अन्तर्राष्ट्रिय नारी दिवस

स्वतन्त्रता भनेको अधिकार र कर्तब्यको सुन्दर संयोजन हो ।

मनुष्य स्वतन्त्र प्राणी हो भन्नेमा सन्देह छैन । मान्छेले आफुले चाहेको किल्लामा निर्बाधरुपमा आफुलाई उभ्याउन चाहन्छ वा आफ्नो जीवनलाई स्वतन्त्र रुपमा भोगचलन गर्न चाहन्छ । ऊ आफ्नो जीवनको मालिक पनि ऊ स्वयं हुन चाहन्छ । आफ्नो क्षमता र बर्कतले भ्याएसम्म ऊ कसैको किल्लामा बाँधिने वा नियममा अनुबन्धित हुने कुरा उसलाई पटक्कै स्वीकार्य हुन सक्तैन । मानिस स्वभावैले स्वतन्त्र हुने प्राणी भएकोले उसलाई स्वतन्त्रता हरहालतमा प्रीतिकर लाग्नु स्वभाविक नै हो । त्यसैले होला स्वतन्त्रताको नाम कयौं महासंग्रामका आर्तनादहरु हामीले सुन्दै र भोग्दै आएका छौं । यो प्रिय र आवश्यकीय स्वतन्त्रता र समानतामा पनि नश्लवाद हाबी छ । नर र नारी यी दुबै जातले पाउँने स्वतन्त्रता र समानतामा पनि जमिन र आकाशको फरक छ । त्यसैले नरबाटै नारी कुनै न कुनै कित्ताबाट प्रताडित र बन्दी भएका प्रसंगहरुका कारण सर्बप्रथम सन् १९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो शहरमा महिलाहरूले समान अधिकारको माग लिएर महिलाहरूले हड्ताल र विशाल जुलुश प्रदर्शन गरेकै दिनलाई स्मरण गर्दै ८ मार्च अर्थात आजकै दिनलाई नेपाललगायत विश्वभर महत्वपूर्ण दिनका रुपमा मनाउँने प्रचलन रह्यो ।

रञ्जित लामा
धनगढी, कैलाली

मुलुकले वर्षाैंदेखि महिलाको समानताका लागि आफ्नो अभियान जारी राख्दै आएको छ । हजारौं सङ्घ संस्थाहरु महिलाको हकहीतका लागि जुर्मुराउँदै छन् । अहिले पनि देशका विभिन्न कुना कन्दरामा महिलामाथि भएका विभिन्नखाले घटनाहरुले सुन्दर नेपालको कुरूपतालाई झल्काउँने गर्दछ । विश्वको आधाभन्दा बढी जनसंख्या ओगट्ने नारीको समान सहभागिताले मात्र सर्वाङ्गिण विकास हुने तथ्यलाई अब हर पुरुषले स्वीकार्नै पर्छ । वर्षेनी मनाउँदै आएको यो नारी दिवसले नारीको स्वतन्त्रता र हकहीतको औचित्य मात्रै प्रष्ट्याउँदैन कि नारीको महिमा र अपरिहार्यतालाई पनि यसले सङ्केत गरेको छ । नारी बिनाको यो संसार हामी कल्पना समेत गर्न सक्तैनौं । नारीको अनुपस्थितिमा के यो श्रृष्टी चल्न सम्भव छ ? तथापि समाजमा नारीको ईज्जत पुरुष समान हुदैन किन ?
नारीहरुको सामाजिक, राजनैतिक, शैक्षिक विकासमा अझसम्म समान पहुँच पुग्न सकेको छैन । सम्पत्ति, राजनीति, शिक्षालगायत स्वतन्त्र भएर बाँच्न पाउने हकमा पनि नारी अझै बञ्चित नै हुनु परेको छ । अन्याय, अत्याचार, शोषण, दमन बिभिन्न रूपहरु यत्रतत्र कायमै छ । संविधानमा लैंगिक समानताका कुराहरु जति नै भए पनि जीवन–व्यवहारमा डरलाग्दा असमानताहरू अझै पनि कायमै छन् । वर्षाैंदेखि पितृसत्तात्मक परिपाटीबाट ग्रसित सामाजले यी कुराहरुमा प्रत्यक्ष प्रभाव पारेकै छ । अर्काे कुरा नारीले आफूलाई नारीकै अस्तित्वमा राख्न नसक्नु पनि नारी सम्मानको अबहेलना हो । नारीले आफ्नो अस्तित्वमा गौरब गर्न सक्नुपर्छ । नारी पुरुष जस्तो हैन, नारी ‘नारी’ नै भएर आफ्नो अस्तित्वलाई समाज र राष्ट्रमै आवश्यकीय र अपरिहार्य बनाउँन सक्नुपर्छ । कतिपय अवस्थामा नारी स्वतन्त्रताको अर्थ छाडापनमा गएर समाहित भएका थुप्रै घटनाहरु हामी माझ घाम झैं छर्लङ्ग छ । स्वतन्त्रता भनेको अधिकार र कर्तब्यको सुन्दर संयोजन हो भन्ने कुरा कसैले पनि भुल्नु हुँदैन ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.