पर्यटन पत्रकार कैलालीको बैठक बेलौरीको बन्धातालमा सम्पन्न, आगामी बैठक कैलालीको घोडाघोडीमा हुने

सीता पौडेल
बेलौरी, २७ फागुन ।
नेपाल पर्यटन पत्रकार महासंघ कैलालीको बैठक कञ्चनपुरको बेलौरीको बन्धातालमा आइतबार सम्पन्न भएको छ । आगामी बैठक सिमसारक्षेत्र कैलालीको घोडाघोडीमा गरिने महासंघले निर्णय गरेको छ ।
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) सुदूरपश्चिमको सहकार्यमा सम्पन्न भएको सो बैठकमा आन्तरिक पर्यटन प्रबद्र्धनका विषयमा अन्तकृयासमेत गरिएको थियो ।
नेपाल पर्यटन पत्रकार महासंघ कैलालीका अध्यक्ष भीम चौधरीको अध्यक्षता एबं नाटा सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टको प्रमुख आतिथ्य रहेको सो समारोहमा नाटाका अध्यक्ष भट्टले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. १, २ र ३ स्थित लगभग एक सय बिगाहा क्षेत्रफलमा रहेको बन्धाताल कोटिहोमलाई नेपाल सरकारको एकसय नयाँ पर्यटकीय गन्तव्य अन्तर्गत पर्नु निक्कै खुशीको कुरा भएको बताए । ‘सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तब्यलाई अब विशेष रुपमा प्रचारप्रसार, संरक्षण र विकास गरिनुपर्छ ।’ उनले भने– ‘नेपाल सरकारले राखेको अवधारणा ‘नेपाल भ्रमण वर्ष’ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई पूरा गर्नु अब हामी सबैको दायित्व हो । ’
कार्यक्रमका सभाध्यक्ष गरिरहेका नेपाल पर्यटन पत्रकार महासंघ कैलालीका अध्यक्ष भीम चौधरीले बन्धाताललाई पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्न सम्पूर्ण सरोकारवालाहरुको अहम भूमिका रहने बताए । आसपासमा रहेको केही जमिन अधिग्रहण गरी पर्यटकीय स्थलका रुपमा बिस्तार गर्ने योजना अनुरुप बेलौरी नगरपालिकाले डिपिआर समेतको तयार गरिरहेको पहल कदमीले यस क्षेत्रको पर्यटन सम्बद्र्धन र प्रबद्र्धनमा उल्लेख्य टेवा पुग्ने बताए । ‘नाटा सुदूरसपश्चिमसँग सहकार्य गरेर अगाडि बढ्न पाउँदा म निक्कै खुशी छु र नाटा सुदुरपश्चिमलाई धन्यवादसमेत दिन चाहन्छु ।’ अध्यक्ष चौधरीले भने ‘पर्यटनको विकासका लागि नेपाल पर्यटन पत्रकार महासंघको कलम सदैब चल्नेछ ।’
नाटा सुदूरपश्चिमका सदस्य पुष्करराज भट्टले कैलालीको धनगढीबाट १५ किलोमिटरकै दूरीमा बन्धाताल पर्ने भएपनि तालसम्म पुग्न कच्ची र धुलाम्मे सडक प्रयोग गर्नुपर्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटकले सास्ती खेप्नु परेको बताए । यहाँसम्म आइपुग्ने पूर्बधारको प्रबन्ध गर्न सके तालको मनोरम दृश्य नियाल्न, विभिन्न प्रजातिका माछा र जलपक्षीको क्रीडा हेर्न आन्तरिक पर्यटकको यहाँ घुइँचो लाग्ने बताए ।


बन्धाताल प्रकृतिको दृष्टिले निकै सुन्दर रहेको प्रशंसा गर्दै यस क्षेत्रमासम्म आउपुग्ने सडक पूर्वाधारको कमी, गन्तब्य प्रबद्र्धनका लागि आवश्यकीय प्रचार–प्रसारको कमी र सरोकारवालाहरुको चाँसो र चिन्ताको टिप्पणी कार्यक्रममा सहभागी अधिकांश बक्ताहरुले गरेका थिए ।
कार्यक्रममा नेपाल पर्यटन पत्रकार महासंघ कैलालीका सचिव शेरबहादुर ऐर, कोषाध्यक्ष सविता बूढा, सहसचिव विवेक नागरी लगायत सदस्यहरुको उपस्थिति रहेको थियो भने कञ्चनपुरका सहायक बन अधिकृत दिनेश यादब, नेपाल पत्रकार महासंघ कैलालीका उपसचिब श्रवण देउवासमेतको उपस्थिति रहेको थियो ।
नेपाल पर्यटन पत्रकार महासंघ कैलालीका महिला उपाध्यक्ष इन्दू के.सी.को स्वागत मन्तब्यबाट प्रारम्भ भएको कार्यक्रमको सञ्चालन बरिष्ठ उपाध्यक्ष रञ्जित लामाले गरेका थिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.