघोडी ताल क्षेत्रमा पर्यटन विकास र संरक्षणका लागि घोडाघोडी पर्यटन बोर्डले  आर्थिक बर्ष २०७६/०७६ मा १ करोड ४ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
Facebook Comments
Down to post ads-480-38

Comments are closed.