कञ्चनपुरको पुनर्वास सहकारीमा अज्ञात समूहद्वारा चोरी

धनबहादुर बिक
पुनर्वास, २७ फागुन । 
जिल्लामै पुरानो सहकारी कञ्चनपुरको पुनर्वास सहकारी संस्था लिमिटेडमा गएराती अज्ञात समूहद्वारा रहस्यमय ढङ्गबाट चालीस हजार नगदसहित कागजातहरू चोरी भएको छ ।
पुनर्वास नगरपालिका वडा नम्बर–६ प्रतिभानगर टाउन बजारको मध्येभागमा रहेको पुनर्वास सहकारी संस्थाको दोस्रो तलामा रहेको कार्यालयको ढोकाको ताल्चा तोडी संस्थाको एक थान दराज लिएर गएको संस्थाका प्रबन्धक एककुमार श्रेष्ठले बताए । श्रेष्ठले दिएको जानकारी अनुसार उक्त चोरी भएको दराज भित्र चालीस हजार नगद सहित एक थान ल्यापटप, केही चेकबुक, शेयर धनिका जग्गाधनी प्रमाणपत्र र समितिको निर्णय पुस्तिका (रजिष्टर ) रहेका थिए ।
घटनाबारे आजै प्रहरीलाई लिखित जानकारी गराई सकिएको संस्थाका अध्यक्ष पर्शुराम बिश्वकर्माले बताए । सहकारीले दुग्ध डेरी पनि सञ्चालन गर्दै आईरहेको छ भने सोमबार बिहान ८ः१९ बजे डेरीका कर्मचारी प्रताप बोहराले घटनाबारे फोनमार्फत जानकारी गराएपछि आफुलाई थाह हुनगएको संस्थाका अध्यक्ष पर्शुराम बिश्वकर्माले बताए ।


अज्ञात समूहले चोरी भएको दराज बाहेक कार्यालयमा रहेका दुई थान कम्प्युटर तथा अन्य कुनैपनि मालसामान छेंडाखानी नगरी यथावत रहनु र कुनैपनि सामान अस्तव्यस्त नहुनुले अंझ थप रहस्यमय बनेको संस्थाका उपाध्यक्ष बिष्णु अर्यालले बताए । अज्ञात समूहले हेक्सब्लेडले ताल्चा काटि कार्यालयमा प्रवेश गरेको पाईएको छ भने चोरी गर्न आउँदा प्रयोग गरिएको ३ थान साईकल समेत प्रहरीले फेला पारेको छ । चोरी भएको घटना लगत्तै संस्थाका पदाधिकारी, कर्मचारी तथा प्रहरीले संयुक्तरूपमा खोजतलासमा जुटेका थिए भने सोमबार साँझसम्म पनि कुनै उपलब्धी हुन नसकेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।
चोरीको घटनामा संलग्न चोरहरूको खोजीकार्य भैरहेको र छिट्टै पत्ता लगाई छाड्ने ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कर्णबहादुर बमले बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.